१४ बैशाख २०८१, शुक्रबार

संसद विघटन विरुद्ध कांग्रेसको आन्दोलन : वडा स्तरीय विरोध प्रदर्शन तथा सभा



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटन विरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आन्दोलन जारी रहेको छ ।

बिहीबार कांग्रेसले देशभरीका सबै वडाहरूमा विरोध प्रदर्शन तथा सभा आयोजना गरेको छ । बिहीबारको आन्दोलनमा देशभरी करिब छ लाख मान्छे सडकमा उत्रिएको अनुमान गरिएको छ ।
कांग्रेसले यसअघि संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र तथा पालिका स्तरीय विरोध सभा र प्रदर्शन गरिसकेको छ ।

कैलालीमा पनि सबै १३ स्थानीय तहका सबै वडाहरूमा विरोध प्रदर्शन तथा विरोध सभा भएका छन् ।

नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर १ समितिको आयोजनामा भएको विरोध प्रदर्शनपछि कोणसभामा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधि सभा बिघटन गरेर संसदीय लोकतन्त्र, तथा संविधानको नै खिल्ली उडाएको आरोप लगाए ।

प्रदेश सभा सदस्य पन्तले देश कोरोना महामारीबाट आक्रान्त भएको बेला सरकारले प्रानमन्त्री ओलीले दुई तिहाईको दम्भ देखाएर संविधान नै कुल्चेको आरोप लगाए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ कांग्रेसले आयोजना गरेको कार्यक्रममा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भने– केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बर्षको अवधिमा बलात्कारी, चोर, हत्यारा, भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम मात्रै गरेको छ ।

उनले नेपाली जनताले नेकपालाई दुई तिहाई बहुमत दिदा पनि सरकार चलाउन नसकेको चर्चा गरे । उनले भने– सबै कुराबाट असफल भएपछि ओलीले संविधान बिपरित संसद बिघटन गरे ।

विरोध सभामा नेपाली कांग्रेसका नेता क्षितिज भण्डारी, वडा नम्बर ६ आन्दोलन परिचालन समिति सदस्य प्रकाश शर्मा, वडा नम्बर ६ का वडा समिति सभापति डण्डीराज सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार