१२ श्रावण २०८१, शनिबार

गौरीफन्टा नाका छिट्टै खोलिन्छ : प्रधानमन्त्री ओली



धनगढी । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले सुदूरपश्चि प्रदेशका लागि गौरीफन्टा नाका छिट्टै खोलिने बताएका छन् ।

नेकपाको ओलीपक्षले शुक्रबार धनगढीका आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही जनवरी १४ गते परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमणमा गएर गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाका बनाउन प्रस्ताव गर्ने बताएका हुन् । उनले पश्चिमसेती जलविद्युत आयोजना बनाउनका लागि पनि सरकारले पहल गरिरहेको बताए । उनले महाकालीमा आफ्नो सरकारले दोधारा जाँदनीमा चार लेनको पुल बनाउने काम अन्तिम चरणमा पुर्‍याएको बताए ।

बैतडीमा फस्फोरसको खानी समेत सरकारले पत्ता लगाइसकेको बताउँदै प्रधानमन्त्री ओलीले तत्कालै खानी बनाउने योजना रहेको बताए । उनले आफ्नो सरकारले सडक सञ्जाल विस्तारमा समेत लागेको बताउँदै कैलाशमान सरोबर जोड्ने सडक समेत बनाउने योजना ल्याइरहेको बताए । प्रधानमन्त्री ओलीले विकासका लागि संघ सरकारले बजेटको खासै कमी हुन नदिने बताउँदै प्रदेश सरकार प्रभावकारी भएको प्रदेशमा विकास छिटो हुने बताए ।

उनले काम नगरी खेर समय जाने भएकाले प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशमा जान सरकारले प्रतिनिधि सभा विघटनसंगै निर्वाचनको समेत प्रस्ताव गरेको बताए । उनले २०७८ बैशाख १७ र २७ गते दुई चरणमा चुनाव हुने पक्का भएको बताए । उनले प्रचण्ड र माधवलाई १० सिट ल्याएर देखाउन चूनौति समेत दिएका छन् ।

नेकपा अध्यक्ष ओलीले पार्टीको बैठकमा नआएर बाहिर बाहिर बसेर प्रचण्ड र माधव नेपालले सरकारको र पार्टी अध्यक्षको विरोध गरिरहेको बताए । उनले भीम रावल समेतले बैज्ञानिक वन बनाएर वन सखाप पार्ने योजना फेल भएपछि आफ्नो विरोध गरिरहेको बताए । उनले प्रचण्ड र माधव नेपाल आफ्नो परिवार र नातागोताको मात्रै फाइदाका लागि सरकारको विरोध गरिरहेको बताए ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लठ्ठी भाटा लिएर विकास गर्न नदिने प्रवृत्ति प्रचण्ड, माधव र भीम रावललको रहेको बताए । उनले जनादेश लिन प्रधानमन्त्री ओली जनताको माझ आएको बताए ।

नेकपा केन्द्रिीय सदस्य तथा वन तथा वातावरण मन्त्री प्रेम आलेले पनि नेकपाको प्रचण्ड–माधज नेपालको चर्को विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार