६ पुष २०८१, शनिबार

कछुवा गतिमा महाकाली करिडोर



दार्चुला । नेपाल, भारत र चीन गरेर त्रिदेशीय महत्वको २९१ किलोमिटर लामो महाकाली करिडोर निर्माणमा ढिलाइ भएको गुनासो वढ्न थालेको छ । सो सडक खण्ड अन्र्तगत पर्ने कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मका विभिन्न स्थानमा निर्माण कार्य सुस्त रहेको छ ।


महाकली कोरीडोर अन्र्तगत दार्चुला, बैतडी र डडेल्धुराका विभिन्न स्थानहरु पर्छन । समयमै वातावरणिय प्रभाव मूल्याङकन (ईआइए) सम्पन्न नहुदा पनि निर्माण ढिला भएको बताइन्छ । तर वनक्षेत्र नपरेको स्थानमा ठेक्का लगाएर करिडोरको काम चलेपनि निक्कै सुस्त गतिका कारण उल्लेख्य प्रगति हुन सकेको छैन् ।
महाकाली करिडोरको अलग्गै कार्यालय नभएकाले दार्चुला तिंकर सडक योजनाले करिडोरको समेत काम हेर्दै आएको छ । तिकंर सडक योजनाका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार करिडोरअन्तर्गत दार्चुलाको मालिकार्जुन गाउँपालिकाको जौलजिवी, लेकम गाउँपालिकाको सर्मोली सल्सेना, बैतडीको सिल्लेक, गाजरी, बठ्ठा र डडेलधुराको जोगबुढा क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ ।
महाकाली नगरपालिका वडा नम्वर ७ जौलजिवीका स्थानीय बहादुर चन्दले भन्नुभयो, निर्माणाधीन करिडोरका कारण बस्ती जोखिममा परेका छन् । सडक खनेर तल फालेको माटोका कारण बाढीको जोखिम बढाएको छ, उहाँले भन्नुभयो, यसअघि पनि भर्तोला–जौलजिवी सडकले जोखिममा रहेको जौलजिवी बस्ती करिडोरअन्तर्गतको सडकलाई चौडा बनाउँदा सडकको माटो तल फालेको छ । भारी वर्षाका बेला ती ढुंगामाटो बस्तीका घरहरूमा पुगेर बगाउने जोखिम छ ।
सर्मोली–सल्सेना खण्डमा सडक निर्माणपछि पहिरोको जोखिम बढेको छ, स्थानीय लोकेन्द्र कार्कीले भन्नुभयो, करिडोरजस्तो बृहत् योजनामा पनि वातावरणीय प्रभाव मूल्यांकनलाई ध्यान नदिएर बस्ती र खेतहरुमा काम गर्दा विपद निम्तिन सक्ने सम्भावना रहेको छ ।
तिकंर सडक योजनाका सूचना अधिकारी रैखोलाले भन्नुभयो, वातावरणिय प्रभाव मूल्याङकनको काममा ढिलाइ भएकै कारण वनक्षेत्र र विवाद भएको क्षेत्रमा तत्काल काम गरेका छैनौँ । गत वैशाख जेठ महिनासम्म फिल्डमा खटिएर सडक विभागले ईआईए गरेको छ । इन्जिनियर रैखोलाका अनुसार महाकाली करिडोरको वातावरणीय प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन वातावरण मन्त्रालय पुगेको छ । अबको केही महिनामा प्रतिवेदन तयार हुदैछ । ईआइएको काम सकिएपछि सडक निर्माणले गति लिने सो कार्यालयले जनाएको छ।
कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भने सडक निर्माणको ठेक्का नै हुन सकेको छैन । ठेक्का भएर काम सुरु गरिएको डडेलधुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगल परेपछि यसअघि सडक निर्माण कार्य रोकिएको थियो । करिडोरअन्तर्गत दार्चुला–तिंकर सडकखण्ड एक दशकदेखि निर्माणाधीन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार