१४ बैशाख २०८१, शुक्रबार

सम्पादकीय: आदिशक्ति दुर्गाले सबैको कल्याण गरुन्



यतिवेला नेपालीहरूलाई बडादशैंको रौनकले छोपेको छ । यद्यपि यो हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा महान धार्मिक चाड हो, तर नेपालमा बडादशैं लगभग सबैको चाडका रूपमा स्थापित भइसकेको छ । किनकि वडादशैं धार्मिक चाडपर्व मात्रै होइन, यो सांस्कृतिक र सामाजिक पर्व पनि हो । सबैलाई सामाजिक एकता र सद्भावको सूत्रमा बाँध्ने अवसर पनि हो । घरपरिवार, स्वजन, छरछिमेक, साथीभाइ, इष्टमित्रबीच खुसी साट्ने अवसर हो । कामविशेषले घरबाहिर रहेकाहरू बडादशैंलाई पारिवारिक मिलनका रूपमा उत्साहित हुन्छन् । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरू घरमा आउनका लागि प्रतिक्षारत हुन्छन् । अरू बेला जतिसुकै व्यस्त भएपनि बडादशैंमा कामधन्धालाई थाँथी राखेर परिवारबीच खुसी साट्ने, रमाइलो गर्ने अवसर हो, यो । वर्षदिनका पीडाकष्ट भूलेर केही दिन भए पनि खुसी हुने पर्व हो, यो । त्यसैले यसको महत्त्व धार्मिक रूपमा मात्रै होइन, सामाजिक र सांस्कृतिक रूपमा पनि उत्तिकै छ । त्यसै भएर नै होला, दशैं देशभित्र र विदेशमा रहेका नेपालीहरूको विशेष चाडका रूपमा स्थापित छ । हरेक नेपालीको मनमष्तिष्कमा गहिरोसंग बसेको छ ।

श्रृष्टिको स्रोत नारीशक्तिलाई मानिन्छ । शृष्टि, स्थिति र प्रलय आदिशक्ति नारी अर्थात् देवीमा स्थित रहेको विश्वास गरिन्छ । हरेक किसिमका राक्षसी तत्त्व, प्रवृत्ति र संस्कृतिको संहार गर्ने देवी त्यसैले पुजनीय छिन् । बडादशैं असत्यमाथि सत्यको विजयको सास्वत मान्यताको द्योतक मानिएको छ । हरेक किसिमका विकृति, बिसंगतिहरूको समाप्तीको कामनामा निहीत छ । मानव समाजमा सुसंस्कृति, सुसंस्कार, असल आचरण, सत्यप्रतिको निष्ठा, नारीशक्तिको महत्त्वबोध, कुनै पनि प्रकारको गलत कार्य र प्रवृत्तिको त्याग र समाजमा एकता, सद्भाव र भाइचाराको सन्देशमा केन्द्रीत छ, बडादशैं । आदिशक्ति दुर्गाका नौ स्वरूपको नौ दिनसम्म बडो आस्थापूर्वक पूजाआजा, उपासनासहित भगवतिको प्रसादस्वरूप टीका जमरा लगाउने विशिष्ट नेपाली संस्कृति बनेको छ, वडादशैं । मान्यजनहरूसंग टीका जमरा लगाएर आशिर्वाद लिने संस्कृतिले परिवार तथा समाजलाई अनुशासित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसले नै मानव समाजलाई सभ्य र सुसंस्कृत बनाऊन सधैं दिशाबोध गर्दै आएको छ । बडादशैंले धनीगरिब, हुने र नहुने, बलिया र निर्धा, सशक्त र असत्तबीचको विभेदलाई निषेध गरेको छ । अर्थात्, यो हरेकको चाड हो । देवी भगवतिको पूजाआजा, उपासना गर्ने, परिवार र आफन्तजनहरूबीच खुसी बाड्ने र रमाइलो गर्ने, र आफ्नो गच्छेअनुसार दशैं मनाउन कसैलाई बढी अवसर वा कसैका लागि कम भन्ने सवाल नै हुँदैन ।

निश्चय पनि आधुनिकताले चाडपर्वको मौलिकतामा ह्रास आएको छ । चाडवाडमा धनसम्पत्तिको प्रदर्शनदेखि अनेक किसिमका विकृतिहरूको संस्कृति मौलाउँदै पनि गएको छ । चाडवाडको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षलाई भन्दा पनि आधुनिकताका नाममा फुहड प्रदर्शनमा बढी रमाउने गरेको अवस्था छ, पछिल्ला वर्षहरूमा । तर, यी सबैले वडादशैं जस्तो विशेष धार्मिक, सांस्कृतिक र सामाजिक चाडको महत्त्व कम हुँदैन । न त पछिल्ला वर्षहरूमा जात, धर्म, संस्कृति आदिका नाममा वडादशैंको विरोधमा यदाकदा उचालिने स्वरहरूको नै अर्थ छ । किनकि यो विश्वभरीका हिन्दूधर्मावलम्बीहरूको आस्थाको धार्मिक चाड भएपनि नेपालीहरूको विशिष्ट अवसर हो, पर्व हो, चाड हो । आदिशक्ति देवी दुर्गाले सबैको कल्याण गरुन् । सबैको जय होस् । मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार