१५ कार्तिक २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको घोषणा : उपविजेता महिला टोलीलाई तिहार लगत्तै पुरस्कार दिन्छौ




काठमाडौ/ नेपाल सरकारले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा सो घोषणा गरेका हुन । उनले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने पनि बताए । सो खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउने भएका छन् ।

विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ । सो व्यवस्थाका लागि प्रधानमन्त्री ओलीले निर्देशन गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गरे । उनले भने आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह पनि गरे ।

विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनु पर्छ उनले भने।

सो अवसरमा प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी दिए । सो अवसरमा खेलाडीहरुले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार