२३ बैशाख २०८१, आईतवार

बझाङमा अघिल्लो चुनावभन्दा कम ४९. १२ प्रतिशत मतदान



धनगढी/ बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा शनिबार भएको उपनिर्वाचनमा ४९. १२ अर्थात ३० हजार ३२८ जनाले मतदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेको बताए । उनले सो क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भएको बताए ।

सो क्षेत्रमा २०७९ को प्रदेश सभा निर्वाचन भन्दा कम मतदान भएको छ । २०७९ को चुनावमा अहिलको भन्दा मतदाता कम भए पनि ३१ हजार २७९ मत सदर भएका थिए । सो चुनावमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार चीनको तिव्वतसंग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रका बाहेक अरु छ पालिका र थलारा गाउँपालिकाको एक वडाको मत पेटिका शनिबार राति नै सदरमुकाम चैनपुर पुग्ने सम्भावना छ । साइपालका तीन स्थानका मतपेटिका भने आइतबार विहान नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइने उनले बताए ।

सबै ठाउँका मत पेटिका आएपछि आइतबार दिउँसो नै मतगणना शुरु हुने उनले बताए । उपनिर्वाचनमा ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा तोकिएको थियो ।

प्रदेश सभा क्षेत्र नम्बर १ मा सातवटा पालिकाका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन् । सात वटा पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् ।

मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली मतदान केन्द्रमा खटाइएको थियो, प्रहरी नायव उपरीक्षक शाहले बताए ।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरु क्रमशः नेपाली कांग्रेसले स्व. सिंहका जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमनबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनकबहादुर बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार