१० श्रावण २०८१, बिहीबार

बटुक र तरुलको स्वादमा पुस पन्ध्रमा रमाए सुदूरवासी




बैतडी / बैतडीसहित सुदूरपश्चिममा पुस पन्ध्रलाई पर्वकारुपमा मनाउँदै तरुल, माणा, बटुक जस्ता खानेकुरा खाएर सुदूरपश्चिमेलीहरु पुस पन्ध्र मनाउदै रमाएका छन् ।

बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम, बाजुरा लगायत सुदूरपश्चिमभरि मनाइने पुस १५ गतेका दिन घर परिवारका सदस्य एकै ठाउँमा जम्मा भएर मिठो मसिनो खाने चलन रहेको छ ।

पुस १५ गतेका दिन तरुल, घ्यु, सेल, माणा, र मासबाट बनाइएका बटुक खाएर घर परिवारका सदस्य जम्मा भएर आईना र बातै सुन्ने चलन रहेको संस्कृत विद् चन्द्रमोहन तिवारीले बताए ।

पुस १५ मा केराका पातमा तावामा राखेर पकाइने चामलको मोटो रोटीलाई कतिपय जिल्लामा ढकाल्ने रोटी पनि भनिन्छ ।

पुस १५ को रातलाई पर्वका रुपमा मनाउने चलन रहे पनि पछिल्लो समय आईना र बातै ( लोक कथा) सुन्ने चलन भने हराउँदै गइरहेको तिवारीले बताए ।

पुस १५ को रात निकै लामो हुने र कागलाई जाडो हुने मान्यता अनुसार पुस १५ गतेको दिन मीठो र तातो खानेकुरा खाएर रातभरि आईना र बातै ( लोक कथा ) सुन्ने चलन रहेको तिवारीले बताए ।

पछिल्लो समय ईन्टरनेट र सामाजिक सञ्जालप्रतिको बढ्दो मोहका कारण आईना र बातै सुन्ने चलन हराउन थालेको सामाजिक अगुवा गोविन्दराज जोशीले बताए । सामाजिक सञ्जालमार्फत पुस १५ गतेको शुभकामना आदान प्रदान हुन थालेको जोशीले बताए ।

सामाजिक सञ्जाल र टिकटकले गर्दा घर परिवारका सदस्य कोही कसैको कुरा सुन्न नरुचाउने गरेको जोशीले बताए । पुस १५ गतेको राति ‘शुनकेशरी बातै’ र ‘डुब्क्या मुल्याकी बातै’ जस्ता कथा सुन्ने चलन रहेको नागरिक समाजका अगुवा गणेश ठकुराठीले बताए ।

पुस १५ गतेका दिन छरछिमेक, इष्टमित्र र छोरी चेलीलाई निम्ता गरेर मिठो मसिनो परिकार खुवाउने चलन रहेको ठकुराठीले बताए ।

पुस १५ गतेबाट रात छोटो हुने र दिन बढ्ने सुदूरपश्चिमेलीहरुमा विश्वास रहेको लोकसंस्कृतिका जानकार डोटीको सिलगढीका धनबहादुर मल्ल बताउछन् । पुस १५ को राति कागलाई चिसो हुने मान्यतासमेत रहेको छ ।

धनगढीमा पनि पुस पन्ध्रका अवसरमा विभिन्न ठाउँमा पुस पन्ध्रको साँझ मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार