प्रदेश सातमा जघन्य अपराधका घटनामा बृद्धि : तीनको बलात्कारपछि हत्या, दैविप्रकोपमा १८ को मृत्यु
धनगढी । प्रदेश नम्बर ७ मा पछिल्ला चार महिनामा जघन्य अपराधका घटनामा बृद्धि भएको छ । यो अवधिमा बलात्कारपछिको हत्या सहित सात वटा जघन्य अपराधका घटना भएका छन् ।
प्रदेशमा पछिल्लो चार महिनाको अवधिमा दैविप्रकोपका घटनामा १८ जनाले ज्यान गुमाएका छन् ।
सात नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार बैशाखदेखि हालसम्म सात जनाको जघन्य हत्या भएको छ । मन्त्रालयका अनुसार यो अवधिमा कैलालीमा तीन र कञ्चनपुरमा चार जनाको हत्या भएको छ । यसमध्ये कैलालीमा एक र कञ्चनपुरमा दुई युवति तथा बालिकाको बलात्कार पछि हत्या भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको तथ्यांकअनुसार पछिल्लो चार महिनाको अवधिमा प्रदेशमा बाढी तथा पहिरोका कारण कैलाली, कञ्चनपुर, बझाङ, डोटी र दार्चुलामा गरी १८ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोका घटनामा दुई जनाको अवस्था अझैं अज्ञात रहेको छ ।
आन्तरिक मामिला मन्त्रालयका अनुसार दैविप्रकोपबाट बझाङमा सबैभन्दा बढि १३ जनाको मृत्यु भएको छ । बझाङमा पहिरोमा सात र बाढीबाट छ जनाको मृत्यु भएको छ । बझाङमा नदीमा बगेका दुई जनाको अवस्था अझै अज्ञात छ ।
त्यस्तै, कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । भने कञ्चनपुरमा बाढीबाट एक जना, दार्चुलामा चट्याङ लागेर एक जना र ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको हो ।
प्रदेश सातमा पछिल्ला वर्षहरूमा कर्तव्य ज्यान, बलात्कार तथा जबरजस्ती करणी उद्योगका घटनामा निकै बृद्धि भएको देखिएको छ ।
संघीय प्रहरी कार्यालय प्रदेश ७ ले दिएको जानकारी अनुसार प्रदेशमा आर्थिक वर्ष २०७४/७५ को अवधिमा कर्तव्य ज्यानका ४९ वटा मुद्दा दायर भएका छन् । त्यस्तै, जवरजस्ती करणीका ९८ र जवरजस्ती करणी उद्योगका ५५ वटा मुद्दा दर्ता भएको संघीय प्रहरी कार्यालयलेजनाएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न प्रकृतिका नौ सय ७५ मुद्दा दर्ता भएको थिए ।
तीमध्ये बलात्कार तथा जवरजस्ती करणी उद्योगका ६५ वटा मुद्दा दायर भएका थिए । त्यस्तै, कर्तव्य ज्यानका १२ र ज्यान मार्ने उद्योगका ११ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा २० जनाको हत्या भएको थियो । कञ्चनपुरमा अघिल्ला दुई वर्षमा हत्याका १७/१७ वटा घटना भएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा कञ्चनपुरमा बलात्कारका १७ वटा घटना दर्ता भएका थिए । भने जवर्जस्ती करणी उद्योगका १५ घटना दायर भएका थिए । कञ्चनपुरमा अघिल्ला दुई वर्ष बलात्कारका क्रमश: १७ र २१ घटना प्रहरीमा दर्ता भएका थिए ।
गत आर्थिक वर्षमा भएका बलात्कारका अधिकांस घटनामा १५ वर्ष मुनिका बालिका पीडित भएको देखिएको छ । तीमध्ये केही बालिका आफन्तबाटै बलात्कृत भएको पाइएको छ ।
गत आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढि गत फागुनदेखि हालसम्म अपराधिक घटनामा बृद्धि भएको तथ्यांकले देखाएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार गत वर्षको फागुनदेखि गत असार महिनासम्ममा पाँच सय १० मुद्दा दर्ता भएका छन् । तीमध्ये बलात्कारका २७ वटा घटना रहेका छन् भने जवरजस्ती करणी उद्योगका २० वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा कर्तव्य ज्यानका नौ र ज्यान मार्ने उद्योगका आठ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।
दुई/तीन वर्षयता कर्तव्य ज्यान र जवर्जस्ती करणीका मुद्दा बढेका छन्, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले पछिल्ला वर्षहरूमा प्रविधिको प्रयोगबाट समेत अपराधिक गतिविधिमा बृद्धि आएको बताए ।
प्रहरीले समाजमा अपराधिक, अवांछित तथा उच्छृंखल गतिविधि नियन्त्रण गर्न विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आए पनि खासै उपलब्धिमूलक हुन सकेको देखिँदैन । प्रहरीले बस्ती भेटघाट, प्रहरी मेरो साथी लगायतका कार्यक्रम सुरु गर्दा निकै चर्चा पाए पनि पछि गएर सेलाउने गरेको छ । अहिले प्रहरीले घरदैलो अभियानम अघि बढाएको छ ।
अधिकारकर्मीहरू प्रदेशका विभिन्न स्थानमा अपराधिक घटनामा बृद्धि आउनु निकै चिन्ताजनक भएको बताउँछन् । अधिकारकर्मी सावित्रा घिमिरे भन्छिन्, दिनप्रतिदिन बढ्दै गएको आपराधिक क्रियाकलापले हामी सबैलाई झस्काएको छ । उनी अपराधिक घटनाको बृद्धिले पीडितलाई मात्रै नभएर सिंगो समाजमा त्रास फैलाईरहेको बताउँछिन् ।
अधिकारकर्मी घिमिरेले प्रदेश सरकार गठन भएयता आम नागरिकले सुरक्षा भएको अनुभूति गर्नुपर्नेमा उल्टै असुरक्षा बढेको महसुस गर्नु दु:खद् भएको बताइन् ।
समाजमा बृद्धि भइरहेका बलात्कार सहित जघन्य अपराधका घटना नियन्त्रण गर्न कडा कानुनी व्यवस्था गर्नुपर्ने कतिपय अधिकारकर्मीहको धारणा छ । अधिकारकर्मी घिमिरे पनि बलात्कारका घटनाका दोषिलाई सर्वश्वसहित जन्मकैद र फासीको सजायसम्मको कानुनी व्यवस्था गर्न जरुरी रहेको बताउँछिन् ।
नागरिक अगुवा धनपति ढुंगेल प्रदेशमा विगतमा पनि जघन्य अपराधका घटना हुने गरे पनि समाजभित्रै ढाकछोप हुने गरेको दावी गर्छन् । उनले पछिल्ला वर्षहरूमा समाजमा जागरुकता बृद्धि भएकाले अपराधिक घटना पनि सार्वजनिक हुने गरेको तर्क गरे ।
उनले प्रदेशमा अपराधको न्यूनीकरणका लागि प्रदेश सरकारले सचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने, कानुनबारे जनस्तरसम्म जानकारी गराउनुपर्ने, जनतासँग प्रहरी कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने सुझाव दिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी गठन तथा परिचालन सम्बन्धी गम्भीर समीक्षा गरिएको जानकारी दिए ।
मन्त्री शाहले संविधानको व्यवस्थाअनुसार संरचना, प्रदेश प्रहरी गठन तथा परिचालन, र शान्ति सुरक्षाका लागि आवश्यक कानुन निर्माणमा ढिलाई भएका कारण पनि काम गर्न कठिनाई भइरहेको बताए ।
उनले अपराधीहरू नियन्त्रणमा आएको भए पनि थप यस्ता घटना हुन नदिन प्रहरीलाई सक्रिय ढंगले परिचालन गर्न, अनुसन्धानलाई बलियो बनाउन संयन्त्र र संगठनलाई प्रभावकारी ढंगले अगाडि बढाउने सोच प्रदेश सरकारले गरिरहेको बताए ।