१० श्रावण २०८१, बिहीबार

मानव बेचबिखन रोकथाममा कैलाली प्रहरी उत्कृष्ट




धनगढी / कैलाली जिल्ला प्रहरी कार्यालय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उत्कृष्ट बनेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा उत्कृष्ट कार्य गरेवापत सम्मान प्रदान गरेको छ ।

मन्त्रालयद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडा (बास्कोटा) ले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (प्रहरी उपरीक्षक) विश्व अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको सम्मान प्रदान गरे ।

१५ औं मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा यही २० गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले उल्लेखनीय कार्य गरेकोले सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारका १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

१६ वटा मुद्दामध्ये नौ वटा मुद्दा मानव बेचबिखन तथा जबरजस्ती करणीको कसुरमा समेत चलाएको थियो । त्यसैगरी गत एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीया एक बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराएको जनाएको छ ।

सो घटनामा संलग्न अभियुक्तमाथि मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा मुद्दा चलाइएको छ ।

त्यस्तै, सो अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न संघसंस्था संगको सहयोग र समन्वयमा ८६ जना महिला, दुई जना बालक र ३८ जना बालिका गरी एक सय २६ जनालाई सिमा नाकाबाट उद्दार गरी परिवारको जिम्मा लगाएको थियो । भने तीन जना महिला, १७ जना बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेलापारी निजहरूको उद्दार तथा पारिवारिक पुर्नमिलन गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यमा समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

यसका साथै शान्ति पुनस्र्थापना गृह, माईती नेपाल लगायतका संघसंस्थाहरूसंगको समन्वय तथा सहकार्यमा सीमानाकामा निगरानी, उद्दार, राहत, निःशुल्क कानुनी परामर्श, जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलन आदि सेवाहरू प्रदान गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार