१४ बैशाख २०८१, शुक्रबार

एक वर्षमा ३९५ बालिका तथा महिलाको उद्दार



धनगढी / मानवबेचविखन क्षेत्रमा काम गर्दै आईरहेको शान्ति पुनस्र्थापना गृहले एक वर्षमा तीन सय ९५ जना बालिका, युवती तथा महिलाहरूलाई नाकाबाट उद्दार गरेको छ ।

कैलाली र कञ्चनपुरसंग जोडिएको त्रिनगर नाका र कैलालीको खक्रौला नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा तीन सय ९५ जनाको उद्दार गरेको बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गृहले जानकारी दिएको हो ।

भारत जाने क्रममा नाकाबाट कैलाली लगायत ७७ वटै जिल्लाका महिला, युवती तथा बालिकाहरूलाई बेचविखन हुनबाट सुरक्षित राख्न उद्दार गरिएको गृहकी जिल्ला संयोजक निर्मला शाहीले जानकारी दिइन ।

धनगढी र टीकापुरलाई केन्द्रमा राखेर काम गर्दै आईरहेको सो गृहले सबैभन्दा बढी कैलालीका युवती, बालिका तथा महिलाहरूको नाकाबाटै उद्दार गरेको तथ्यांकमा उल्लेख छ ।

गृहले कैलालीका एक सय ९४, कञ्चनपुरका ३७, अछामका ११, डोटीका २०, बझाङका २२, बाजुराका सात, डडेल्धुराका ११, बैतडीका आठ जनाको दुई नाकाबाट उद्दार गरेको हो ।

जिल्ला संयोजक शाहीले सुदूरपश्चिम प्रदेशबाहेक देशभरीका ७७ वटै जिल्लाका युवती, महिला तथा बालिकाहरूलाई बेचविखन गर्ने उद्देश्यले दुई नाका भएर भारत लग्ने प्रयास हुने गरेको बताइन ।

विशेषतः १३ वटा स्थानीय तह रहेको कैलालीको लम्की चुहा, भजनी नगरपालिका र मोहन्याल गाउँपालिकाका बढी महिला, बालिका तथा युवतीहरू बढी प्रभावित हुने गरेको उनले बताइन ।

गृहका अनुसार प्रलोभनमा पारी १८ देखि २५ उमेर समुहका युवतीहरूलाई बेचविखनका लागि भारत लग्ने प्रयास हुने गरेको छ । गृहको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा उद्दार गरिएकामध्ये ५२ प्रतिशत युवतीहरू १८ देखि २५ वर्ष उमेर समुहका रहेका छन् ।

यस्तै, १६ देखि १७ वर्ष उमेर समुहका २२ प्रतिशत, ११ देखि १५ वर्ष उमेर समुहका नौ प्रतिशत, २६ देखि ३० उमेर समुहका नौ प्रतिशत, ३० वर्ष माथिका चार प्रतिशत र १० वर्ष मुनिका चार प्रतिशत रहेका छन् ।

गृहले आर्थिक वर्ष २०७८/७९ मा भारतबाट एक जनाको उद्दार गरि घरपरिवारमा पुर्नमिलन गराएको छ । जिल्ला संयोजक शाहीले महिला बेचविखन तथा जवरजस्ती करणीमा १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ भने दुई सय ९७ जनालाई परिवारको जिम्मा लगाएको बताइन ।

गृहले पीडितको उजुरीका आधारमा जवरजस्ती करणी विरुद्ध आठ, जवरजस्ती करणीसंगै मानवबेचविखन तथा ओसारपसारमा चार र मानव बेचविखन तथा ओसारपसारमा एक गरि १३ मुद्दा दर्ता गराएको तथ्यांकमा उल्लेख रहेको छ ।

संस्थाले नाकाबाट उद्दारसंगै बेचविखनमा परेका वा पर्नबाट जोगिएका महिला तथा बालिकाहरूलाई परामर्श तथा जनचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ । आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार छ सय २० जना महिलालाई परामर्श गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार