२२ बैशाख २०८१, शनिबार

बाढीको प्रकोपः पुरै वस्ती विस्थापित



भजनी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ को एक बस्ती बाढीका कारण विस्थापित भएको छ । कान्द्रा, काँडा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा वडा नम्बर ८ मा एक हजार एक सय ५० घरपरिवार विस्थापित भएका छन् ।

बाढीपीडितहरूलाई हुलाकी सडकको किनारामा पाल टाँगेर राखिएको छ । सोनाफाटाका सुकै डगौराथारुले बाढीका कारण घर फर्किने अवस्था नभएकोले बुधबार बिहानदेखि हुलाकी सडकमा नै बास भएको बताए ।

उनी जस्तै विस्थापित भएका अधिकाँस बाढी पीडितहरू हुलाकी सडकमा आश्रयस्थल बनाएर बसिरहेका छन् । केही परिवार कृष्णध्वज चन्द माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन् । हुलाकी सडकमा अहिले करिब पाँच सय परिवार आश्रय लिइरहेको बताइएको छ । हुलाकी सडकको कृष्णनगरदेखि सोनाफाँटासम्मको उच्च स्थानमा बाढी पीडितहरूलाई राखिएको स्थानीय खेम पाण्डेयले बताए ।

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण वडा नम्बर ८ का प्रायः घरमा दुईतीन फिट पानी भरिएको छ । अन्नपात पानीमा बगेको छ । हुलाकी सडकमा पालमुनि आश्रय लिइरहेका बाढीपीडतहरूले खाना, खानेपानी, सोचालय आदिको निके समस्या भएको बताए ।

वडा नम्बर ८ का वडाध्यक्ष पंकज चौधरीले बाढी पीडितहरूका लागि भजनी नगरपालिकाले राहत सामग्री वितरण गरिरहेको बताए । उनले पहिलो चरणमा बुधबार साँझ हुलाकी सडकमा बसिरहेकालाई चाउचाउ, भुजा र पानी वितरण गरेको बताए । उनले बिहिबार कृष्णध्वज माविमा बसिरहेकाहरूका लागि खाद्यान्न सामग्री वितरण गरेको बताए । उनले बाढी तथा डुबान पीडितहरूको तथ्यांक ंकलन गर्ने कार्य भइरहेको बताए ।

भजनी नगरपालिकोको वडा नम्बर २, ३, ५ र ७ मा गरि दुई हजार दुई सय ६५ घर डुबानमा परेको नगरपालिकालले जनाएको छ ।

टीकापुरमा आठ सय घरपरिवार प्रभावित

टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले मंगलबारदेखि परेको भाी वर्षा र आएको बाढीका कारण आठ सय २५ घरपरिवार प्रभावित भएको बताए । उनले बाढी र डुबानका कारण एक सय घर भत्किएको जानकारी दिए ।

नगर प्रमुख रावलले टीकापुरको वडा नम्बर ६, ७ र ५ का बाढी प्रभावित परिवारलाई नजिकै रहेको विद्यालय र सुरक्षित घरमा राखिएको बताए । उनले अहिले डुवान कम हुँदै गएकाले यकिन तथ्यांक आज (शुक्रबार) सम्म आउने बताए ।

त्यस्तै जानकी गाउँपालिकामा बाढी र डुबानबाट एक हजार घरपरिवार प्रभावित भएका छन । गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले वडा नम्बर ४ र ७ का बाढी प्रभावित परिवारको उद्दार गरी जनता माध्यामिक विद्यालय र सुरक्षित घरमा राखिएको बताए ।

अध्यक्ष चौधरीले वडा नम्बर २ कट्टघरका अझैं १५ घरपरिवारको उद्दार हुन नसकेको बताए । ‘बादी र मगर समुदायकको बसोबास रहेको यो बस्ती दुवैतिरबाट खोलाले घेरिएको छ’ अध्यक्ष चौधरीले भने–अत्यधिक जलमग्न भएकाले त्यस क्षेत्रमा उद्दार टोली पुग्न सकेको छैन ।

जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ घरपरिवार प्रभावित भएको बताए । उनका अनुसार बाढीका कारण ३५ घर भत्किएका छन् ।

त्यस्तै, वडा नम्बर ५ का तीन घर र वडा नम्बर ४ का ६ घरपरिवार विस्थापित भएको अध्यक्ष चौधरीले बताए । उनले बाढीबाट विस्थापित परिवारलाई स्थानीय विद्यालयमा बास गराएको बताए ।

उनले बाढीबाट प्रभावित परिवारलाई उच्च घरमा राखी खानेपानी तथा चाउचाउ लगायतको व्यवस्था गरिएको बताए । उनले भने– वडा नम्बर ४ र ५ मा बाढीले बढी प्रभाव पारेको थियो । त्यहाँ गाउँपालिकाले ५०÷५० पेट्टी चाउचाउ र पानी पठाएको थियो भने स्थानीयहरूलेनै खाना लगायतको व्यवस्था गरेका थिए ।’ उनले अहिले पानीको सतह घट्दै गएको बताए ।

धनगढीका स्थानीय आन्दोलित

धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का स्थानीयहरू आन्दोलित भएका छन् । लगातारको वर्षाका कारण घरभित्रै पानी पसेपछि उनीहरू आन्दोलित भएका हुन ।

धनगढी उपमहानगरपालिका वडा नम्वर २ र ३ मा डुबानको समस्या सबैभन्दा बढि भएपछि स्थानीय आन्दोलित भएका हुन् ।

पानीको निकास नहुँदा वडा नम्बर ३ को पानी वडा नम्बर २ मा पसेको र कैयौँ घर पसल डुबानमा परेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

काठेपुल बग्यो

कैलालीको कैलारी गाउपालिका वडा नम्बर ७ बसन्तास्थित कटैनी नदीमा बनाइएको काठेपुल बाढीले बगाउँदा आवतजावत ठप्प भएकोे छ ।

बुधबार आएको बाढीले आधा पुल भत्काएर बगाएको स्थानीयले बताए । पुल बगेपछि ओहोरदोहोर ठप्प भएको वडा नम्बर ७ वडा कार्यालयका सचिव गणेश चौधरीले जानकारी दिए । “बाढी आएपछि स्थानीयले बाधेर पुल जोगाउने प्रयास गरेका थिए, तर सफल भएनन्” उनले भने ।

कटैनी नदीमा बनाइएको पुलमार्फत सो वडास्थित रतनपुर, मोहनपुर, तिघरी, शिवपुर, नारायणपुर, बसन्ताका गाउँका स्थानीय आउजाउ गर्दै आएका थिए । पुल भत्केपछि कटैनी नदी पारि रहेका गाउँका स्थानीयलाई वडा कार्यालयसम्म आउजाउ गर्न कठिनाइ भएको छ ।

घोडाघोडी जलमग्न

अविरल वर्षाका कारण कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । वर्षापछि आएको वाढी कारण अधिकांश बस्ती जलमग्न भएका हुन । सडक बनाउदा पानी निकासको लागी नालीको ब्यबस्थापन नहुदा पानीको निकास बन्द भई केही बस्तिहरू डुबानमा परेका हुन् ।

धनगढीमा उच्च वर्षा

यस वर्ष वर्षायाम शुरु भएदेखि धनगढीमा बिहिबार उच्च वर्षा भएको छ । हावापानी फिल्ड कार्यालय अत्तरियाले धनगढीमा वर्षाको मौसम सक्रिय भएदेखिनै बिहिबार उच्च वर्षा भएको जनाएको छ ।

कार्यालयका अनुसार बुधबार राती ८ः४५ देखि बिहिबार साँझ ५ बजेसम्म धनगढीमा दुई सय १२ दशमलब पाँच मिलिलिटर वर्षा भएको छ । बिहिबार देशभरीमै सबैभन्दा बढी वर्षा धनगढीमा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फिल्ड कार्यालयका प्रमुख सिंग्ल चौधरीले भने –‘वर्षा सक्रिय भएदेखिकै धनगढीमा बिहिबार उच्च वर्षा भएको छ । अझै मौसम सक्रिय भएकाले सर्तकता अपनाउन जरुरी छ ।’ धनगढीमा यस अघि साउन ९ गते ८३ दशमलब चार मिलिलिटर, १३ गते ८९ दशमलब ९ मिलिलिटर वर्षा भएको थियो ।

अनुमाेदन टीमकाे सहयाेगमा

साउन १६ गतेकाे पत्रिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार