७ बैशाख २०८१, शुक्रबार

आसन्न निर्वाचन, २०७९ : कैलाली २ मा त्रिपक्षीय प्रतिस्पर्धा



धनगढी/ आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा तीन पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । पाँच दलीय गठबन्धन, र नेकपा एमालेसंगै गत वर्षमात्रै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले कडा टक्कर दिइरहेको छ ।

कैलाली २ मा गत २०७४ को निर्वाचनमा एमाले विजयी भएको थियो । यस पटक पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भगतबहादुर बडुवाल उम्मेदवार रहेका छन् । उनी २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा समेत निर्वाचित भएका थिए । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका झपटबहादुर विजयी भएका थिए ।

यस पटक बडुवाल र रावल आफ्नो विजय सुनिश्चित बनाउन प्रयासरत छन् । अर्कोतिर नागरिक उन्मुक्तिका अरुण चौधरी विजयका लागि कस्सिएर लागेका छन् । उनी २०७४ को निर्वाचनमा नेपाली कांगे्रसका तर्फबाट प्रदेश सभा (ख) मा उम्मेदवार रहेका थिए । सो निर्वाचनमा उनी पराजित भएका थिए । उनी केही महिनाअघि नागरिक उन्मुक्तिमा प्रवेश गरेका थिए ।

एमालेका उम्मेदवार रावल आफ्नो पाँचबर्से कार्यकालमा आफूले गरेका कामलाई जनताले रुचाएको दाबी सहित विजयको अपेक्षा गरिरहेका छन् । उनले आफूले संसदमा खेलेको सक्रिय भूमिकाको पनि जनताले प्रसंशा गर्ने गरेको बताए ।

गठबन्धनका उम्मेदवार बडुवाल राष्ट्रिय राजनीतिको आवश्यकता र विकासका समृद्धिको नारामा चुनाव लडिरहेका छन् । नागरिक उन्मुक्तिका उम्मेदवार अरुणले भने थारु समुदायको अधिकार र पहिचानलाई मुख्य चुनावी नारा बनाएर प्रचारप्रसारमा जुटेका छन् ।

कैलाली २ मा लम्कीचुहा नगरपालिकाका १० वडा, बर्दगोरिया गाउँपालिकाका छ वडा, र मोहन्याल गाउँपालिकाका पाँच तथा जानकी गाउँपालिकालका चार वडा रहेका छन् ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन पहिलो स्थानमा रहेको छ । एमाले दोस्रो र नागरिक उन्मुक्ति तेस्रो स्थानमा छ ।

कैलाली २ मा दलबदलको खेलले पनि निर्वाचनलाई रोचक बनाएको छ । नेकपा (एमाले) का तत्कालिन कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतनबहादुर थापा अहिले नागरिक उन्मुक्तिबाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका नेता अरुण पनि गत स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेर अहिले प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् ।

यो क्षेत्रमा २०४८ र २०५६ सालमा नेपाली कांग्रेस र २०५१, २०७० र २०७४ सालमा नेकपा (एमाले ) विजयी भएको थियो । २०६४ मा भने नेकपा (माओवादी केन्द्र) विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार