६ जेष्ठ २०८१, आईतवार

अतिक्रमण हटाउदा भौतिक संरचना भन्दा रुखविरुवा बढी मासिए




धनगढी/ धनगढी उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित सुकुटी नालामा निर्माण भएका भौतिक संरचना हटाउन शुरु गर्यो । मानिसले नाला अतिक्रमण गरि बनाइएको भौतिक संरचना हटाउने भन्दै उपमहानगरपालिकाले डोजर चलाईरहेको छ ।

उपमहानगरपालिकाको अमिनले जग्गा नाप गर्दै नालाको क्षेत्रको टुङ्गो लगाएको छ । उपमहानगरपालिकाले लगाएको डोजरले सो क्षेत्रभित्र पर्ने भौतिक संरचनासंगै बोटविरुवा तथा ठूल ठूला रुखहरू पनि कटान गरिरहेको छ । वातावरण विज्ञहरूले यसलाई पर्यावरणीय विनास कार्य भएको बताएका छन् ।

सुकुटी नालामा अतिक्रमण गरेर बनाइएको भौतिक संरचना हटाउने भन्दै उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले डोजरको प्रयोगगर्न लगाएर नाला छेउछाउमा रहेका रुखहरू काट्दै नालामै माटोले छोप्न थालिएको छ । नाला खोल्ने नाउमा किनारका माटो तथा बोटविरुवा झारीसंगै ठूल ठूला रुखहरू ढाली नालाभित्रै व्यवस्थापन गर्न लागेको पाइएको हो ।

वन ऐन अनुसार वन कार्यालयको अनुमति बिना कुनै पनि बोटविरुवा तथा रुखहरू काट्न पाइदैन । रुख कटान आदेश नपाएकै कारण सुदूरपश्चिम प्रदेशका अधिकांस गौरवका आयोजनाका काम अघि बढ्न सकेका छैन । तर, हमालले अतिक्रमणका नाममा सुकुटी नालमा रहेका प्रतिवन्धीत जामुन, सिमल लगायतका छेउछाउमा रहेका रुखहरू अनुमति विना कटान गरिरहेका छन् ।

जथाभावी वन फडानीका कारण चराचुरुङ्गी, जलचर लगायतको बासस्थान मासिँदै गएको छ वातावरण विज्ञ दीनेश जोशीले भने– नाली अतिक्रमण रुखले गरेको होइन । भौतिक संरचना व्यक्तिहरूले गरेका हुन । रुखलाई जोगाउ“दै ती संरचनाहरू भत्काउनुपर्छ । उनले जथाभावी रुख कटान गर्दा दुर्गामी असर पर्ने बताए ।

उनले नाली सरसफाई गर्दा पनि रुखलाई असर नपर्ने गरि गरिनुपर्ने बताए । रुखका कारण मानिसले स्वच्छ हावापानी पाउनुका साथै माटो र वातावरणमा पर्ने असरलाई जोगाउने गरेको बताउदै– एक ठाउँको रुख काट्दा अर्को ठाउँमा वृक्षारोपण गर्नुपर्ने हुन्छ । उनले सुकुटी नालामा जथाभावी डोजर लगाएर पर्यावरणमा क्षति पुर्याउनु अनुपयूक्त रहेको बताए ।

वातावरणलाई असर नपुर्याउने र रुखहरूको संरक्षण गर्दै हमालले भौतिक संरचना हटाउनुपर्नेमा भएका रुखहरू अनुमति विना कटान गर्दा समेत डिभिजन वन कार्यालयले कुनै पनि कदम अघि बढाउन सकेको छैन ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुली जथाभावी रुख कसैले कटान गर्न नपाउने प्रावधान रहेको बताएपनि स्थानीय तहमा सामुदायिक, नीजि क्षेत्रको वन हटाउने अधिकार स्थानीय तहकै रहेको भन्दै पन्छिए ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भने डोजर नियन्त्रण लिन भनी पत्र पठाउने प्रतिक्रिया दिएको छ ।
धनगढी उपमहानगरपालिकाका अधिकांस स्थानमा नाली मिचेर भौतिक संरचना निर्माण भएका छन् ।

हमालले निर्वाचित भएपछि अतिक्रमित क्षेत्र खाली गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । सुकुटी नालाबाट अभियान शुरु गरेका हमाललाई अतिक्रमण क्षेत्र हटाउन चुनौति रहेको छ । कतिपय स्थानमा उनकै निकटतम भएकाले पनि उनले यो अभियानलाई निरन्तरता नदिन पनि वातावरणमा क्षति पुर्याईरहेको आशंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार