३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना संक्रमण भयावह बन्दै



धनगढी । सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना संक्रमण भयावह बन्दै गएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी एक सय ९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित मिडिया व्रिफिङका क्रममा शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ८८, धुलीखेल अस्पतालबाट २७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा ७९ जना सुदूरपश्चिमबासीमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।

प्रवक्ता डाक्टर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका ४३, अछामका २८, कैलालीका नौ र कञ्चनपुरका आठ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यस्तै, धुलिखेल अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २७ जना र सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टी भएको डाक्टर गौतमले बताए । उनका अनुसार शनिबार कैलालीका ८९, बझाङमा ६८, अछाममा २८ र कञ्चनपुरमा नौं जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन, बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाच जना, दुर्गाथली र छव्वीसपाथिभेराका तीन/तीन जना तथा मष्टा गाउपालिकाका दुई जनामा कोरोना पुष्टी भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएका चार हजार छ सय ९४ जना मध्ये तीन हजार १० जना संक्रमण मुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हाल एक हजार छ सय ७५ जना विभिन्न आइसोलशनमा उपचार गराइरहेका छन् । कोरोना संक्रमणबाट हालसम्म सुदूरपश्चिम प्रदेशमा नौं जनाको मृत्यु भइसकेको छ ।

होम क्वारेन्टिनका कारण समुदायमा संक्रमण फैलिने खतरा

भारतबाट आएर होमक्वारेन्टाइनमा बसेका व्यक्तिहरूमा कोरोना संक्रमण देखिन थालेपछि समुदायमा फैलिने चिन्ता बढेको छ । सेती प्रादेशिक अस्पतालमा शुक्रबार कोरोना पुष्टी भएका धनगढीका १६ जना सबै होमक्वारेन्टाइनमा बसेका थिए । उनीहरूले होमक्वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने सावधानी नअपनाएर परिवार र समुदायमा घुलमिल भइसकेको स्थानीयहरूले बताएका छन् ।

सरकारले भारत सहितका देशहरूबाट आएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा राख्न र होम क्वारेन्टाइनमा रहेको दश दिनपछि आरडीटी परिक्षणमा पोजिटिभ देखिएमा पीसीआर बिधिबाट कोरोनाको परीक्षण गर्न भनेको छ । परिवार र समुदायमा घुलमिल भैसकेपछि कोरोनाको परीक्षण गरिने भएकोले समुदायस्तरमा कोरोना फैलिने खतरा बढेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।

पछिल्ला दिनहरूमा भारतबाट आएर होमक्वारेन्टाइनमा बसेका व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ । यसले गर्दा समुदायमा कोरोना संक्रमण हुन सक्ने खतरा बढेकाले होम क्वारेन्टाइनमा पठाउन नहुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

केदारस्युमा लकडाउन

यसैबीच, बझाङको केदारस्यू गाउपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २५ जना र शनिबार ४१ जना होम क्वारेन्टाइनमा रहेका व्यक्तिमा कोरोना पुष्टी भएको छ । संक्रमितहरू वडा नम्बर ६ र ७ का बासिन्दा भएको र उनीहरू सबै भारतबाट नेपाल फर्किएको गाउपालिकाले जनाएको छ ।

केदारस्यु गाउपालिकाका कोराना संक्रमितहरू थापागाउ, भाटसैन, भामचौर, काडाचौर र जसुडालगायतका गाउका स्थानीय हुन् । उनीहरू ८ देखि १२ दिन गाउ“पालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो ।

होमक्वारेन्टाइनमा बस्न भनिए पनि उनीहरूले होम क्वारेन्टाइनमा बस्दाा पालना गर्नु पर्ने नियमहरू बेवास्ता गर्दै सामान्य मानिसझैं समुदायमा घुलमिल भइसकेको स्थानीयले बताएका छन् ।

एकै पटक ठूलो संख्यामा संक्रमितहरू भेटिएपछि गाउँपालिकाले वडा नम्बर ६ र ७ लाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । शनिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकामा पुनः लकडाउन गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकाले वडा नम्बर ६ मा संक्रमण पुष्टि भएकाहरूलाई भाट्सैनमा रहेका चन्द्रोदय माध्यमिक विद्यालय र वडा नम्बर ७ काहरूलाई कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

“संक्रमितहरू भेटिएको वडालाई सिल गर्न सुरक्षाकर्मीहरू परिचालन गरिसकेका छौं’ वडा अध्यक्षसमेत रहेका गाउँपालिका प्रवक्ता लोकेश भण्डारीले भने– अवस्था सामान्य नहुन्जलसम्म गाउँपालिकाभरि लकडाउन गर्ने निर्णय भएको छ ।’

गाउँपालिकाभरि खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुका पसलहरू बिहान ७ देखि १० बजेसम्म मात्रै खोल्न दिइने र एक वडाबाट अर्काे वडामा जानु पर्दा वडाध्यक्षको सिफारिस अनिवार्य हुनु पर्ने निर्णय गरिएको बताए । संक्रमितहरू समुदायमा घुलमिल भइसकेको हुनाले उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नलाई लागि स्वास्थ्यकर्मीहरू परिचालन गरिएको र संक्रमितहरूको सम्पर्कमा आएकाहरूको पीसीआर परिक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताए । परीक्षण गर्नका लागि २ सय थान भीटीएम किट गाउँपालिकामै मौजुद रहेको र अपुग किटका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको अध्यक्ष भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार