१६ बैशाख २०८१, आईतवार

नेपालमा क्यान्सरमा पाठेघरको मुखको क्यान्सरका पीडित धेरै



धनगढी / विश्वमा क्यान्सरहरुमा पाँचौ स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा रहेको जानकारी आइतबार धनगढीमा दिइएको छ ।

२०२० को तथ्याङ्क अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर हुने दर १६.४ प्रतिशत र मृत्युदर ११.१ प्रतिशत रहेको छ ।
पुरुषका कारण महिलामा लाग्ने यो रोगबाट हाम्रो देशमा दैनिक चार जना महिलाले ज्यान गुमाइरहेका जनाइएको छ ।

परिवार कल्याण महाशाखाका विष्णु बास्कोटाका अनुसार गर्भावास्थाका कारण हुने आमाको मृत्युभन्दा पनि पाठेघरको मुखको क्यान्सरका कारण महिलाको मृत्यु बढी भइरहेको छ । उनका अनुसार गर्भावास्थाका कारण दैनिक दुई महिलाको ज्यान जाने गरेको छ ।

उनले भने आमाको मृत्युभन्दा पाठेघरको मुखको क्यान्सरका बिरामीको मृत्युदर भयावह छ तर, पालिकास्तरमा पालिकाहरुले पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि भीआइए जाँचमा ध्यान दिएका छैनन् ।

पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यौनकार्य पूर्व ९ देखि १४ वर्षमुनिका किशोरीलाई एचपीभी (ह्युमन पपिलोमा भाइरस) खोप दिन सकिने जनाइएको छ । यसैगरी, ३० देखि ४९ वर्ष उमेरका महिलाको स्क्रिनिङ गरेर रोग पत्ता लगाइन्छ । भीआइए (भिजुअल इन्पेक्सन विथ असेटिक एसिड) बाट जाँच गरी पाठेघरको मुखमा क्यान्सर सङ्क्रमण रहे वा नरहेको पत्ता लगाउन सकिन्छ । थप पुष्टि गर्न एचपीभी डीएनए टेस्ट गर्न सकिने जनाइएको छ ।

नेपालले दिगो विकास लक्ष्य २०३० सम्म ९० प्रतिशत किशोरीलाई एचपीभी खोप दिने, ७० प्रतिशत स्क्रिनिङ गर्ने र रोग पत्ता लागेका ९० प्रतिशतकोे उपचार गर्ने लक्ष्य लिएको छ । यति भएमा पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदरलाई ३० प्रतिशत कम गर्न सकिने बास्कोटाले बताए ।

यद्यपि, हालसम्म ११ प्रतिशतमात्रै स्क्रिनिङ भएको जनाइएको छ । स्क्रिनिङ गरिएकामध्ये सात प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर पुष्टि भएको छ । नेपालमा पाठेघर मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९ जारी भए पनि अत्यधिक महिलाको अझै स्क्रिनिङ हुन नसकेको बास्कोटाको भनाइ छ ।

स्त्री रोग परीक्षणका लागि लाज लाग्ने र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङबारे ज्ञान नभएको कारणले महिलामा यो रोगको जाँच हुन नसकेको जनाइएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुङ्गेलले पाठेघरको मुखको क्यान्सरको नयाँ बिरामी बर्सेनि १० हजार थपिने गरेकोले रोकथामका लागि जनचेतना आवश्यक रहेको छ ।

जोगिन सकिएमा क्यान्सर केही पनि होइन क्यान्सर जितेका भएका जगन्नाथ ढकालको भने यसकारण पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, जाँच र उपचारबारे सचेतना आवश्यक छ ।

नेपालमा भयावह अवस्थामा रहेको पाठेघरको मुखको क्यान्सरबाट जोगिनका लागि खोप, स्क्रिनिङ र उपचारमा जोड दिइएको छ ।

महिलाका लागि यो रोग घातक रहेकाले पाठेघरको क्यान्सरविरुद्धको खोप, उमेर पुगेका महिलामा सो को जाँच र उपचारमा जोड दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार