३ जेष्ठ २०८१, बिहीबार

संसदीय समितिद्धारा बाढी प्रभावित क्षेत्रको निरिक्षण (फोटो फिचर सहित)




भजनी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोलीले बुधबार कैलालीको बाढी प्रभावित क्षेत्र भजनी, जोशीपुर, गौरीगंगा लगायतका क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

समितिका सभापति हर्कबहादुर कुँवर गोविन्द नेतृत्वमा रहेको टोलीले स्थलगत अध्ययन गरेको थियो । टोलीमा प्रदेश सभा सदस्यहरु दीर्घ सोडारी, अक्कल रावल, महेश जोशी, पूर्णा जोशी, प्रकाश रावल, प्रेमप्रकाश भट्ट, अमर साउद, कृष्ण चौधरी र नेपालीका कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल लगायत रहेका थिए ।

टोलीले बाढी प्रभावित क्षेत्रका साथै बाढीमा परेर तीन जनाको मृत्यु भएको काडाढिक नजिकैको क्षेत्र वरपरको पनि अनुगमन गरेका थियो । काँडाढिकमा बाढीले गर्दा ईश्वर शाह, चक्र विक र इजिकियल चौधरीको मृत्यु भएको थियो ।

समितिलाई स्थानीयले आफ्ना भत्केका घर र बाढीले विगारेको झण्डै तीन किलोमिटर सडक पनि देखाएका थिए । सो सडकका वीचवीचमा ठूला ठूला खाल्डा परेका र ठाउँठाउँमा पुल भत्किएका छन् ।

बाढी प्रभावित क्षेत्रका बासिन्दा अहिले पनि हुलाकी नभत्केको हुलाकी सडकका छेउछाउमा त्रिपाल हालेर बसेका छन् ।

कुसुमघाट क्षेत्रमा कान्द्रा नदीले तटवन्ध भत्काएर बस्ती पस्न थालेको विद्यालय भवन बगाउन थालेकोले तत्काल अस्थायी उपाय गर्न स्थानीयले माग गरेका थिए । त्यस्तै दर्जनौ विगाहामा पानी भरिएर ताल बनेको छ ।

वडा नम्बर ३ का महिला जैसरा धामीले आफ्नो घर भत्कने अवस्थाको घर देखाउदै आफू सहितका दर्जनौ घरको खाद्यान्न भिजेर उम्रने अवस्थामा पुगेको वताइन ।

समितिले भजनी बजारको मोनिस्का होटलमा बाढी पीडित र जनप्रतिनिधिसँग पनि छलफल गरेको थियो । सो छलफलमा समितिले दीर्घकालिन र तत्कालिनरुपमा बाढीबाट बच्ने उपाय खोज्ने प्रयास गरेको थियो । प्रस्तुत छ होटलमा भएको छलफलको संक्षिप्त अंश

बाढीको कारण भारतको बाँध रेग्मी
भजनी सहितका कैलालीमा बाढीले डुवान गर्नु पर्ने मुख्य कारण भारतको कैलाशपुरी वाँध हो नेकपाका स्थानीय नेता रतन रेग्मीले बताए । भजनीबाट २७ किलोमिटर टाढा रहेको सो वाँध बारे केन्द्रीय सरकारले उचित निकास खोज्न नसक्दासम्म यो समस्या सँधै रहन्छ उनले भने ३५वटा ठूला ढोका वर्षातका वेला वन्द गर्ने गरिएको छ ।

उनले त्यो समस्या केन्द्र सरकारले समाधान गर्न सक्दैन भने भजनी सहितका क्षेत्रका डुवान पर्ने घरको उच्च जग बनाउन सरकारले राहत दिनुपर्छ उच्च जग बनाउदा क्षमता अनुसार कसैले पक्की घर त कसैले कच्ची घर बनाउलान । यो सीमा क्षेत्र भएकोले बस्ती स्थान्तरण गर्न मिल्दैन उनले भने उच्च जग बनाउन सरकारले सहयोग गर्नुपर्छ ।

तत्काल चेकड्याम बनाउनुपर्छ नगरप्रमुख चौधरी
छलफलमा भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले पानी प¥यो फेरि पनि भजनी नगरपालिकाका अधिकांश वस्ती बाढीको डुवानमा पर्ने भएकोले केही ठाउँमा तारजालीमा ढुंगा वा वालुवा राखेर उच्च ड्याम बनाउनु पर्ने बताए । उनले भने त्यसका लागि प्रदेश र संघीय सरकारको सहयोग आवश्यक हुने उल्लेख गरे ।

१६७१ परिवार पूर्णरुपमा विस्थापित निमित्त कार्यकारी अधिकृत चौधरी
भजनीका निमित्त कार्यकारी अधिकृत हरिराम चौधरीले भजनीका वडा नम्बर ८, ५, ३, २, ६ र ७ बाढीबाट बढी प्रभावित भएको बताए । उनका अनुसार झण्डै १० हजार घरधरी भएको भजनीमा २४१४ परिवार वाढीबाट प्रभावित भएकोमा १६७१ परिवार पूर्णरुपमा प्रभावित भएका छन् । भने तीन जनाको ज्यान जानुका साथै झण्डै चार हजार विगाहामा गएको धान, तरकारी र मकै क्षति भएको छ । वडा नम्बर ५ र ३ मा रहेका दुईवटा ठूला तटवन्ध भत्किएका छन् ।

चेकड्याम र तटवन्ध आवश्यक छ श्रीपाइली
भजनी नगरपापलका क्षेत्रमा पथरैया, कान्द्रा, काडा, मोहना नदीमा व्यवस्थित चेक डयाम र तटवन्ध नहुँदा ओभरफ्लो भएर डुवान हुने गरेको संविधान सभाका सदस्य हरिराम श्रीपाइलीले बताए । उनले भने हुलाकी सडकमा पर्याप्त मात्रामा पर्याप्त मात्रामा पानीको निकास नहुँदा जग्गा कटान र घरखेत डुवानमा परेका हुन ।
नेता श्रीपाइलीले यहाँका जनताले तत्कालको राहत चाउचाउ, विस्कुट र चिउरा भन्दा स्थायी समाधान खोजेको बताए ।

जनताका माग सम्बोधन गर्न लाग्छौ पूर्वमन्त्री सोडारी
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीले उच्च घर बनाउन, उच्च स्थानमा सामूदायिक भवन र खानेपानीका धारा बनाउन प्रयास गर्ने बताए । उनले भने कुनै विषयमा स्थानीय तहले काम गर्न सक्ला । कुनै प्रदेश त कुनै संघीय सरकारले गर्दा त्यो छुटाएर समस्या समाधान गर्न पहल गरिने छ उनले भने ।

पीडित पक्ष र सरकारलाई बोलाएर निकास खोज्छौ सभापति कुँवर

सो छलफलमा बोल्दै समितिका सभापति हर्कवहादुर कुँवर गोविन्दले भजनी क्षेत्रमा वर्षेनी डुवान,कटान र पटान हुने समस्याको स्थायी समाधान खोज्न समितिले प्रदेश सरकार, भजनी नगरपालिका र डुवान क्षेत्रका प्रतिनिधि बोलाएर छलफल गर्ने प्रतिवद्धता गरे । उनले भने प्रदेश सरकारले नसक्ने कामका लागि सङघीय सरकारलाई पनि पत्राचार गर्ने बताए ।
उनले भने जनताले माग गरे झै हामी पनि चिया बिस्कुट होइन बाढीबाट बच्न स्थायी समाधानका लागि के गर्न सकिन्छ भन्ने उपाय खोजी रहेका छौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार