सुकुम्बासी लगत संकलन इकाई स्थापना
धनगढी । धनगढी उपमहानगरपालिकाले सोमबार धनगढीमा सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले सोमबार एक संक्षिप्त कार्यक्रमबीच सो इकाई कार्यालयको उद्घाटन गरे । लगत संकलन इकाई कार्यालय धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा स्थापना भएको छ ।
भूमिहीन सुकुम्बासीलाई जग्गा हस्तान्तरणको प्रकृया थाल्न र भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको सबै काम यसै कार्यालयबाट संचालन हुने नगर प्रमुख नृपबहादुर वडले बताए ।
“धनगढी उपमहानगरपालिकाले कानुनमा ब्यबस्था भए अनुसार स्थानीय तहको सहजीकरण समितिले काम थालेको छ” सो अवसरमा नगरप्रमुख वडले भने– नगरमा रहेका भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण गरिने छ ।
उनले बिवादरहित ढंगले काम थाल्न इकाईमा खटिएका कर्मचारीहरूसंग आग्रह गरे । उनले भने– लगत संकलन इकाई कार्यालय लागि जनशक्तिको ब्यबस्थापन गरिएको छ ।
नगर उपप्रमुख भट्टले भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण र लालपुर्जा हस्तान्तरण गर्ने कार्यमा सबै पक्षको सहयोग आवश्यक भएको बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्त, वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातली, भूमिसम्वन्धी समस्या समाधान आयोग स्थानीय तह समन्वय समितिका सदस्य पुष्कल कर्माचार्य लगायतले मन्त्व्य व्यक्त गरेका थिए ।