१२ श्रावण २०८१, शनिबार

छात्राहरु बिरामी हुन थालेपछि…



डोटी । डोटीको केआईसिंह गाउँपालिकामा रहेको झिमेमालिका माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई टाउको दुख्ने, रिंगटा लाग्ने र बेहोस हुने लगायतका स्वास्थ्य समस्या देखिन थालेपछि सो विद्यालयको पठन पाठन प्रभावित भएको छ ।

झिमेमालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक नरबहादुर कार्कीका अनुसार एक महिनादेखि छात्राहरुमा स्वास्थ्य समस्या देखिन थालेको हो । प्रधानाध्यापक कार्कीले भने,– ‘विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिन थालेपछि पठनपाठनमा समेत प्रभावित भइरहेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुमा यो समस्या बढी देखिएको छ ।’

विद्यार्र्थीहरुमा दैनिकरुपमा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालयले एक जना स्टाप नर्सलाई नियमित रुपमा कामकाज गर्ने गरेर नियुक्त गरेको छ । विद्यार्थीहरुमा ‘मास कल्भल्जन डिस अर्डर’ जस्तो समस्या देखिन थालेको केआइसिंह गाउँपालिका अन्तरगत दुर्गामाण्डौ स्वास्थ्यचौकीका प्रमुख भिष्मराज पाण्डेले बताए ।

स्वास्थ्यचौकी प्रमुख पाण्डेले भने, ‘यो मानसिक रोग भएकाले उनीहरुलाई मनोसामाजिक परामर्शको आवश्यकता रहेको छ । उचित परामर्श मार्फत विद्यार्थीहरुको मनोबल बढाउन सके मात्र उनीहरुको स्वास्थ्य समस्याको समाधान हुन्छ ।’

स्वास्थ्यमा समस्या देखिएका विद्यार्थीहरुलाई अभिभावकको अनुरोधमा विद्यालयले एक हप्ताको लागि विदा दिएको छ । विद्यालय आउदा स्वास्थ्यमा समस्या देखिने गरेको भए पनि घर फर्केपछि आफूहरु पूर्ण स्वस्थ हुने गरेको विद्यार्र्थीहरुले बताएका छन ।

विद्यार्थीहरुको मनोवल बढाउनको लागि विद्यालयले गाउँपालिकासँगको सहकार्यमा विद्यालय नजिकैको कालिका मन्दिरमा पूजापाठ पनि गरेको छ ।

गाउँपालिका उपाध्यक्ष मीना विष्टले भने, ‘पूजापाठले ठिक हुन्छ भन्ने त होइन तर पनि अभिभावकहरुले पटक पटक अनुरोध गर्न थालेपछि पूजापाठ गरिएको हो । विद्यार्थीहरुको उपचारका लागि नियमित रुपमा स्वास्थ्यकर्मी समेत परिचालन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार