१३ बैशाख २०८१, बिहीबार

कैलालीमा खानेपानी आयोजना निर्माण सुस्त, सवा चार अर्ब चाहिनेमा ३१ करोड मात्र बजेट उपलव्ध




टीकापुर / लम्कीचुहा नगरपालिकास्थित बलिया खानेपानी आयोजना शुरु भएको १४ वर्षपछि धारामा पानी जोडिएको छ ।

चार हजार उपभोक्तालाई लक्षित गरेर बनाइएको आयोजनामा अहिले ६०० उपभोक्ताको धारामा दैनिक आठ घण्टा पानी झरिरहेको छ । पाँच वर्षमा सक्ने गरेर तीन करोड लगानीमा शुरु भएको योजना १५ वर्षमा लागेको छ भने वर्षेनी ससाना बजेट खर्च भैरहेकाले लागत पनि बढिरहेको छ ।

पानी सञ्चालन भएपनि बलिया खानेपानी आयोजनामा च्याम्बरहरु निर्माण भएका छैनन्, सडकको एकतर्फी लाइन मात्रै छ अर्कोतिर बनेको छैन, बलिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष प्रेम न्यौपाने भन्छन्, ‘यस वर्ष १५ लाख आउने कुरा छ यसले कति नै काम हुन्छ र ?’ कैलालीमा बलिया खानेपानीसंगै शुरु भएका र यस अघि नै शुरु भएका अन्य खानेपानी आयोजना भने अझै क्रमागतमा छन् ।

सङ्घीय सरकारको बजेटमा ७७ वटा खानेपानी योजना निर्माणाधिन अवस्थामा रहेका कैलालीमा यस वर्ष बलियाजस्तै छ वटा आयोजना हस्तान्तरणको लक्ष्य छ । कार्यालयका अनुसार सबै आयोजना सम्पन्न गर्न अहिलेको मुल्यांकन अनुसार सवा चार अर्ब बजेट आवश्यक छ तर संघीय सरकारबाट चालू आर्थिक वर्षमा ३१ करोड मात्रै विनियोजन भएको छ ।

‘ट्यांकी बनिसकेका, पाइपलाइन बिच्छयाईसकेका १४ वटा आयोजना बजेट अभावमा रोकिएका छन्’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका इन्जिनियर गणेशप्रसाद उपाध्याय भन्छन्, ‘यसै वर्ष ३९ करोड थप बजेट मागेका छौं समयमै प्राप्त भए बलिया, प्रतापपुर, बाँस्कोटा, दुर्गौली, जोशीपुर लगायतका कैलालीका १४ वटा र कञ्चनपुरका केही आयोजनाहरु पुरा हुनेछन् ।’

करिब आठ लाख जनसंख्या भएको कैलालीमा दुई लाख ९५ हजार जनसंख्या शुद्ध खानेपानीको पहुचमा छ भने बाँकीले हेण्डपम्पकै पानी खाइरहेका छन् । शुद्ध पानी पाएका उपभोक्ता मध्येको ठूलो हिस्सा टीकापुर, लम्की, सुखड, अत्तरीया, धनगढी शिवनगर साना शहरी आयोजनाको छ ।

कैलालीमा सुदूरपश्चिम प्रदेश सरकारबाट पनि ६० खानेपानी आयोजना सञ्चालनमा छन् । प्रदेश सरकारबाट शुरु भएका योजनाहरुमा जग्गामा घेरबार गर्ने, बोरिङ गाडने काम भैरहेका छन् ।

प्रदेश सरकारले गेटा बिजौरा, भजनी राजीवस्ती जस्ता योजनामा शुरुवातमै दुई/दुई करोड बजेट विनियोजन गरेको र यसरी नै आवश्यक बजेट विनियोजन गरेमा संघको तुलनामा छिटै सम्पन्न हुने इन्जिनियर उपाध्याय बताउछन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कैलालीका अध्यक्ष नेत्रप्रसाद खनाल खानेपानी योजना शुरु हुदा सरकारी पक्षले बनाएका योजना र कार्यान्वयन लक्ष्य अनुसार कुनै योजना पनि बन्न नसकेका र तीन तहको सरकार बनिसकेपछि पनि खानेपानीमा ध्यान नदिदा योजनाहरु अलपत्र परेका बताउछन् ।

उनी भन्छन्, ‘सबै तहको लगानीमा जनतालाई छिटो शुद्ध खानेपानीको व्यवस्था मिलाउन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार