७ पुष २०८१, आईतवार

निर्देशिका परिमार्जन गर्न आग्रह



धनगढी । ‘हामी शुद्ध पानी उत्पादक कम्पनी व्यावसायीहरूलाई बन्द गर्ने उद्देश्यले सरकारले निर्देशिका जारी गरेको छ’ ७ नम्बर प्रदेशका पानी उत्पादक व्यावसायीहरूको आग्रह छ– ‘हामी यो निर्देशिका परिमार्जन गर्न आग्रह गर्दछौं ।’
२०७४ चैत २७ गते अघिसम्म पानी उत्पादक व्यावसायीहरूले उत्पादन गरेको पानीको स्वच्छता तथा गुणस्तर मापदण्ड चेकजाँच गर्ने कुनै आधार थिएन । पानी उत्पादक व्यवसायीहरूले मुखकै भरमा उत्पादन गरेको पानीलाई स्वच्छ तथा गुणस्तर भएको बताउने गरेका थिए । झण्डै एक वर्षसम्म पानी उत्पादक व्यावसायीहरूसँग छलफल तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लामो अभ्यास गरेर प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ जारी गर्‍यो । ७ नम्बर प्रदेशका व्यवसायीहरूले निर्देशिकाले व्यवसाय नै धराप पार्ने गुनासो गरिरहेका छन् ।
कञ्चनपुरबाट पानी उत्पादन गरिरहेका व्यवसायी डिपी खरेलले भने– ‘हामीले उत्पादन गरेका शुद्ध पानीले बजार पाएको छैन । त्यसैमा निर्देशिकाले जनशक्ति, उपकरण लगायतका थप गर्न निर्देश गरेको छ । यसले व्यवसाय नै धरापमा पर्छ ।’ उनका अनुसार कैलालीमा १८ र कञ्चनपुरमा चार वटा पिउने पानी प्रशोधित कम्पनी सञ्चालनमा रहेका छन् ।
अर्का पानी व्यावसायी केदार भण्डारीले भने ‘बैंकबाट ऋण लिएर व्यवसायी सञ्चालन गरिरहेको छु । दुई वर्षसम्म व्यवसाय पुरै घाटामा गयो । तेस्रो वर्षमा पुग्दै गर्दा व्यवसायमा केही सुधार हुँदै गएको छ तर, निर्देशिकाका आधारमा काम गर्ने हो भने व्यवसायनै छोडेर जानुपर्छ ।’ उनले कैलाली र कञ्चनपुरमा आवश्यक भन्दा बढी पानी कम्पनी कम्पनी सञ्चालन भइसकेको बताउँदै ‘कम्पनी सञ्चालनका लागि मापदण्ड बनाएर नयाँ दर्ता कार्य रोक्न जरुरी छ ।’
अर्का व्यवसायी वसन्तराज भण्डारीले ७ नम्बर प्रदेशमा साना व्यवसायीहरूले पानी कम्पनी सञ्चालन गरिरहेको बताए । ‘हामीले बाटो–बाटोमा पिउने पानीको विक्री बढेको देखेर पानी कम्पनी सञ्चालन गर्‍यौं’ उनले भने ‘जब कम्पनी सञ्चालनमा ल्याए तब थाहा भयो कति घाटा व्यहोर्नु पर्दो रहेछ भनेर ।’
शुद्ध पानी उत्पादन संघका अध्यक्ष रामबहादुर केसीले सरकारले ल्याएको निर्देशिका पालना गर्न नसक्ने बताए । निर्देशिकालो स्वचालित मेसिन जडान गर्नुपर्ने, प्राविधिक कर्मचारीहरू दरबन्दी गर्नुपर्ने लगायतका कुरा उल्लेख गरेको छ यसले हामी (पानी व्यवसायीहरूको) आम्दानी भन्दा पनि खर्च बढाउँछ ।’ उनले सरकारले रातारात केही व्यवसायीहरूको सरसल्लाहमा समग्र व्यवसायीहरूलाई धरापमा पार्ने गरी निर्देशिका, कानुन, ऐनहरू जारी गर्ने गरेको आरोप लगाए ।

निर्देशिकाको पालना गर्नुहोस् तपाईको पानीको विक्री बढ्छ : महानिर्देशक कर्ण
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जयकुमार कर्णले पिउने पानी उत्पादक व्यसायीहरूलाई निर्देशिकाको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
‘तपाईहरू निर्देशिकाको पालना गरेर अघि बढ्नुहोस्, तपाईहरूको पिउने पानीको विक्री बढ्दै जानेछ’ शुक्रबार धनगढीमा निर्देशिकाबारे जानकारी दिन आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा महानिर्देशक कर्णले भने ‘विगतमा हामीसंग निर्देशिका नहुँदा हामीले पानीको स्वच्छता तथा गुणस्तरबारे कसैलाई विश्वास दिन सकेका थिएनौं, अब कसैले सोधेमा हामीले निर्देशिका देखाएर पानीको स्वच्छता र गुणस्तरबारे भन्न सक्छौं ।’ उनले यो (निर्देशिका) भनेको उद्योग बन्द गराउनलाई नभई शुद्ध पानी हो भन्ने आधार रहेको बताए ।
उनले निर्देशिकाको पालना गरेर व्यवसायीहरू अगाडि बढेमा कुनै पनि सरोकारवाला वा उपभोक्ताहरूले आरोप वा रोकटोक नगर्ने बताए । ‘अहिले हामीसँग शुद्ध पानीको निर्देशिका नहुँदा घुमफिरका लागि आएका बाह्य पर्यटकहरूले यहाँको पानी प्रयोग गर्दैनन्’ उनले भने ‘तपाईले उत्पादन गरेको पानी तपाईको क्षेत्रमा मात्र होइन विदेशीले पनि पिउन भन्ने चाहनुहुन्छ भने निर्देशिकाको पालना गर्नुबाहेक विकल्प छैन् ।’
विभागका प्रवक्ता पूर्णचन्द्र अवस्थीले निर्देशिकाले गलत मनसायले सञ्चालनमा ल्याईएका उद्योगहरूलाई बन्द गर्न पनि मद्दत पुर्‍याउने बताए । ‘स्वच्छ, शुद्ध र गुणस्तर पानी पिउन पाउनुपर्ने आम नागरिकको अधिकार हो’ प्रवक्ता अवस्थीले भने ‘पानी अशुद्ध भए विभिन्न रोग लाग्ने भएकाले निर्देशिका अनुसार व्यवसायीहरू चल्नु जरुरी छ ।’ उनले निर्देशिकाले व्यवसायीहरूको क्षमता, गुणस्तरलाई पनि बढाउन सहयोग पुग्ने बताए ।

लेवल देखिने गरी राख्नुपर्‍यो: उपभोक्ता
७ नम्बर प्रदेशबाट उत्पादन हुने अधिकाँस पानीको बोतलमा लेवल राम्रोसँग नदेखिने गरेको उपभोक्ताहरूले गुनासो गरे । यहाँबाट उत्पादन हुने अधिकाँस पानीका बोतलहरूमा लेवल राम्रोसँग पढ्ने गरी राखिएको हुँदैन कैलालीका पत्रकार भोजराज जोशीले भने ‘यसले गर्दा आन्तरिक पर्यटक त त्यो पानी पिउन मान्दैन भने बाह्य पर्यटक झनै खरिद गर्न मान्दैनन् ।’ उनले लेवल आम मानिसले सजिलै देखिने र पढ्न सक्ने गरी राख्नुपर्ने सुझाव दिए ।
साथै उत्पादकहरूले चिसो तथा सुख्खा ठाउँमा पानी राख्नुपर्ने पिउने पानीको बोतलमा उल्लेख गरेको भएपनि विक्रेताहरूले खुल्ला तथा घाम पर्ने स्थानमा राखेरनै विक्री वितरण गर्ने गरेको बताउँदै ‘पानीमा कुनै खराबी देखिएर उजुरी गरेमा विक्रेता भन्दा पनि उद्योगीलाई कारबाही हुँदैछ ।’ उनले उद्योगीको कमी कमजोरी भए उद्योगी र विक्रेताको कमी कमजोरी भए विक्रेतालाई कारबाही गर्ने कानुन ल्याउन जरुरी रहेको सुझाव दिए ।
विभागका प्रवक्ता अवस्थीले विभागले विक्रेताको लापरबाहीबाट पानीमा कुनै खराबी देखिएमा कारबाही गर्ने ऐन छिट्टै ल्याईने बताए ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका कार्यालय प्रमुख सुमन धितालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्राविधिक सहायक कुमार भण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार