५ बैशाख २०८१, बुधबार

खापर दहको पुननिर्माण हुदै



बझाङ । बझाङको थलारा गाउँपालिकाका पर्यटकिय स्थल मध्येको खापर दहको पुननिर्माण कार्य चलिरहेको छ ।

कालापानी खापरदह वनको बीच भागमा अवस्थित दह थलारा गाउँपालिका जलस्रोत व्यवस्थापन परियोजना र स्थानीयको जनसर्वदानबाट निर्माण हुन लागेको हो ।

वरपर हराभरा जंगल र थुम्काकाबीचमा रहेको दहको पुननिर्माण सकिएपछि पर्यटक संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । हाल निर्माणाधिन अवस्थामा रहेको दह पहिले ठूलो ताल भएपनि पानीका मुहान सुक्न गइ ताल क्षेत्र खुम्चिन पुगेको थियो ।

अहिले वरिपरी पर्खाल निर्माण गरि नजिकै रहेको अन्साल्ला भन्ने ठाउँबाट पाइपद्धारा पानी लिएर ताल भर्ने योजना रहेको खापरदह पुनर्भरण रिचार्ज पोखरी आयोजनाका अध्यक्ष नरबहादुर खड्काले बताए ।

ताल संरक्षणका लागि अहिले दुई मिटर उचाई, एक सय १५ मिटर लम्बाइ र एक मिटर चौडाइको पर्खाल निर्माण भइरहेको छ । आगामी असार १२ गतेसम्म सक्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष खड्काले बताए । उनका अनुसार अहिलेसम्म २२ लाख ७८ हजार रुपैया पेश्की लिएर काम भइसकेको छ ।

गाउँपालिका र जलस्रोत परियोजनाको गरि ८७ लाख रुपैया बजेटमा तालको संरक्षण गर्ने लक्ष्य भए पनि अझै योजना अनुसार रकम अभाव हुने देखिएको अर्का स्थानीय लक्ष्मण खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार