३ जेष्ठ २०८१, बिहीबार

जहाँ ‘कटुवाल’ कराएबापत गाउँपालिकाले मासिक तलब दिन्छ



गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशी गाउँका ४१ बर्षीय सार्की घलेको विगत पाँच बर्षदेखि पहिचान बदलिएको छ । यस वडाका सबै टोल/गाउँका मानिसहरुले उनलाई राम्ररी चिन्छन्,अनुहार नचिन्नेहरु पनि उनको आवाजबाट परिचित छन् । यस वडामा जब केहीँ कार्यक्रम, बैठक हुन्छ वा कुनै सूचना सम्प्रेषण गर्नु पर्नेछ भने घलेडाँडामा गएर चिच्याउन थाल्छन्, ‘ल है गाउँलेहरु…’ । जब घले डाँडामा पुगेर चिच्याउन थाल्छन्, तब गाउँलेहरु कान ठाडो पारेर कुनै सन्देश आएको पत्तो पाउँछन् । सार्की अहिले सामान्य व्यक्ति होइनन् उनको परिचय बनेको छ सूचनाका सम्वाहक कटुवाल ।

‘हाम्रो वडामा हुने जस्तोसुकै कार्यक्रम, बैठक, भेला, सभासम्मेलन तथा जनचेतनामुलक सन्देश सबै कटुवाल दाईले नै सुनाउने गर्नुहुन्छ । कटुवाल कराएपछि मात्रै गाउँलेहरु कार्यक्रममा आउने गर्छन्,’ वडाध्यक्ष धनकुमार घले भन्छन् । 

इतिहास हेर्दा परापूर्वकालदेखि नै ‘कटुवाल’को मार्फतबाट सूचना आदान-प्रदान गर्ने गरिन्थ्यो । पछिल्लो समय काशी गाउँमा आधुनिक आमसञ्चारका माध्यमको पहुँच पुगिसक्यो । त्यहाँ अधिकांशले टेलिफोन, टेलिभिजन, रेडियोको प्रयोग गर्ने गर्छन् । तर, वडा, गाउँघर, टोलहरुमा हुने कार्यक्रम गतिविधिको सूचनाका लागि भने त्यहाँका स्थानीयहरु कटुवालकै भर पर्छन् । 

वडाध्यक्ष घले भन्छन्, ‘यहाँ हुने कार्यक्रमको बारे कटुवाल नकराएसम्म वडाका कसैले विश्वास नै गर्दैनन् । वडाको सूचनाका लागि जतिसुकै प्राविधिक युग भए पनि अहिलेसम्म कटुवालकै भर छ ।’ सार्की घलेलाई अहिले गाउँका सबैले ‘कटुवाल’भनेर बोलाउने गर्छन् । समय फेरिएसँगै कटुवालहरुले लिने सेवा सुविधा परिवर्तन हुँदैछ । 

कटुवाल घलेले सुनाउँछन्, ‘हामी सानै हुँदादेखि कटुवाल लगाउने चलन थियो । त्यो भन्दाअघि जुगौंदेखिको चलन हो । हामीले थाहा पाउँदादेखि करिब ५ बर्षअघिसम्म कटुवालहरुलाई मासिक धान, मकै, कोदोजस्ता अन्नहरु दिने चलन थियो ।’

२०७२ मंसिरबाट कटुवाल बनेका उनले दुई-तीन बर्षदेखि गाउँपालिकाबाट कटुवाल कराए बापत सेवा-सुविधा पनि पाउँछन् । कटुवाल घले भन्छन्, ‘सुरुमा कटुवाल भएपछि गाउँलेहरु सबैले प्रत्येक घरबाट मासिक एक सय रुपैयाँका दरले पैसा उठाएर दिन्थे । दुई बर्ष भयो पालिकाले मासिक १५ सयका दरले दिन्छ ।’

आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबाट परम्परागत रुपमा गाउँबाट अन्न बटुल्ने कटुवाललाई गाउँपालिकाले मासिक १५ सय रुपैयाँ तलबको ब्यवस्था गरेको छ । घलेजस्तै गाउँपालिकाभित्रका लाप्राक, लापु, उहिया, काशीगाउँ, केरौंजा, गुम्दालगायतका गाउँमा अहिले कटुवालहरु छन् । उनीहरु सबैले गाउँपालिकाबाट मासिक तलब लिने गरेका छन् । 

‘अहिले गाउँका घरघरमा रेडियो टिभी छ । नयाँ पुस्ताले मोबाइलमा इन्टरनेटबाटै देशविदेशका कुराहरु हेर्न, सुन्न देख्न सक्छन् । तर, बुढापाका पुस्ताले नेपाली भाषा बुझ्दैनन् । कटुवाल कराउँदा उनीहरुलाई पनि सहज हुने भयो । हामीले प्रोत्साहन गर्नका लागि मासिक तलब दिने ब्यवस्था गरेका हौं,’ गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ भन्छन् । -NK

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार