४ बैशाख २०८१, मंगलवार

गैरामा डढेलो



डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गैरालगायत जंगल क्षेत्रमा दुई दिनदेखि बन डढेलो फैलिएको छ ।

स्थानीय घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन् ।

दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाइएको सो जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जंगलमा समेत फैलिंदै गएको जोरायल गाउ“पालिका वडा नम्बर १ गोगनपानीका सोपान ओलीले बताए ।

उनले भने– जंगलभरि बन डढेलो फैलिएको छ । समयमै नियन्त्रण गर्न सकिएन भने वरपरका छिमेकी सामुदायिक वनमा समेत फैलिने डर भएको छ ।

वन डढेलोका कारण ती क्षेत्रका सामुदायिक वनमा उम्रिएका स–साना बोट बिरुका साथै जडीबुटीसमेत जलेर खरानी हुन थालेको स्थानीयवासीको भनाइ छ ।


सो क्षेत्रमा रहेका सल्ला, बाज, गुराँस तथा सम्मे, सतुवा, झ्याउ, कुरिलो, तेजपात, कटुकीलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट हुँदै गएका जोरायल गाउ“पालिका–१ का वडासदस्य छपेश मल्लले जानकारी दिए । उनका अनुसार डढेलोका कारण जडीबुटीको क्षतिको यकिन विवरण संकलन गर्न सकिएको छैन ।


अहिले पनि स्थानीयवासी तथा उपभोक्ता समितिका पदाधिकारी मिलेर डढेलो निभाउने प्रयास भइरहेको बताइएको छ । उक्त क्षेत्रमा सल्ला बढी भएको र सल्लाको खोटो जम्मा भएको ठाउँमा डढेलो निभाउन समस्या भइरहेको अर्का स्थानीयवासी कलकबहादुर बोहराले जानकारी दिए ।
ती क्षेत्रमा तीव्र गतिको हावा चल्ने गरेका कारण डढेलो नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष भोजबहादुर मल्लले बताए । उनले भने, ‘जोरायल क्षेत्रमा हिजोआज दिउँसोको समयमा तीव्ररुपमा हावा चल्न थालेका कारण डढेलो निभाउन सकिएको छैन, हामी सबै मिलेर डढेलो नियन्त्रणमा लिने प्रयासमा छौं ।’

उनका अनुसार डढेलो नियन्त्रणमा लिन सो क्षेत्रमा अग्निरेखा बनाउने काम भइरहेको छ । उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जिल्लाका जोरायललगायत अन्य क्षेत्रका सामुदायिक वनमा एक हप्ता पहिलेदेखि आगलागी भएको बताए ।

उनले भने, ‘जिल्लामा यो वर्ष खासै पानी नपरेका कारण झारपात सुकेर डढेलो भएको छ, निभाउने प्रयास भइरहेको छ, सम्भवतः चा“डै नियन्त्रणमा लिने छौ“ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार