११ श्रावण २०८१, शुक्रबार

दुई वटा बोर्डर आउट पोष्ट थप



धनगढी । भारतसंग १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा थप दुई वटा बोर्डर आउट पोष्ट (बीओपी) थपिएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा सशस्त्र प्रहरीको नयाँ बीओपी स्थापना गरिएको हो । यो संगै कैलालीमा बीओपी संख्या १४ पुगेको छ ।
सीमाको सुरक्षा, सीमा क्षेत्रमा हुने अपराध र अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । दुवै बीओपीको मंगलबार उद्घाटन गरिएको छ । लट्ठाघाट बीओपीको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र कैलारी गाउ“पालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।

यसैगरी, कालाकुण्डा बीओपीको प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र वडा नम्बर ७ का वडा अध्यक्ष रामलाल डंगौराले संयुक्त रुपमा उद्घाटन गरे । कैलाली जिल्लामा स्वीकृत बीओपी अनुसार दुई बीओपीको स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जानकारी दिएको छ ।

बीओपीको उद्घाटन गर्नु हुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले सीमा सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा व्यावसायिक ढंगले लाग्न बीओपीमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिए । उनले अहिलेको विषम परिस्थितिमा व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै राज्य र जनताको सुरक्षा गर्ने ठूलो जिम्मेवारी राष्ट्र सेवक सुरक्षाकर्मीको का“धमा आएको बताएका छन् । ‘त्यसैले हामी अनुशासित र कर्तव्यनिष्ठ भएर व्यावसायिक रुपमा आफ्नो काममा लाग्नु पर्दछ’, उनले भने ।

सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गणपति दीपेन्द्र कुँवर, कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार