१६ कार्तिक २०८१, शुक्रबार

डाँडा भत्काउँदाका दुस्परिणामहरू



मैले वरिष्ठ पत्रकार मोहन मैनाली प्रशिक्षक भएका तीन वटा तालिममा सहभागी हुने मौका पाएको छु । तालिमका क्रममा उहाँबाट सिकेका महत्त्वपूर्ण कुरा– ‘जहाँ जान्छौं, त्यहाँ देखेका कुरा डायरीमा टिप, किनकि ती कुरा निकै पछिसम्म पनि काम लाग्ने हुन्छन् ।’ उहाँबाट सिकेअनुसार मैले घुमेका अधिकांश स्थानका कुरा डायरीमा टिपेको छु । तर, टिपेका कुरा उहाँले भने जसरी काममा लगाउन सकेको चाही छैन । केही दिनअघि मोहन सरले लेख्नुभएको पुस्तक ‘देखेको देश’ बजारमा आयो । मैले सो पूुस्तक किने र पढें । पुस्तकमा भएका केही लेख पहिले नै केही पत्रपत्रिकामा छापिइसकेकोले मैले पहिल्यै पढेको थिए । केही नपढेका लेख पनि थिए, ती सबै पुस्तकमा पढे ।
तालिमका क्रममा उहाँले सिकाउनु भएअनुसार मैले डायरीमा टिपेका केही कुरा उहाँको नयाँ पुस्तकका केही लेखेका विषयसित मिल्दाजुल्दा छन् । तिनै कुरा अहिले काम लगाउने विचार गरेें । र, आफूले टिपेका र मोहन सरको किताबमा उल्लेख भएका मिल्दाजुल्दा प्रसंग लेख्ने प्रयास गरेको छु ।
म पत्रकारिताबाट टाढा भएर एक गैरसरकारी संस्थामा काम गर्न झण्डै दुई वर्ष अछाम बसें । मैले काम गर्ने परियोजनाको कार्यक्षेत्र अछामका दुर्गम गाउँहरू थिए । १० वर्षे सशस्त्र द्वन्द्वले प्रभावित भएका ती गाउँ मुख्य रूपमा अछामको मुख्य राजमार्गबाट पर्यटकीय क्षेत्र रामारोशनसम्म पुग्ने गरी बेलायत सरकारको सहयोग नियोगको लगानीमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप १, २ र ३) ले बनाएको सडकको पहुँचमा पुगेका थिए । लामो समय कैलाश खोलामा पुल नहुँदा वर्षातमा बन्द हुने सडक यातायात यो वर्षदेखि पुल सञ्चालनमा आएपछि नियमित भएको छ ।
विषय त्यो सडकको होइन । मोहन सरले लेखेको ‘चिरेर पहाडहरू’ शीर्षकको लेखभित्र उल्लेख भएका विषय यहाँ जस्ताको तस्तै मेल खाने खालका थिए । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगरदेखि जिल्ला सदरमुकाम मंगलसेन जाने सडकको बीचमा पर्ने जयगढ बजारदेखि पूर्वपट्टि लागेपछि हालको बान्नीगढीजयगड गाउँपालिकाको वडा नम्बर ५, साविकको कालिका गाविस आउँछ । कालिका गाविस कटेपछि आउने बान्नीगढीजयगड गाउँपालिकाको वडा नम्बर ६, दर्ना आउँछ । त्यहीँबाट शुरु हुन्छ– ‘डोजर आतंकको कथा’ ।
मुल बाटोबाट त्यो गाउँसम्म पुग्न जयगड बजारबाट मंगलसेन जाने सडक ओरालो झरेपछि बीच जंगलमा जिरो प्वाइन्ट देखि बनेको सडक छ । र, अर्को सडक जयगढ बजारबाट सोझो पोर डाँडामाथिबाट लगिएको छ । र, त्यहाँ विभिन्न बस्तीलाई सडक सञ्जालसित जोड्ने र माथिल्लो र तल्लो सडक एकअर्कासित कनेक्ट गर्ने नाममा जथाभावी डोजरले खनेर हरिया डाँडा राता बनाइएका छन् । रामारोशन उद्गम रहेको कैलाशखोलाको किनारमा रहेको दर्नामा पानी लाग्ने खेत छन् । खानपुग्ने जमीन हुने किसानले त्यहाँको उत्पादनले वर्ष भरिका लागि खाद्यान्न पुर्‍याउँथे । अहिले तिनै पानी लाग्ने खेतका गह्राहरू चिरेर बनाइएका सडकले स्थानीयको गाडी चढ्ने आवश्यकतालाई पुरा गर्न सकेका त छैनन् नै, उनीहरूको खेतीयोग्य जमीन मासिएका कारण खाद्यान्न पनि किनेर खानुपर्ने अवस्थामा पुर्‍याइदिएको छ । अचम्मको कुरा त के छ भने यसरी खनिएका सडकमा कुनै इन्जिनियर वा प्राविधिकको डिजाइन छैन । डोजर (स्काभेटर) को अपरेटरले जता सजिलो देख्यो, उतैबाट घुमाउँदै बाटो खनिदिएको छ ।

यो गाउँमा जान मुख्य एक बाटो भए पुरै वडाभरी पुग्न त्यति गाह्रो छैन । तर त्यहाँ राजनीतिक पार्टी अनुसार गाउँ पुग्ने दुई वटा सडक छन् ।

मैले काम गर्ने परियोजनाको कार्यक्षेत्र पर्ने हालको रामारोशन गाउँपालिकाका विभिन्न वडामा सडक खन्ने क्रम झन तीब्र छ । यहाँ पनि कोही इन्जिनियरको डिजाइन छैन । स्काभेटर अपरेटर नै इन्जिनियर बनेका छन् । रामारोशन गाउँपालिकामा सदरमुकाम मंगलसेनसितको सडक सम्पर्कका लागि बान्नीगढी जयगढ गाउँपालिका हुँदै गएको एउटा सडक छ । र, मंगलसेन नगरपालिका र कमलबजार नगरपालिका हुँदै जाने मध्यपहाडी लोकमार्गको ठाँटीखाँदबाट जाने अर्को सडक छ । यतिखेर रामारोशन गाउँपलिकाको वार्षिक बजेटको ठूलो हिस्सा यी दुबै सडकलाई जोड्ने नाममा खर्च भइरहेको छ । कैलाश खोलाको किनारै किनार गएको सडकलाई डाँडाको सिरानबाट गएको सडकसित जोड्न बिना कुनै डिजाइन बस्तीमा सडक पुर्‍याउने नाममा खेतीयोग्य जमिन नासिने क्रम जारी छ । दुबैतर्फको सडकले पहिले छुने वडा नम्बर १, मलातिकोटमा भएको एउटा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले ‘बाटो खन्ने काममा एउटा गह्राको लोभले अवरोध नपुर्‍याउनु होला’ भनेर भाषण गरे । तर, उनले त्यसरी बाटो खन्दा भोलि हुने हानीको ख्याल गरेनन् ।
रामारोशन गाउँपालिकामा वडा नम्बर, २ चाफामाडौं र वडा नम्बर ३, सान्तडामा गाउँपालिकाको मुख्य बजार मुजाबगरबाट वडा कार्यालयहरूमा सडक पहुँच पुर्‍याउन खेतीयोग्य जमीन मासिएको छ । यसरी खनिएका सडकका कारण कतिपय स्थानमा खानेपानीका मुहानहरू सुकेको स्थानीय बासिन्दाहरूले बताउन थालेका छन् ।
रामारोशन गाउँपालिकाको वडा नम्बर ६, भाटाकाटिया गाउँ दुई बामपन्थी पार्टी एकता गर्नु अघिको नेकपा माओवादी केन्द्रका धेरै नेताहरूको बसोबास रहेको गाउँ हो । कैलाश खोलाको बिजुली बाले पनि सोही खोलाको किनारबाट जाने सडकबाट मानव बस्तीसम्म पुग्न एकदेखि तीन घण्टासम्म कस्सिएर उकालो हिड्नुपर्छ । आफ्नो घरसम्म पुग्ने बाटो पुर्‍याउन कस्सिएका गाउँपालिकाका अध्यक्ष झंकर साउँदले दुई तीन तिरबाट बाटो खन्न लगाए । माथितिर बस्ती र तल कैलाश खोलाको किनारमा खेतीयोग्य जमीन भएको सो गाउँमा माथितिर जाने सडक खन्दा निस्किएको माटो बगेर कैलाश खोला र त्यसको किनारमा रहेका मलिला खेतीयोग्य फाँटहरूमा थुप्रिएको छ । यसरी खनिएका (मोहन सरको शब्दमा बनाइएका होइनन्) सडकहरूले खेतीयोग्य जमीन मासेर उत्पादन घटाउने काम मात्र होइन्, जताततै पहिरोको जोखिम समेत बढाएका छन् ।
अझ, अछाम जिल्लाका अन्य केही गाउँमा सडकमा भएको राजनीति झन अचम्मलाग्दो छ । चौरपाटी गाउँपालिकाको वडा नम्बर ५, लुंग्रा गाउँ मुख्य व्यापारिक केन्द्र सांफेबगरबाट नजिकै पर्छ । यो गाउँमा जान मुख्य एक बाटो भए पुरै वडाभरी पुग्न त्यति गाह्रो छैन । तर त्यहाँ राजनीतिक पार्टी अनुसार गाउँ पुग्ने दुई वटा सडक छन् । एक दलको पहलमा बनेको सडकमा अर्को दलमा आवद्ध कार्यकर्ता हिड्दैनन् । उनीहरूले आफ्नो आवतजावतका लागि छुट्टै स्थानबाट गाउँसम्मै पुग्ने अर्को सडक खनेका छन् ।
कुनै इन्जिनियर, ओभरसियरको डिजाइन बिना खनिदै गरेका यी सडकमा काम गर्न डडेल्धुराको परशुराम नगरपालिकाबाट आएका एकजना स्काभेटर अपरेटरले रामारोशन गाउँपालिकाको बजेट नै आफ्नो हातमा आएको बताएर स्थानीय तहहरूले सडकका नाममा गरिरहेको खर्चलाई संकेत गरे ।
सडक विकासको पहिलो आधार हो । अंग्रेजीमा ‘कनेक्टीभिटी’ भनेर भनिने विषय ज्यादै आवश्यक छ । यातायात पुगेको खण्डमा गाउँका मानिसले उत्पादन गरेको कृषि उपजले बजार पाउँछ । बिरामी पर्दा सजिलै सित चाडो उपचार गर्ने स्थलसम्म पुग्न सकिन्छ । आफ्नो उत्पादन बेचेर आएको पैंसाले बजारबाट आफूलाई आवश्यक उपभोग्य वस्तु किन्न सकिन्छ । तर अछामका रामारोशन अथवा बान्नीगढी गाउँपालिकामा खनिएका सडककले कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउने होइन्, कृषकको उत्पादन गर्ने जमीन मासेको छ । उसले सिंचाई गर्ने र खानेपानीका लागि प्रयोग गर्ने मुहान सुकाएको छ । पहिरोको जोखिम बढाएको छ । स्वादिला र पोषिला स्थानीय बालीहरूको सट्टामा बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गरेका गुणस्तरहीन र जंकफुडको खाजा मात्रै गाउँमा पुगेको छ । गाउँमा सजिलै यस्ता चीजहरू पाइएपछि गाउँलेहरूले मिहिनेत गरेर उत्पादन गर्न छोड्ने स्थिति बनेको छ । र, जंकफुडको खाजा खाने संस्कृति भित्रिएको छ । यसरी खनेका सडकहरूले विकास होइन्, जनतालाई दूरगामी रूपमा प्रतिकुल असर पर्ने उपहार मात्रै दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार