२२ बैशाख २०८१, शनिबार

मेयर हमालद्धारा शैक्षिक गुणस्तर सुधार्न आफ्नो पारिश्रमिक १७ विद्यालयलाई




धनगढी/ शैक्षिक सत्र २०७९ मा भएको वार्षीक परिक्षामा धनगढी उपमहानगरमा रहेका १७ सरकारी र १ नीजि गरेर १८ विद्यालयले आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा (ननग्रेड) ल्याए । परीक्षामा सरकारी र नीजि गरेर १०६ विद्यालयको सहभागी रहेका थिए ।

यसरी शून्य नतिजा ल्याएका ती विद्यालयमा चालु शैक्षिक सत्र २०८० मा कक्षा ९ मा विद्यार्थी भर्ना शून्य हुन पुगेको छ । वर्षेनी राज्यको लाखौं लगानी रहेका विद्यालयको नतिजा शून्य आएपछि धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल चिन्तित भए ।

उनले शून्य नतिजा ल्याउने विद्यालयको शैक्षिक गुणस्तर कसरी सुर्धान सकिन्छ भनेर शुक्रबार धनगढीमा सबैभन्दा राम्रो नतिजा ल्याउने पञ्चोदय माद्यामिक विद्यालय र शून्य नतिजा ल्याउने १७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षसँग शैक्षिक अन्तरक्रिया कार्यक्रम राखे ।

कार्यक्रममा उपस्थित प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरूले आफूहरूले नियमित पठनपाठन गराउँदै आएको भएपनि आफ्नो विद्यालयमा अध्ययनका लागि पठाउने अधिकांस अभिभावकको आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थीहरूलाई कापी, कलम, मसी, ड्रेसलगायतका शैक्षिक सामग्री अभाव भएका कारण सोचेजस्तो परीणाम ल्याउन नसकेको नगरप्रमुख हमाल समक्ष दुखेसो पोखे ।

कार्यक्रममा उनीहरूको कुरा सुनेर आश्चार्यमा परेका नगरप्रमुख हमालले शैक्षिक सामग्री अभावका कारण नै नतिजा शून्य आएको हो भने आफूले उपमहानगरबाट पाउने एकवर्षको सेवासुविधा र त्यसमा नपुग रकम आफूले ब्यक्तिगतरुपमा थपेर १० लाख बराबरको शैक्षिक सामग्री दिने घोषणा गरे ।

सो रकम शून्य नतिजा ल्याउने १७ सामुदायिक विद्यालयलाई चालु शैक्षिक सत्रमा शैक्षिक सामग्री खरिदका लागि उपलब्ध गराइने नगरप्रमुख हमालले बताए ।

नगरप्रमुख हमालले भने– ‘कार्यक्रममा सहभागी प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्षज्यूहरूले अभिाभावकको आर्थिक अभावले विद्यार्थीहरुले समयमै न्युनतम शैक्षिक सामग्री नपाएर शैक्षिक गुणस्तर सपार्न समस्या परेको गुनासो गरेपछि आफूले उपमहानगरबाट पाउने एकवर्षको सेवा सुविधाको रकम सवा ९ लाख र त्यसमा केही रकम थपेर १० लाख बराबरको चालु शैक्षिक सत्रमा शैक्षिक सामग्री दिइने छ ।’

विद्यालयका प्रधानाध्यापकहरूले शैक्षिक सामग्रीको अभावले पठनपाठनमा समस्या भएको बताएपछि नगरप्रमुख हमालले कापी किताब, कलम, मसी लगायत विद्यार्थीलाई पठनपाठनमा आवश्यक पर्ने शैक्षिक सामग्री खरिद गरेर प्रदान गर्ने बताए ।

उनले विद्यार्थीहरूलाई विद्यालयमा टिकाउने र राम्रो नतिजा ल्याउन सबै पक्षले लाग्नुपर्ने बताउँदै शैक्षिक सामग्रीको अभावमा पठनपाठन कमजोर हुन नदिन उपमहानगरले सबै किसिमको सहयोग गर्ने बताए ।

धनगढीमा आधारभूत तह कक्षा ८ को वार्षीक परीक्षामा सबैभन्दा राम्रो नतिजा ल्याउने पञ्चोदय मावि र ननग्रेड ल्याउने १७ विद्यालयसँग गरिएको अन्तरक्रिया कार्यक्रममा धनगढी उपमहानगरले आगामी शैक्षिक सत्रमा राम्रो नतिजा ल्याउन र सामुदायिक विद्यालयहरूको सिकाइ उपलब्धी राम्रो बनाउन आगामी आर्थिक वर्षमा ठोस योजना र कार्यक्रम ल्याउने उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।

नगरप्रमुख हमालले उपमहानगरको शिक्षा क्षेत्रमा राम्रो नतिजा हासिल गर्न परामर्शदाताको सहयोग लिने र शिक्षाका लागि बहुपक्षीय साझेदारी गर्ने योजना रहेको बताए । ‘सामुदायिक विद्यालयको नतिजा राम्रो बनाउन उपमहानगरले काम गर्छ । यो वर्षबाट विद्यालयको अवस्था सुधार गर्न सबैले लाग्नुपर्छ,’ नगरप्रमुख हमालले भने, ‘उपमहानगरको समग्र शैक्षिक अवस्था सुधारका लागि हामीले विज्ञको सहयोग लिएर काम गर्ने योजना बनाएका छौँ ।’

कार्यक्रममा १७ विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरूले सिकाइको अवस्था सुधार गर्न शैक्षिक सामाग्री नै अपुग हुने बताएपछि भर्ना शैक्षिक सत्रको सुरुमै १७ वटै सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गर्ने र नतिजा राम्रो ल्याउन शिक्षक र व्यवस्थापन समितिले पनि उपमहानगरका योजना कार्यान्वयन गर्न लाग्नुपर्नेमा जोड दिइएको पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार