२० बैशाख २०८१, बिहीबार

विद्यालय सञ्चालन गर्ने तयारी



  • विद्यालय सञ्चालन निर्देशिका बनाउँदै कैलारी
  • संघीय निर्देशन पर्खिदै धनगढी

धनगढी । कोरोना संक्रमणको महामारीबीच कैलालीको कैलारी गाउँपालिका विद्यालय सञ्चालनको तयारीमा जुटेको छ ।

कैलारी गाउँपालिकाले नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण अवधिमा विद्यालय सञ्चालन निर्देशिका बनाउन थालेको जनाएको छ । त्यसका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा सामाजिक विकास शाखा प्रमुख र एक जना विद्यालयका प्रधानाध्यापक सदस्य रहने गरी समिति बनाएर निर्देशिका तयार गरिरहेको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताए ।

मौखिक रुपमा भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्न तयार रहन विद्यालयहरूलाई भनिसकेको र निर्देशिकामा लिखित रुपमा विद्यालय सञ्चालनको मोडल तयार गर्न लागेको बताए । उनले अहिलेको अवस्थाबाट कोरोना संक्रमण दर घटेमा भदौ १ गतेदेखि नै विद्यालय सञ्चालन गर्न सकिने अनुमानका साथ काम गरिरहेको बताए । तर, संक्रमण बढेमा सो मितिबाट विद्यालय सञ्चालन गर्न नसकिने अध्यक्ष चौधरीले बताए ।

“विद्यालयहरूलाई बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सञ्चालन गर्न सकिने विकल्पमा पनि छलफल भइरहेको छ’ उनले भने– गाउँ वा टोलमै कक्षा सञ्चालन गर्ने वा कोचिङ मोडलमा विद्यालय सञ्चालन गर्ने विकल्पमा पनि छलफल भइरहेको छ । हामीले कुन कुन विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषय पनि निर्देशिकामा खुलाउने छौं ।

जुनसुकै मोडेलमा विद्यालय सञ्चालन भए पनि विद्यार्थीहरूबीच भौतिक दुरी कायम राख्ने, मास्क र सेनिटाइजर प्रयोग गर्ने र प्रत्येक कक्षा कोठाकै ढोका अगाडि सावुनपानीले हात धुने व्यवस्था गर्नुपर्ने, विद्यार्थी र शिक्षकबाहेक विद्यालय हाताभित्रै कोही पनि पस्न नपाउने व्यवस्था अनिवार्य गरिने अध्यक्ष चौधरीले जनाए । उनले विद्यालयहरूलाई घेरवार र सरसफाई तथा सेनिटाइजेशनको काम समेत अगाडि बढाउन विद्यालयहरूलाई भनिसकेको बताए ।

कैलारी गाउँपालिकाले गत साउन १ गतेदेखि सम्पूर्ण विद्यालयहरूलाई शिक्षक विद्यालय आउनुपर्ने, विद्यालय प्रशासन सञ्चालन गर्नुपर्ने परिपत्र गरिसकेको छ । अध्यक्ष चौधरीले गाउँपालिकाको परिपत्र अनुसार विद्यालयहरूले विद्यार्थी भर्ना समेत गरिरहेको बताए । उनले भर्ना अभियान साउन मसान्तसम्म सकेर भदौमा विद्यालय सञ्चालन गर्ने गरी काम गर्न विद्यालयहरूलाई निर्देशन दिएको बताए । उनले संघीय सरकारबाट कोरोना संक्रमण अवधिमा विद्यालय सञ्चालन गर्ने निर्देशिकाको ड्राफ्ट आएपछि गाउँपालिकाले तयारी थालेको बताए । उनले सो निर्देशिकामा स्थानीय तहले संक्रमणको स्थिति हेरेर विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था रहेको उल्लेख भएको हुनाले गाउँपालिकाले तयारी गरिरहेको बताए ।

संघीय निर्देशन पर्खिदै धनगढी उपमहानगरपालिका

कैलालीमा कोरोना संक्रमितहरूको संख्या कम देखिएको कैलारी गाउँपालिकाले विद्यालय सञ्चालनको तयारी गरेको भए पनि सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले विद्यालय सञ्चालनको अझै कुनै तयारी गरेको छैन ।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख बिष्णुप्रसाद कोइरालाले संघीय मन्त्रीपरिषद्ले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णय गरेको भए पनि शिक्षा मन्त्रालय र शिक्षा विभागबाट आधिकारिक पत्र नआएको हुनाले विद्यालय सञ्चालन गर्ने विषयमा तयारी नगरेको बताए । उनले आधिकारिक पत्र आएपछि निर्देशन अनुसार विद्यालय सञ्चालनको तयारी गरिने बताए ।

“शिक्षा विभागबाट पत्र नआएसम्म उपमहानगरपालिकाले छुट्टै तयारी गर्न मिलेन” उनले भने– असामान्य परिस्थिति भएकाले विद्यालय सञ्चालन गर्ने केन्द्रिय विषय हो । हामीले छुट्टै गरेमा भोलि जे पनि हुन सक्छ । चिठी आयो भने तयारी गर्छौ ।

उपसचिव कोइरालाले विद्यालय सञ्चालनको विषयमा सरकारले निर्णय गरेअनुसार नै अगाडि बढ्ने बताए । उनले तत्काल विद्यार्थीहरूलाई विद्यालयमा नबोलाउन विद्यालयहरूलाई भनेको बताए । “केन्द्रबाट पत्र आएपछि मात्रै विद्यालयहरूलाई विद्यार्थी बोलाउन पत्र लेख्छौं’ उनले भने– सरकारको निर्णय अनुसार नै उपमहानगरपालिका अगाडि बढ्छ ।

उनले अभिभावक मार्फत् विद्यार्थीहरूलाई पाठ्यपुस्तक पु¥याउने व्यवस्था मिलाएको बताए । उनले कतिपय विद्यालयहरूले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिसकेको बताए । उनले पाठ्यपुस्तक वितरण अन्तिम चरणमा पुगेको बताए ।

धनगढी उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्ने तयारी नगरे पनि नगरमा रहेका विद्यालयहरूले भने आफ्नै तरिकाले कक्षा सञ्चालनको तयारी गरिरहेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर स्थित बाशुदेवी माविका प्रधानाध्यापक नरहरि सापकोटाले विद्यालयबाट क्वारेन्टाइन हटाउने र विद्यालय सेनिटाइज गर्ने काम सकिएको बताए । दैनिक रुपमा विद्यालय प्रशासन सञ्चालन गरिरहेको बताउँदै उनले सरकारको निर्णय परिवर्तन नभएमा तोकिएको मितिमा भर्ना अभियान शुरु गर्ने र कक्षा ११ को परीक्षा भदौ अन्तिम तिर सञ्चालन गर्ने तयारी गरिरहेको बताए । उनले कक्षा ११ को परीक्षाको दिनका लागि कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ बमोजिम तयारी गर्न विद्यार्थीहरूलाई आग्रह गरिएको बताए ।

यद्दपि, केही ठाउँमा समुदायमा समेत संक्रमण देखिएकाले तत्काल विद्यार्थीहरूलाई विद्यालय बोलाउन सकिने स्थिति नबनेको प्रधानाध्यापक सापकोटाले बताए । उनले संक्रमणको खतरा नटरेको हुनाले विद्यालय सञ्चालन गर्न अझै हतार गर्न नहुने बताए । “केही ठाउँमा समुदायमा पनि संक्रमण देखिएकाले बालबालिकालाई संक्रमण हुने खतरा छ’ प्रधानाध्यापक सापकोटाले भने– यस्तो स्थितिमा तत्काल विद्यालय खोल्न हुदैन । भारतबाट आएका मानिसहरू घर गइरहेका छन् । उनीहरूको बालबालिका पनि विद्यालय आउँछन् । विद्यालय खोल्दा विद्यार्थीबाट समुदायमा संक्रमण फैलिने डर कायमै छ ।

विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक दिइसकेको हुनाले टेक्निकल विषय स्वध्ययन गर्न नसके पनि नेपाली, सामाजिक जस्ता विषयहरू विद्यार्थीले स्वध्ययन गर्न सक्ने बताउँदै उनले आफूहरूले पनि विद्यार्थीहरूलाई सो विषयमा दैनिक तीन÷चार पाना लेख्न र पढ्न निर्देशन दिएको बताए । उनले विद्यार्थीहरूलाई थप अध्ययनका लागि टेलिभिजन, भर्चुअल क्लास, इन्टरनेट जे पहुचमा छ, त्यही प्रयोग गरेर अध्ययन गर्न पनि भनिएकोे बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार