३ बैशाख २०८१, सोमबार

भागरथी बलात्कार तथा हत्या घटना : छिटो हत्यारा पत्ता लगाउन माग



धनगढी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा पत्ता लगाएर कानुनी कारबाही गर्न सुदूरपश्चिमका विभिन्न संघसंगठनहरुले माग गरेका छन् ।

विभिन्न संसघसंस्थाहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनी दायरामा ल्याएर कानुन अनुसार कडा भन्दा कडा कारबाही गरी नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् । विज्ञप्तिमा तिब्र गतिमा अनुसन्धान भइरहेको भनेपनि छैठौं दिनसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै दुःख व्यक्त गरिएको छ ।

विद्यालय गएकी एक जना किशोरीको हत्या हुनुले नागरिकको बाँच्न पाउने अधिकार गुमेको पनि नागरिक संगठनहरुले ठहर गरेका छन् । विज्ञप्तिमा भागरथीको हत्याले नागरिक संगठनहरुलाई मर्माहित बनाएको जनाइएको छ ।

इन्सेक सुदूरपश्चिम कार्यालय, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, मानव अधिकार संरक्षण मञ्च, एडजस नेपाल, दलित महिला अधिकार मञ्च, उपभोक्ता हित संरक्षण मञ्च, शिक्षा अधिकार अनुगमन समूह सुदूरपश्चिम, फाया नेपाल, सामाजिक विकास तथा जागरण मञ्च नेपाल याक नेपाल लगायतले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर भागरथीलाई तत्कालै न्याय दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार