१४ बैशाख २०८१, शुक्रबार

सरकारले कुरा मात्रै गर्छ, काम गर्दैन



उत्तम कठायत
पूर्व अध्यक्ष
कैलाली उद्योग बाणिज्य संघ


कैलाली उद्योग वाणिज्य संघ देशकै अग्रणी संघको रुपमा रहेको छ । विशेषतः सुदूरपश्चिम प्रदेशको विकासका साथै नेपाल उद्योग वाणिज्य महासंघमा पनि संघको ठूलो योगदान रहेको छ । यो ५० वर्ष पुग्दै गर्दा जसले संघको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, उहाँहरू अग्रजलाई नमन गर्दछु ।
मैले पनि कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेको छु । सुदूरपश्चिम प्रदेशमा अहिले पनि सोचे अनुरुप उद्योगहरू स्थापना हुनसकेका छैनन् । उद्योगहरू स्थापना हुन नसक्नुमा प्रमुख कारण सरकारको भूमिका नै हो । सरकारले कुनै निर्णय गर्छ, तर त्यो कार्यान्वयन गर्दैन । सरकारले उद्यमीहरूलाई आकर्षण गर्न नीति बनाउन सकेको छैन । सरकारले उद्योगी व्यवसायीहरूलाई लगानी गर्ने वातावरण बनाउन सकेको छैन । यसका कारण उद्योग वाणिज्य क्षेत्र जहिले पनि पिछडिएको स्थितिमा छ । सरकार र नीजि क्षेत्र संगै हातेमालो नगरि समग्र आर्थिक विकास हुन सक्दैन भन्ने कुरा सरकारले बुझ्नुपर्ने हुन्छ । नीति निर्माणसंगै सरकारले कार्यान्वयनमा जोड दिनुपर्छ । कस्तो किसिमको नीतिले उद्योग क्षेत्र फस्टाउँछ भन्ने कुरा नीजि क्षेत्रसंग सहकार्य गरेर सरकार अघि बढ्न सक्यो भने उद्योग क्षेत्रको विकास हुनेमा म विश्वस्त छु ।
सरकारले नै सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्यो । त्यही अनुरुप सरकारले सुदूरपश्चिम प्रदेशका लागि अघि बढ्न सक्नुपर्छ । कर छुट, पूर्वाधार विकास, औद्योगिक क्षेत्र निर्माण, जग्गामा छुट लगायतमा सरकारको प्रतिवद्धता हुनुपर्छ । यसो भएमा यहाँको पर्यटन क्षेत्र, उद्योग क्षेत्र, होटल व्यवसाय क्षेत्र माथि उठ्छ । सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय नाका नहुँदा पनि यहाँका उद्योगी, व्यवसायीहरूले कच्चा पदार्थ महँगोमा ल्याएर उत्पादन गर्नुपर्ने अवस्था छ । सरकारलाई हामीले पटक–पटक सुझाव दिएका छौं, तर भाषणमा सरकारले कार्यान्वयन गर्छु मात्रै भन्दै आउँछ । व्यवहारमा त्यो देखिदैन ।
प्रदेशमा नीजि क्षेत्रलाई कसरी संगै लगेर जाने भन्नेमा प्रदेश सरकारले पनि चासो लिएको छैन । जे जति उद्योगहरू स्थापना भएका छन्् र जे जति स्थापना भइरहेका छन्् यी समयको कालखण्ड वा समयको परिस्थिति अनुसार नै हुन । सरकारको नीतिका कारणले उद्योग वाणिज्य क्षेत्र थपिएको भन्ने होइन ।
सुदूरपश्चिम प्रदेशमा अहिले स्थानीय उत्पादन, संस्कृति, कृषि लगायतको प्रवद्र्धन गर्ने उद्देश्यले मेला महोत्सवको आयोजना गरिन्छन््, तर पछिल्लो समय यी महोत्सव रमाइलो मेला जस्तै बनेका छन्् । यसमा नेपाल उद्योग वाणिज्य महासंघले पनि पुर्नविचार गर्नुपर्ने म देख्दछु । उद्योग व्यवसायहरूलाई जति टेवा पुग्नुपर्ने हो, जुन उद्देश्यबाट महोत्सव सञ्चालन भएको हो यसले त्यति प्रतिफल प्राप्त गरेको जस्तो मलाई लाग्दैन । स्थानीय निकायमा उत्पादित सामाग्रीलाई प्रवद्र्धन गर्न महोत्सवले जोड दिनुपर्छ ।
सुदूरपश्चिम प्रदेशमा पर्यटन, जडिबुटी, जलविद्युत, कृषिमा आधारित उद्योगको सम्भावना राम्रो छ । अहिलेसम्म हेर्दा सुदूरपश्चिम प्रदेश भनेको उद्योगीहरूका लागि एउटा ‘भर्जिन’ क्षेत्र रहेको छ । धेरै उद्योग यहाँ स्थापना नभएको अवस्थामा थुप्रै खालाका लघु, साना तथा मझौला तथा ठुला उद्योगहरू स्थापना गर्न सकिन्छ ।
कोरोना महामारीका कारण साना तथा मझौला उद्योगहरूसंगै पर्यटन, होटल क्षेत्रमा प्रभाव परेको छ । खाद्यान्न र हार्डवेयरमा अलिकति कम परे पनि ती क्षेत्रले पनि केही अवस्थामा हतोत्साहित भएका छन्् । सरकारले उद्योगीहरूलाई माथि उकास्न राहतका कार्यक्रम ल्याउनुपर्छ । सरकारले राहतसंगै ब्याजमा सहुलियत, करमा छुट लगायतका योजना अघि बढाए उद्योग क्षेत्रलाई पुनः पुरानै अवस्थामा ल्याउन मद्दत पुग्ने छ ।
कैलाली उद्योग वाणिज्य संघको ५० औं स्वर्ण जयन्तीको उपलक्ष्यमा संघका पूर्वअध्यक्ष, अध्यक्ष, वर्तमान पदाधिकारी, सदस्य, उद्योग व्यवसायी सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छु । अग्रज व्यवसायी तथा उद्योगीहरूको सहयोगले संघले प्रदेशमा आफनो पहिचान बनाउन सफल भएको छ । अझै प्रदेशको विकासका लागि संघले नेतृत्व गरिरहोस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार