१३ बैशाख २०८१, बिहीबार

डोटी र डडेल्धुरामा पहिलो पटक सवारी लाइसेन्सको परीक्षा




दिपायल / सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुराले पहिलो पटक लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको हो ।

परीक्षा सञ्चालन भएसँगै प्रदेशका ७ पहाडी जिल्लाका सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र लिन सहज हुने भएको छ । यसअघि तराइका जिल्लाहरु कैलाली र कञ्चनपुरबाट मात्रै लाइसेन्स वितरण हुने गरेको थियो । डोटी र डडेल्धुराबाटै लाइसेन्स वितरण हुने भएपछि डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका सवारी चालकहरुलाई अनुमतीपत्र लिन सहज हुने भएको छ ।

पहाडी जिल्लाबाटै सवारी लाइसेन्स लिन पाइने भएपछि एक दिनको यात्रा गरेर पटक–पटक तराइका जिल्लाहरु धाउनु पर्ने बाध्यता हटेको स्थानीय शेरवहादुर साउँदले बताए । यसअघि लाइसेन्सको फोटो खिच्न, परीक्षा दिन र ट्रायल दिन डोटीबाट एक दिनको यात्रा गरेर लाइसेन्स लिंदा ४/५ पटकसम्म कैलाली, कञ्चनपुर धाउनु पर्ने बाध्यता थियौ, उनले भने, अब कम खर्चमा जिल्लाबाटै लाइसेन्स लिन सकिने भएपछि खुसी छौं ।’

डोटीमा शनिबार र डडेल्धुरामा आइतबार गरी पहिलो पटक ए, के र बी वर्ग अथात् मोटरसाइकल, स्कुटर, जीप र कारको लिखित परीक्षा सञ्चालन भएको हो ।

डडेल्धुरामा पहिलो पटक सञ्चालन भएको लिखित परीक्षामा १६० जना सहभागी भएको यातायात व्यवस्था कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख मेखराज उपाध्यायले जानकारी दिए । उनका अनुसार कार र जीपका लागि ४८ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा ४३ जना सहभागी हुनुभएको थियो भने मोटरसाइकल र स्कुटरका लागि १२२ जनाको बायोमेट्रिक भएकोमा ११७ जना सहभागी भएका छन् ।

त्यस्तै डोटीमा सञ्चालन भएको लखित परीक्षामा १४५ जना सहभागी भएको यातायात व्यवस्था कार्यालय डोटीका कार्यालय प्रमुख पूर्णबहादुर शाहले जानकारी दिए । उनका अनुसार डोटीमा कार र जीपका लागि ३६ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा २८ जना सहभागी हुनुभएको थियो भने मोटरसाइकल र स्कुटरका लागि १३० जनाको बायोमेट्रिक भएकोमा ११७ जना सहभागी भए ।

पहिला लटको लखित परीक्षा सकिएसँगै परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी भएको बताउँदै भदौ दोस्रो साताभित्र प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सञ्चालन गरिने उनले बताए ।

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारी गर्ने अधिकार प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार