मुक्तकमैयालाई न्यानो कपडा वितरण
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुर्झन्नाका मुक्तकमैया परिवारहरूलाई न्यानो सामग्री वितरण गरिएको छ ।

सशक्तिकरणका क्षेत्रमा युवाहरू (एस नेपाल) ले सो मुक्तकमैया वस्तीका एक सय परिवारलाई १÷१ थान ऊनको कम्मल, ऊनको सल र पिभिसि मेट्रेस वितरण गरेको हो । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्रभट्टले सो सामाग्री हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा एस नेपालकी कार्यकारी प्रमुख दिपिका बोहराले एक वर्षमुनीका सुत्केरी, गर्भवति, अपांग र जेष्ठ नागरिकलाई न्यानो सामाग्री उपहार दिएको बताइन् । उनले उपमहानगरपालिकाले न्यानो सामाग्री वितरण गर्दा छुटेका जेष्ठ नागरिक, सुत्केरी, गर्भवति र अपांगहरूलाई सामाग्री उपहार दिएको बताइन् ।
उमेर बढि भएपनि नागरिकतामा ५३ वर्ष मात्रै पुगेका जेष्ठ नागरिक रामदिन चौधरीले न्यानो सामाग्री पाएपछि खुशी व्यक्त गरे । उनले आफ्नो उमेर ७० नाघेको भएपनि नागरिकता बनाउने टोलीले कम उमेर लेखिदिएको हुनाले जेष्ठ नागरिक भत्ता लगायतका सरकारी सुविधाबाट बञ्चित हुँदै आएको बताए । उनले सुविधा पाउन छुटेका आफूहरू जस्तालाई न्यानो सामाग्री दिएको भन्दै खुशी भएको जनाए ।
८० वर्षीय निउटा चौधरीले पनि नागरिकताकै कारण भत्ता पाउनबाट बञ्चित भएपनि न्यानो सामाग्रीम पाएकोमा खुशी व्यक्त गर्दै भत्ता पाउने बनाइदिन माग गरे । सेतो रंगको अपांगको परिचय पत्र पाएका बर्खप्रसाद चौधरीले पनि न्यानो सामाग्री उपहार पाए । उनले आफूले सामान्य कामकाज गर्न सक्ने भएपनि सरकारी सुविधाहरू नपाउने भएको अवस्थामा उपहार पाएकोमा खुशी व्यक्त गरे । सुत्केरी जुना चौधरीले आफ्नो महिने छोरा बोकेर उपहार बुझिन् । उनले न्यानो लुगा र मेट्रेसले छोरा हुर्काउन मद्दत पनि पुग्ने बताउँदै खुशी व्यक्त गरिन् ।
न्यानो सामाग्री हस्तान्तरण गर्दै उपप्रमुख भट्टले मुक्तकमैयाको आयआर्जनका लागि उपमहानगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने बताइन् । उनले धुर्झन्ना मुक्तकमैया वस्ती आफूहरूको प्राथमिकतामा रहेको हुनाले एस नेपाललाई छुटेका परिवारलाई न्यानो सामाग्री वितरण गर्न सिफारिस गरेको दावी गरिन् । उनले आगामी दिनहरूमा उपमहानगरपालिकाले सो वस्तीमा आयआर्जन लगायतका काममा सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
उपमहानगरपालिकाको वडा नम्बर १७ का वडाध्यक्ष माधव रानाको अध्यक्षतामा वितरण कार्यक्रम सम्पन्न भएको थियो । उनले वडा कार्यालयले नै सो न्यानो सामाग्री वितरणको मापदण्ड बनाएको बताए । कार्यक्रम सञ्चालन एस नेपालका कार्यक्रम संयोजक नित्यानन्द जोशीले गरेका थिए ।




