१० श्रावण २०८१, बिहीबार

राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रममा न्युन सहभागिता



धनगढी । कैलाली जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रियामा सहभागिता न्युन रहेको छ । गृह मन्त्रालयद्वारा राष्ट्रिय परिचय पत्रका लागि वैयक्तिक तथा जैविक विवरण दर्ता कार्यक्रम शुरु भएको चार महिना भइसक्दा पनि सहभागिता बृद्धि हुननसकेको कैलाली जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयले कैलालीमा गत भदौ महिनादेखि जिल्ला प्रशासन कार्यालयभित्रै वैयक्तिक तथा जैविक विवरण दर्ता कार्य शुरु गरेको थियो । राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्ने उद्देश्यले संकलन गरिएको राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्म व्यक्तिगत विवरण दर्ताको संख्या न्यून रहेको छ ।

सबै नेपाली नागरिकहरूको वैयक्तिक तथा जैविक विवरणलाई केन्द्रीकृत रुपमा भण्डारणसहित सबै परिचय खुल्ने र नदोहोरिने गरी बहुपयोगी राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गर्ने संघीय सरकारको उद्देश्यअनुरुप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले दैनिक करिब ५० को हाराहारीमा मात्रै वैयक्तिक तथा जैविक विवरण दर्ता भइरहेको बताए । सूचना अधिकारी जोशीका अनुसार चार महिनामा हालसम्म वैयक्तिक तथा जैविक विवरण दर्ता गराउनेको संख्या दुई हजार ३१ मात्र पुगेको छ ।

सूचना अधिकारी जोशीले भने– हामीले दैनिक एक सय ५० जनाको वैयक्तिक विवरण दर्ता गराउने लक्ष्य लिएका थियौं । अहिले संकलन भइरहेको तथ्यांक आधारमा यो एकदमै न्यून संख्या हो ।
सूचना अधिकारी जोशीका अनुसार दर्ता शुरु गरेको पहिलो दिन भदौं १ गते सात जना मात्र वैयक्तिक विवरण दर्ता गराउन सहभागी भएका थिए । भदौ महिनाभरी ३२ जनाले मात्र राष्ट्रिय परिचयपत्र बनाएका थिए ।

त्यस्तै, असोजमा सात सय सात, कार्तिकमा पाँच सय ५५ र मंसिर १ गतेदेखि २४ गतेसम्म सात सय ३७ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन् ।

सूचना अधिकारी जोशीले हरेक क्षेत्रमा एउटै कार्डबाट काम गर्न सकिने बहुउपयोगी राष्ट्रिय परिचयपत्रका लागि वैयक्तिक तथा जैविक विवरण दर्ता गराउनुपर्ने बताए ।

राष्ट्रिय परिचयपत्रबारे प्रचारप्रसारको कमीले गर्दा विवरण दर्ता गराउन ध्यान नपुगेको र यसले गर्दा हरेक वर्गका मानिस यसबारे अनविज्ञ रहेको उनको भनाई छ ।

‘नया“ नागरिकताको प्रमाणपत्र लिने व्यक्तिले मात्रै राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्ने समाचार बाहिर पुगेको छ, तर यसबारे प्रचारप्रसारको अभाव छ । ग्रामीण वस्ती लगायत सबै क्षेत्रका सर्वसाधारणलाई उपयोगी हुने कार्डका बारेमा जानकारी गराउन विभिन्न माध्यमको प्रयोग गर्न आवश्यक छ’ उनले भने ।

उनले नया“ नागरिकता लिने, नागरिकताको प्रतिलिपि लिने र राहदानी (पासपोर्ट) बनाउने व्यक्तिहरूले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने गरेको पाइएको बताए । उनका अनुसार हाल कैलाली जिल्ला प्रशासन कार्यालयबाट दैनिक सरदर ५० वटा नया“ नागरिकता तथा नागरिकताको प्रतिलिपि जारी भइरहेको छ ।

उनले भने– वैयक्तिक विवरण दर्ता गराउन जति सजिलो छ, परिचयपत्र प्राप्त गर्न उत्तिकै झण्झटिलो छ, यसले गर्दा पनि सर्वसाधारणले चासो नदेखाएको हुन सक्छन् । एक हिसाबले राष्ट्रिय परिचयपत्रका बारेमा सर्वसाधारणले जानकारी पाएका छैनन् । यसका बारेमा प्रचारप्रसार गर्नुपर्ने आवश्यक औल्याउन सकिन्छ ।

त्यसैगरी, नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने नेपाल सरकारको लक्ष्य छ । सो प्रणालीबाट प्राप्त हुने तथ्यांकले नीति तथा योजना निर्माणमा समेत प्रयोग गर्न सकिने गरी अगाडि बढाउने सरकारको योजना छ ।

सूचना अधिकारी जोशीले राष्ट्रिय परिचयपत्रबाट मतदाताको परिचयपत्र, जग्गा, जमिन र अन्य सम्पत्तिको अभिलेख, सामाजिक सुरक्षा कार्ड, शैक्षिक प्रमाणपत्र तथा सवारी चालक अनुमतीपत्र लगायतको प्रयोग गर्न सकिने बताए ।

उनले नागरिकको वैयिक्तक तथा जैविक विवरणसहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तयार गरी सुरक्षित भण्डारण, व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने परियोजनाको लागि राष्ट्रिय परिचयपत्र बनाउन शुरु गरिएको बताए ।

उनले भने– राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकताको प्रमाणपत्र, विवाहितका लागि विवाह दर्ता, बसाइसराई लगायतका कागजपत्र आवश्यक पर्दछ ।

उनले नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने र कार्ड आएपछि दर्ता गरिएकै स्थानबाट लिन सक्ने व्यवस्था गरिएको बताए । प्रशासन कार्यालय परिसरभित्रै रहेको दुई वटा काउन्टरबाट अहिले राष्ट्रिय परिचयपत्र दर्ता गरिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार