५ कार्तिक २०८१, सोमबार

अन्नपूर्ण पोष्ट ब्याटमिन्टन : राजेन्द्र र प्रकाशको जोडी क्षेत्रीय च्याम्पियन



धनगढी । धनगढीमा जारी अन्नपूर्ण पोष्ट ब्याटमिन्टन प्रतियोगितामा पुरुष डबल्सको उपाधी कैलालीका राजेन्द्र बम र प्रकाश चन्दको जोडीले जितेको छ ।
सोमबार धनगढी क्षेत्रीय रंगशालामा भएको फाइनल खेलमा राजेन्द्र र चन्दको जोडीले कैलालीकै सुनील श्रेष्ठ र दिलिप देउवाको जोडीलाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गर्दै क्षेत्रीय च्याम्पीयन बने ।
त्यस्तै, पुरुष एकलतर्फ कैलालीका देवराज राना विजयी भए । उनले कञ्चनपुरका गोकुल जोरालाई पराजित गरे ।
महिला एकलमा कैलालीका प्रार्थना देउवाले कैलालीकै अम्बिका मल्ललाई २२–१९, १९–२१ र २२–२० ले हराएर क्षेत्रीय च्याम्पियन बनिन् ।
प्रतियोगिताका विजेता र उपविजेताले आगामी असारमा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर पाउने आयोजकले जनाएको छ । सो प्रतियोगितामा १४ देशका खेलाडी सहभागी हुने जनाइएको छ ।
प्रतियोगिता समापनमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह, ब्याटमिन्टन संघका केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठ, कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरी, सशस्त्र प्रहरी सीमा सुरक्षा बलका एसपी गणेश संग्रौला, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्ल लगायतले विजेता खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा अन्नपूर्ण नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । समापन कार्यक्रममा अन्नपूर्ण संवाददाता शिवराज भट्टको अध्यक्षतामा भएको थियो ।
प्रतियोगितामा सुदूरपश्चिमभरीका ६८ जना खेलाडीहरूले सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार