४ जेष्ठ २०८१, शुक्रबार

सडकको बास



चुरे (कैलाली) । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ पट्रेनीका नरभान धामी विगत एक हप्तादेखि पालमुनि बसिरहेका छन् । वडा नम्बर ५ कै सडक छेउमा बेल्चप्लान भन्ने स्थानमा नेपाल रेडक्रस सोसाईटी कैलालीले उपलब्ध गराएको पालमुनि उनी बसेका छन् ।

साउन १७ गते (शुक्रबार) राती उनको घरको छेउबाटै पहिरो गएपछि उनी विस्थापित भए । उनी भन्छने– ‘पहिरोले बस्तीनै जोखिममा रहेको छ । अहिले रेडक्रस सोसाइटीले दिएको पालको सहारामा सडक छेउमै बसेको छु ।’

उनी दिनभरी वस्तीमा आफनो खेतबारी र पशुचौपाया हेर्न जान्छन् भने रात परेपछि सपरिवार त्यही पालमुनि बिताउँछन् ।

सोही वस्तीका अर्जुनबहादुर धामी पनि अहिले सडक छेउमै पाल लगाएर वर्षातको मौसम विताउने तयारीमा छन् । उनले भने– ‘पानी पर्यो की पहिरोको जोखिम छ । वस्तीमा बस्न सक्ने अवस्था रहेन । त्यसैले वर्षात नसकिएसम्म यही सडकमा बस्छौं ।’

स्थलगत रिपोर्टिङका लागि अनुमोदनकर्मीसहित पत्रकारहरूको एक टोली शनिबार त्यहा“ पुग्दा २५ घरपरिवार सडक छेउमा पाल टाँगेर बसिरहेका थिए । थप चार परिवार पाल टाग्ने तयारीमा थिए । कोही त्यही पालमुनि बस्न आवश्यक कपडाहरु ल्याउदै थिए भने कोही पार्ल मिलाइरहेका थिए ।

सोही बस्तीका जग्गो धामी घर पनि पहिरोले बगाएपछि उनको परिवार विस्थापित भएको छ । उनको घरमा पाँच जनाको परिवार छ । उनले भने– ‘पहिरोले घर लग्यो । अहिले त्यहा“ बस्न सक्ने अवस्था छैन । सरकारले पनि हाम्रा बारेमा सोचेको छैन ।’

चुरे गाउँपालिकाका नेपाली काँग्रेसका नेता गोपाल शाहले गाउँपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७७/७८ को सार्वजनिक सुनुवाई कार्यक्रममा ‘गाउँपालिकाले पहिरोपीडितको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने’ सुझाव दिए । उनले भने– ‘गाउँपालिकाका अधिकांस वस्ती अहिले पहिरोका कारण जोखिममा रहेको छ । कतिपय वस्ती अहिले विस्थापन भइसकेका छन् । तर, गाउँपालिकाले उनीहरुको उचित वसोबासका विषयमा ध्यान दिएको छैन ।’

पहिरोबाट विस्थापित भएपछि सडकमा बसीरहेका यकम थापा मगरले भने– ‘पालमुनि बस्न असहज छ । तर, के गर्नु पहिरोबाट बच्न सडकमा आएर बस्नुपरेको छ ।’ उनले पहिरोबाट विस्थापित भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्नुपर्ने माग गरे । उनले रेडक्रसबाट उपलब्ध गराइएको पाल देखाउँदै भने– ‘यो पालले केही दिन त यही बसोबास गर्न सकौला तर, भोली कसरी त्यही बस्तीमा बस्न सक्छौं ?’

वस्तीमा बसेदेखि बाढी तथा पहिरोको समस्या नझेलेका उनी यस वर्षको लगातारको वर्षाका कारण पीडित भए ।

सोही वडाका धौले बोहराले भने, ‘माथि र तल दुवैतिरबाट पहिरो गइरहेको छ ।’ उनले सबैतिरबाट पहिरो गएपछि सडकको बास भएको बताए । २०५२ सालमा पहिरोका कारण सोही वस्ती बगाएको थियो । त्यतिबेला त्यहाँका बासिन्दा खुटियामा गएर बसेका थिए । उनले बस्ती स्थानान्तरण गरि बाढी तथा पहिरोबाट जोखिममुक्त गराउन सरकारले कार्यक्रम अघि बढाउन आग्रह गरे ।

पट्रेनीका २९ घरका एक सय ५१ जना विस्थापित भएको चुरे गाउँपालिकाका प्रवक्ता नरबहादुर तामाङले बताए । उनले भने– ‘अहिले पुरै घरपरिवार त सडकमै बसोबास गर्न आएका छैनन । हामीले जानकारी पाएसम्म २७ घरपरिवार त्यहाँ (बेल्चप्लान) सडक छेउमा पाल टागेर बसेका छन् भने अन्य घरपरिवार पनि आउने क्रम जारी छ ।’

उनले वडा नम्बर ५ का पट्रेनीसंगै राजवन र गुणीगाउँको वस्ती पनि विस्थापित भएको बताए । उनले भने ‘बस्ती स्थानान्तरण नगरेसम्म समस्या समाधान हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार