२२ बैशाख २०८१, शनिबार

बझाङका मतदातामा उत्साह देखिएन, ३३ प्रतिशत हुने सम्भावना



धनगढी/ बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा मतदातामा मतदान गर्ने उत्साह कम देखिएको छ । विहान १० बजेसम्मको मतदानको अवस्थालाई आधार मान्दा सो क्षेत्रमा ३३ प्रतिशत मत खस्न सक्ने अनुमान छ ।

विहान १० बजेसम्म ७.५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा विहान १० बजेसम्म चार हजार ६३२ मतदाताले मतदान गरेका छन् ।

बझाङको खप्तडछान्ना गाउँपालिका वडानम्बर–५ स्थित खप्तड उच्चमाविमा एक हजार ८०० मतदाता रहेकोमा २५० बढीले मात्र मतदान गरेको एमाले नेता लोकेन्द्रबहादुर सिंहले बताए ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोेक) बाट निर्वाचन पर्यवेक्षणमा रहेका अभयराज जोशीले मतदानमा जनताको सहभागीता उत्साहजनक नरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।

उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शुरु भएको सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन् । सात वटा पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् ।

मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताए ।
उहाँका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो ।

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरु क्रमशः नेपाली कांग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार