२१ बैशाख २०८१, शुक्रबार

बालश्रम रोकथाम प्रयासहरु कागजमै सिमित



धनगढी / एघार वर्षका राम (नाम परिवर्तन) चौधरीलाई होटलमा काम गर्न लागेको एक वर्ष पुग्यो । उनी कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १, सुखड–भजनी रोडस्थित एक होटलमा काम गर्छन् ।

उनका बुवा रोजगारीका शिलशिलामा भारतमा छन् । घरमा उनकी सौतेली आमा छिन् । सोतेली आमाले कुनै हेरचाह नगर्ने भएकाले रामले होटलमा काम गर्नु परेको बताए ।

घरमा सौतेली आमा छिन् । वुवा भारत गएका छन् होटलमा भाडा माझ्दै गरेको अवस्थामा रामले भने– घरमा आमा (सौतेली) ले सधैं गाली गर्नुहुन्छ । कुटपिट गर्नुहुन्छ । त्यही भएर होटलमा काम गरिरहेको छु ।

उनकी आमाको मृत्युपछि उनका बुवाले दोस्रो विहे गरे । उनको सानो भाई छ । आमा वित्नुभयो । बुवाले अर्को विहे गरेर भारत जानुभयो । घरमा सौतेली आमाले मलाई र भाईको हेरचाह गर्नुहुन्न । अनि गुजारा चलाउन होटलमा काम गरिरहेको छु रामले थपे ।

उनका अनुसार होटल मालिकले उनको तलब तोकेका छैनन् । होटलमा दुई छाक खान र बस्न भने दिएका छन् । उनले भने– होटलमा भाडा माझ्ने, सरसफाई गर्ने, ग्राहकलाई खानानास्ता दिने सबै काम गर्नु पर्छ । मालिकले अहिलेसम्म तलब दिनु भएको छैन । भाईलाई पढाई दिन्छु भन्नुभएको थियो, तर अहिलेसम्म भएको छैन ।

उनले आफ्नो पनि विद्यालय जाने इच्छा रहेको बताए । विद्यालय जाने इच्छा त छ, तर कसरी जाउ“ ? पैसा छैन । खानका लागि नै समस्या छ उनले भने ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका धेरै परिवारको जिविकाको प्रमुख साधन नै गिट्टी कुट्नु रहेको छ ।

गत वर्षदेखि फैलिएको कोरोना महामारीका कारण अहिले पनि विद्यालयहरू बन्द छन । विद्यालय बन्द भएका कारण बालबालिकाहरु पनि अभिभावकसंगै गिट्टी कुट्न नदीखोलामा जाने गरेका छन् ।

कैलालीका केही पत्रकारहरु स्थगलत रिपोर्टिङका लागि खुटिया नदी नजिक पुग्दा नदी किनारामा धेरैजना बालबालिका गिट्टी कुटिरहेका थिए । आठ वर्षीया एक बालिका पनि सकिनसकि गिट्टी कुट्दै थिइन ।

उनी स्थानीय एक बोर्डिङ स्कुलमा कक्षा युकेजीमा पढ्ने गरेकी छिन् । विद्यालय बन्द भएका कारण ती बालिका अभिभावकसंगै गिट्टी कुट्न नदीमा पुगेकी थिइन् ।

ती बालिकाले एक हातमा सानो हतौडा समातेकी थिइन् । अर्को हातमा रबरले ढुंगा च्यापेर कुटिरहेकी थिइन । बालिकाकी आमाले भनिन– यो (छोरी) स्कुलमा पढ्छे । अहिले विद्यालय बन्द छ । घरमा पनि कोही हुँदैनन् । एक्लै घरमा राख्नुभन्दा यही आएर गिट्टी कुट्छे ।

बल्मीकै १४ वर्षीया निर्मला धामी (नाम परिवर्तन) पनि खुटिया किनारमै गिट्टी कुटिरहेकी थिइन । उनले विद्यालय बन्द भएका दिन खुटियामा गिट्टी कुट्ने गरेको बताइन ।

उनले भनिन– यही गिट्टी कुटेर हाम्रो परिवारको गुजारा चल्छ । म पनि कापीकलमको जुगाडे गर्न विद्यालय विदा भएको दिन गिट्टी कुट्न आउँछु ।

कानूनतः बालबालिकालाई कुनै पनि प्रकारका शारीरिक श्रममा लगाउन पाइदैन । बाल श्रम रोकथामका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ । बालश्रम रोकथाम सम्बन्धी अन्तर्राष्ट्रिय सन्धीहरुमा हस्ताक्षर गरेको छ । बालश्रम नियन्त्रण गर्नका लागि संघ, प्रदेश, जिल्ला तह र स्थानीय तहमा संरचनाहरु बनेका छन् ।

विभिन्न संघसंस्थाहरु बालश्रम नियन्त्रणका साथै बाल अधिकार संरक्षणका लागि क्रियाशील छन् । तर, समाजमा बालश्रमको अवस्थामा खासै परिवर्तन आएको छैन । पछिल्लो समय कोरोना महामारी फैलिएसंगै बालश्रम रोकथामका लागि प्रयासहरु पनि सुस्त भएका छन् ।

नेपाल सरकार र सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाईनका कैलाली जिल्ला संयोजक हरिलाल चौधरीले बालश्रम तथा बालबालिकामाथि हुने कुनै पनि प्रकारका हिंसा, विभेद रोक्न सरकारले प्रभावकारी कार्यक्रम गर्न नसकेको दाबी गरे ।

उनले भने– पछिल्लो समय कोरोना महामारी बढेसंगै बालबालिकामाथि हिंसा, दुव्र्यवहारका घटनामा बृद्धि भइरहेको छ । बालश्रम बढेको छ ।

उनले स्थानीय तहहरुले प्रभावकारी अनुगमन गरि बालबालिकालाई श्रममा लगाउने व्यक्तिलाई कानून अनुसार दण्डजरिवाना गर्नुपर्ने र बेसहारा बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतको जिम्मेवारी लिनुपर्ने बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पछिल्लो प्रतिवेदनमा बालबालिकामाथि हिंसा, दुव्र्यवहार, विभेदका घटनामा बृद्धि भइरहेको उल्लेख छ । इन्सेकले जारी गरेको सन् २०२१ को जनवरीदेखि जुनसम्मको प्रतिवेदनमा भनिएको छ– छ महिनामा गैरराज्यपक्षबाट ३३ जना बालबालिकाहरु पीडित भएका छन ।

इन्सेकको पछिल्लो प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा बालविवाहको एक, बेचविखनबाट चार, जवरजस्तीकरणीबाट १५, यौन दुव्र्यवहारबाट १२ र शारीरिक दण्डबाट एक जना बालक पीडित भएका छन ।

इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडगराज जोशीले कोरोना महामारीलाई कारण देखाउँदै सरकारले बाल अधिकार संरक्षणमा कमजोरी गरिरहेको बताए ।

कहिले बन्लान्, बालश्रममुक्त स्थानीय तह ?
कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ देखि धनगढीलाई बालश्रममुक्त बनाउने योजना अघि बढाएको थियो । तर, अहिलेसम्म त्यो योजना कार्यान्वयन हुन सकेको छैन ।

धनगढी उपमहानगरपालिका सामुदायिक विकास शाखा अधिकृत टंक बिष्टले भने– श्रमिक बालबालिकाको तथ्यांक संकलन गर्नुपर्ने प्रमुख योजना थियो । कति उमेरका को बालक कहाँ काम गरिरहेका छन् ? उनीहरु कुन ठाउँबाट आएका हुन् ? आदि तथ्यांक संकलन गर्ने र सोही अनुरुप कार्यक्रम बनाउने भनेका थियौ ।

सामुदायिक विकास शाखा अधिकृत बिष्टले उपमहानगरपालिकामा अहिलेसम्म बालश्रमबारे तथ्यांक संकलन हुननसकेको बताए । कोरोना महामारीका कारण सरकारले लकडाउन र निषेधाज्ञा जारी ग¥यो ।

त्यसैले तथ्यांक संकलनको काम अघि बढ्न सकेन उनलाई हामीले यसअघि पनि तथ्यांक संकलन हुन सकेको थिएन नि त ? भन्ने जिज्ञासा राख्दा उनले भने भने– विविध कारणले तथ्यांक संकलन हुन सकेको थिएन । त्यही भएर अहिलेसम्म बालश्रम रोकथाम सम्बन्धी कार्यक्रम पनि बन्न सकेन ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीले कार्ययोजना निर्माणको चरणमा रहेको भए पनि कोरोना महामारीका कारण काम प्रभावित भएको बताइन् ।

सामाजिक विकास मन्त्रालयले बालश्रम मुक्त प्रदेश बनाउने अभियान प्रभावकारी ढंगले अघि बढाउन सकेको छैन । मन्त्रालयका महिला विकास अधिकृत गिरीले भनिन– बालश्रम रोकथामका लागि भनेरै हामीले छुट्टै कार्यक्रम बनाएका छैनौं ।

उनले सडक बालबालिकाको उद्दार गर्ने सम्बन्धी यस वर्ष कार्यक्रम अघि बढाइएको बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार