१२ श्रावण २०८१, शनिबार

शिक्षक नगर संघर्ष समितिको भेला



धनगढी । सामुदायिक विद्यालयहरूमा कार्यरत निजिस्रोतका शिक्षकहरूको नगर संघर्ष समितिको तेस्रो नगर भेला शनिबार धनगढीमा भएको छ ।

भेलाको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । भेला संघर्ष समितिका अध्यक्ष बालाराम जोशीको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा नगर प्रमुख वडले नगरको शिक्षा सुधारका लागि उपमहानगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गरेको चर्चा गरे ।

उनले नगरमा गुणस्तरिय, सर्वसुलभ शिक्षा कायम गर्नका लागि सबै क्षेत्र जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने– शिक्षकले जिम्मेवारीपूर्ण रुपमा अध्यापन गराउनुपर्छ । विद्यार्थीहरूले नियमित रुपमा विद्यालयमा उपस्थित हुनुपर्छ भने अभिभावकहरूले विद्यालयको गतिविधीमा निगरानी राख्नुपर्छ ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खाती, शिक्षक प्रेम शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षिका दुर्गा कुमारी भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सहसचिव पूर्णबहादुर थापाले गरेका थिए ।

यसैबीच भेलाले अध्यक्ष जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हर्कदेव ढाट, सचिवमा मनिराम चौधरी, सहसचिवमा पूर्ण थापा र कोषाध्यक्षमा इन्द्रमाया गजुरेल चयन भएका छन् ।

त्यस्तै १९ वटै वडामा संयोजक तोकिएको छ । भने गौरीप्रसाद जोशीको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा शिवशंकर चौधरी, डम्बरी सिंह, चन्द्रा महरा र विरेन्द्र विष्ट रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार