१९ बैशाख २०८१, बुधबार

मर्यादित महिनावारीको लागि तीन दिने धामी झाँक्री सम्मेलन शुरु



महिनावारी भएकाहरु अझै सेनेटरी प्याड माग्न लजाउछन्


धनगढी/ बाजुराकी १८ वर्षीया किशोरी विमला थापाले अझै महिला/किशोरीहरु महिनावारी हुँदा लाज मान्ने गरेको बताएकी छन् ।

आफू १४ वर्षको उमेरदेखि महिनावारी भएको बताउदै उनले शुरुमा आफूले अरु महिलाले जस्तै सात दिन गोठमा बसेको भए पनि अहिले आफ्नो घरलाई सम्झाउन सफल भएर घरमै बस्न थालेको बताए । तर बाजुरामा अहिले पनि धेरै महिलाले महिनावारी हुँदा दुःख पाइरहेको बताइन ।

विहिबार धनगढीमा शुरु भएको मर्यादित महिनावारीको लागि तीन दिने धामी झाक्री सम्मेलनमा बोल्दै उनले भनिन, शुरुमा महिनावारी हुँदा स्कुल जान कठिनाइ हुन्थ्यो, गइहाले पनि रगत रोक्न ३/४ वटा सुरुवाल लगाउनु पर्दथ्यो । अहिले स्कुल, क्याम्पसमा महिनावारीमा लाउने सेनेटरी प्याड आउदा सजिलो भएको छ । तर अहिले पनि कैयौ किशोरी र महिलाहरुले सेनेटरी प्याड माग्न लाज मान्ने गरेका छन् ।

सो कार्यक्रममा बोल्दै बाजुराको बडिमालिका नगरपालिका वडानम्बर २ का धामी देवराज जोशीले आफूले महिनावारी र जातियका कारण कसैलाई पनि फरक व्यवहार नगरेको बताए । उनले सम्पूर्ण धामी, धमेनी र झाक्रीलाई पनि त्यस्तो व्यवहार नगर्न आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री टेकबहादुर रैकाले हामीले हाम्रो धर्मले यस्ता कुरिती मान्न लगाएको भन्छौ तर धर्ममा कतै पनि जातिय छुवाछुत र महिनावारीलाई कतै पनि गलत नमानिएको बताउदै रुढीबादी सोच हटाउन आग्रह गरे ।

हाम्रो आत्मामा रुढीवादी सोच छ त्यो सोच हटाउन हामी सबैले प्रयास गरे छाउपडी प्रथालाई मर्यादित बनाउन सकिने उनको भनाइ छ । उनले छाउपडी प्रथाले गर्दा महिलाहरु बाघ, सर्प र भूतप्रेतको आक्रमणमा परेको बताउदै त्यस विरुद्ध अभियान चलाउन मन्त्रालयले निर्देशिका बनाएको बताए । उनले रुढीबादी सोचका विरुद्ध लाग्नेलाई प्रदेश सरकारले सम्मान गर्ने पनि घोषणा गरे ।

गुड नेवर्सका देशिय निर्देशक जे क्युन रोले मर्यादित महिनावारीका लागि सुदूरपश्चिमका विद्यालयमा महिनावारी सम्वन्धी कार्यक्रम लागू गरिएको बताए । उनले यस्ता कार्यक्रमका लागि प्रदेश सरकारको सहयोग अझ जरुरी भएको बताए ।

पहिलो पटक आयोजना भएको सम्मेलनमा बाजुरा, अछाम, डोटी र कर्णाली प्रदेशको मुगु जिल्लाका ३५ जना धामी र धमेनी सहभागिता रहेको छ । सम्मेलनले महिनावारीलाई मर्यादित बनाउन आव्हान गर्दे घोषणा पत्र जारी गर्ने आयोजक गुड नेवर्स इन्टरनेशनल नेपालका स्वास्थ्य अधिकार सुधार परियोजना संयोजक देवेन्द्र शाहले बताए ।

डोटीको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख मलावती महरले महिनावारीलाई मर्यादित बनाउन आफ्नो नगरपालिकाले कार्यविधी बनाएको सुनाइन ।

सामाजिक अभियन्ता तथा संविधान सभाका सदस्य हरि श्रीपाइलीले महिनावारीलाई मर्यादित बनाउन धामी, झाक्री र किशोरीहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले महिनावारी भएकी महिला घर भित्रै सुत्दा, पोषिलो खाने कुरा खाँदा देउता रिसाउदैनन् भन्ने सन्देश धामी, झाँक्रीबाट समाजमा जानु पर्ने आवश्यक्ता औल्याए । समाजले अरुलाई भन्दा अहिले पनि झामी, झाक्रीलाई बढी विश्वास गर्ने गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार