२३ बैशाख २०८१, आईतवार

गेटास्थित प्रस्तावित मेडिकल कलेज : अब अल्मल्याउने काम नहोस्





दुई दशक बढीदेखि चर्चामा रहेको र सात वर्षदेखि भौतिक संरचना निर्माण भइरहेको कैलालीको गेटास्थित प्रस्तावित मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनु पर्ने आम नागरिकको माग रहदै आएमा सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने बताएको छ ।

गत शनिबार धनगढीमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले “गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाइने” प्रतिवद्धता व्यक्त गरेपछि अब यो विषयले सार्थक निकास पाउने अपेक्षा गरिदैछ ।

साढे चार अर्ब रुपैया बढी लगानी भइसकेको र सात सय सैयाको अस्पताल सञ्चालन गर्न सकिने गरेर तीन दर्जन भवनहरु निर्माण भइसकेको भए पनि गेटा मेडिकल कलेज सञ्चालनबारे सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रममा कुनै सम्बोधन नगरेपछि र बजेट वक्तव्यमा समेत कुने रकम विनियोजन नभएपछि आक्रोशित कैलाली सहित सुदूरपश्चिमबासी सडकमा आउन बाध्य भएका थिए ।

यति विशाल भौतिक संरचना निर्माण भइसक्दा पनि सरकारले अहिलेसम्म यसलाई कुन मोडलमा चलाउने भन्ने ठोस निर्णय समेत गरेको छैन । सरकारले नीतिगत प्रबन्ध नगरेका कारण गेटा मेडिकल कलेज सञ्चालनमा अन्योल कायम रहेको छ । सरकारको व्यवहारबाट रुष्ट भएका नागरिकहरु सडकमा ओर्लिएपछि यो विषय एकाएक तातेको थियो । संसदमा आवाज उठ्यो ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ज्ञापन बुझाए । नागरिक स्तरबाट सडकमा प्रदर्शन, धर्ना, हस्ताक्षर संकलन, ज्ञापन लगायतका कार्यक्रम भए । यी सबैको दबावस्वरुप अहिले सरकारले गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनिरहेको छ । यद्दपि अहिले पनि यो छिट्टै बन्छ भन्नेमा ढुक्क हुने अवस्था चाही देखिदैन ।

यतिका वर्षसम्म सरकारले कुनै ठोस मोडल समेत बनाउन रुचि नगरेका कारण गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान चाढै बन्छ भन्नेमा अझैं पनि आशंका रहेका छन् । किनकि, प्रधानमन्त्री, मन्त्रीहरुका बोली दिनहु फरकफरक ढंगले आउने गरेका छन् । पछिल्लो पटक प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले एकमत भएर गेटामा मेडिकल विश्वविद्यालय स्थापनाको मागसहित सरकारको ध्यानाकर्षण गरिसकेको सन्दर्भमा यसलाई गम्भीर रुपमा आत्मसात गरेर सरकारले तदनुरुपको विधेयकको तयारी गर्नुपर्दथ्यो । तर, सरकारले यसप्रति कुनै चासो राखेको देखिएन ।

बरु प्रधानमन्त्री, मन्त्रीहरु, तथा केही नेताहरुको बोलि हेर्दा उनीहरु यसबारे स्पष्ट रहेको महसुस हुनसकिरहेको छैन । त्यसैमा डडेल्धुरामा मेडिकल कलेज स्थापनाको सरकारको घोषणालाई दुई जिल्लाबीचको द्वन्द्वका रुपमा अथ्र्याउने दुर्भाग्यपूर्ण दुस्प्रयास भइरहेका छन् ।

अब कुनै पनि बहानामा गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालन कार्यलाई आलटाल गर्ने प्रयास गरियो भने त्यो अर्को दुर्भाग्य मात्रै हुनेछैन, यहाका नागरिकको आक्रोसमा घ्यु थप्ने काम हुनेछ भन्ने बेलैमा मनन् गर्नु श्रेयकर हुने छ । सुदूरपश्चिम प्रदेशका जनताले दुई दशकदेखि मेडिकल कलेजको चर्चा सुनेभोगेका छन् ।

गेटमा भौतिक संरचना निर्माण हुन थालेपछि छिट्टै मेडिकल कलेज सञ्चालन हुन्छ भन्ने आश गरेका सुदूरपश्चिमेली जनता अहिले निराश हुनुपर्ने अवस्था सिर्जना गरियो, सरकारका तर्फबाट । त्यसैले अब कुनै बहाना बनाएर गेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विषयलाई अन्यत्र मोड्ने प्रयास भयो भने त्यो राजनीतिक नेतृत्वका लागि अत्यन्त प्रत्युपादक बन्ने छ भन्नेमा समयमै सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार