१० श्रावण २०८१, बिहीबार

‘फोहोर व्यवस्थापनका लागि रणनीतिक योजना चाहिन्छ’



धनगढी । रणनीतिक योजना सहित सरसफाईमा विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

उनीहरुले शहरी, शहरोन्मुख र ग्रामीण क्षेत्रमा फरक फरक रणनीतिक योजना बनाएर सरसफाई अभियान चलाउनुपर्ने बताएका हुन् । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिमले शुक्रबार धनगढीमा आयोजना गरेको सरसफाई, दीगो विकास लक्ष्य ६.२ र मानव अधिकार सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रमका सहभागीहरुले सरसफाईको अभावमा शहरी क्षेत्र कुरुप हुँदै जानुका साथै त्यसको ग्रामीण क्षेत्रमा समेत पर्न थालेको बताए । उनीहरुले शहरी, शहरोन्मुख र ग्रामीण क्षेत्र फरक फरक रणनीतिक योजना बनाएर फोहोर व्यवस्थापन गर्दा दीगो रुपमा सरसफाई हुने बताए ।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मोहन जोशीले विकासका नीति, कार्यक्रम र योजना बनाउँदा नै मानव अधिकारलाई ख्याल गर्नुपर्ने बताए । उनले सरसफाई विषय समेत मानव अधिकारसंग जोडिएको हुनाले सरसफाईका कार्यक्रमहरु सञ्चालन गर्दा मानव अधिकारलाई पनि ख्याल गरिनुपर्ने बताए ।

सरसफाई तथा खानेपानी उपभोक्ता महासंघ कैलालीका सचिव गंगा दुलालले ग्रामीण क्षेत्रहरुमा पनि उपमहानगरपालिकाले फोहोर संकलन गर्नुपर्ने बताए । उनले बाढी प्रभावित क्षेत्रमा उच्च धारा जस्तै उच्च चर्पी पनि बताउन आवश्यक रहेको बताए । बाढी आएर सेफ्टी ट्यांकी भरिदा दिशा पिसाब छतालुल्ल हुँदा सो क्षेत्रमा हैजा जस्ता रोग फैलिने गरेको उनले बताए ।

गैसस महासंघ कैलालीका सचिव चेतमान साउँदले जतातजै फोहोर फाल्ने प्रवृत्तिलाई अन्त्य गर्न नगरपालिकाले घरबाटै फोहोर संकलन गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले नागरिकले शहरको विभिन्न ठाउँमा फोहोर फाल्ने र नगरपालिकाले त्यहाँबाट फोहोर उठाउने गर्दा शहरीक्षेत्रमा दुर्गन्ध फैलिने गरेको बताए ।

धनगढी उपमहानगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख टंक विष्टले नगरपालिकाले फोहोर संकलन, प्रशोधन र निस्कासन व्यवस्थापन गर्नका लागि फोहोर मैला व्यवस्थापन केन्द्र बनाउने प्रयास गरिरहेको बताए । उनले धनगढीमा दैनिक ६२ टन फोहोर उत्पादन भइरहेको भएपनि नगरपालिकाले दैनिक अहिले १६ टन व्यवस्थापन गरिरहेको बताए । उनले धनगढीका शहरी क्षेत्रमा मात्रै दैनिक ३२ टन फोहोर उत्पादन हुने गरेको बताए ।

उत्पादन हुने फोहोर मध्ये ६५ देखि ७५ प्रतिशतसम्म नागरिकले घरमै व्यवस्थापन गर्न सक्ने खालका फोहोर हुने गरेको विष्टले बताए । उनले नगरपालिकाले २५ देखि ३५ प्रतिशतसम्म फोहोर व्यवस्थापन गर्नुपर्ने देखिएको उनले बताए । नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने फोहोरहरु मध्ये पनि २० देखि ३० प्रतिशत फोहोर खरिद विक्री हुने (धातु, काँच र प्लाष्टिक) रहेको विष्टले बताए । उनले पाँच प्रतिशत फोहोर मात्रै उपमहानगरपालिकाले डिस्पोज गर्नुपर्ने बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका हुम भण्डारीले सरसफाई र दीगो विकास लक्ष्य ६.२ सम्बन्धी कार्यपत्र र धनगढी उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विष्टले उपमहानगरपालिकाले सरसफाई तथा फोहोरमैला व्यवस्थापनका लागि गरिरहेको प्रयासबारे कार्यपत्र प्रस्तुत गरेका थिए । गैसस महासंघका सुदूरपश्चिम ईञ्चार्ज भव रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन महासंघका प्रदेश अध्यक्ष देवी खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार