नाटकसम्बन्धी आधारभूत तालिम शुरु
धनगढी । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौंको आयोजनामा सोमबारदेखि धनगढीमा सात दिने नाटक गर्ने आधारभूत तालिम सुरु भएको छ ।
शिखर आर्टस प्रालि धनगढीको संयोजनमा भइरहेको तालिममा १५ जना सहभागि रहेको जनाइएको छ ।
कार्यक्रममा प्रतिष्ठानका नाटक विभाग प्रमुख निशा शर्माले सुदूरपश्चिमको कला, संस्कृतिलाई संगीत एवं नाटकमार्फत उजागर गर्नका लागि तालिमको आयोजना गरिएको बताए ।
‘मोफसलका कलाकारहरूले आफनो स्थानीय कलालाई अभिनयमार्फत उजागर गराउन भन्ने हाम्रो चाहना हो’ उनले भनिन– नाटक हेर्न र नाटक गर्ने संस्कार बसाउनका लागि पनि यो अभिनय तालिमको आयोजना गरिएको हो ।’
उनले सुदूरपश्चिम प्रदेश सरकारलाई यहा“का कलाकारका लागि कम्तीमा एउटा नाटक हलको व्यवस्थाका लागि पहल गरिने पनि बताइन । ‘अहिले नाटक हल काठमाडौंमा मात्र छ । त्यसैले मोफसलका कला, अभिनयहरू काठमाडौं केन्द्रित भएका छन्’ उनले भनिन– हाम्रो चाहना छ की एक प्रदेश एक नाटक हल निर्माण गरिनुपर्छ ।’
तालिममा सुदूरपश्चिमका अग्रज र संभावना बोकेका नवप्रतीभा नाटकप्रेमीको सहभागिता रहेको कलाकार तथा शिखर आर्टस् प्रालिका प्रबन्ध निर्देशक राजकुमार जोशीले जानकारी दिए । तालिमका प्रशिक्षक नरेन्द्र बराल रहेका छन् ।
प्रतिष्ठानको आयोजनामा आधारभूत अभिनय तालिम पा“च प्रदेशमा सञ्चालन गरिने जनाइएको छ ।