१८ बैशाख २०८१, मंगलवार

हुलाकी सडकः पहिलो चरणको दुई किलोमिटर सडक निर्माण प्रक्रिया अघि बढेन



धनगढी । कैलालीको हुलाकी सडक आयोजना अन्र्तगतको पहिलो चरणको दुई किलोमिटर सडक निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन ।

वन विभागले अघिल्लो वर्ष साउन १३ मा दोस्रो पटक पेश गरिएको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरे पनि थप प्रक्रिया डिभिजन वन कार्यालय धनगढीले अघि नबढाउँदा काम अघि बढ्न नसकेको जनाइएको छ ।

‘विभागले अघिल्लो वर्षको साउन १९ गते हुलाकी सडक योजना कार्यालयलाई पत्राचार गर्दै दोस्रो पटक बुझाईएको प्रतिवेदन स्वीकृत गरिएको जनाएको थियो, तर त्यसपछिका आवश्यक प्रक्रिया थाल्न भने डिभिजन वन कार्यालय धनगढीले ढिलाई गरेको छ’ हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी पदम मडैले भने– ‘रुखहरुमा ‘नम्बरिङ’ गरिसकिएको छ, र हामी कटान आदेश पर्खिरहेका छौं ।’

उनले वन कार्यालयले आवश्यक प्रक्रिया अघि नबढाएको गुनासो गरे । उनका अनुसार गत वर्ष फागुन १० गते नम्बरिङ गर्न आदेश आएपछि ११ गतेदेखि सर्भे गरिएको थियो ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार बसन्ता करिडोर क्षेत्रको दुई किलोमिटमा सडक विगतमा ३० मिटर चौडा सडक निर्माण गर्न भनिएकोमा परिमार्जन गर्दैै १२ मिटर तय गरिएको थियो । सो प्रतिवेदन अनुसार सडक क्षेत्रको १८ मिटर चौडाई घटाएपछि विगतमा चार सय एक रुख काट्नुपर्नेमा अहिले एक सय २१ वटा रुख मात्रै काट्नु देखिएको छ । ‘रुख कटान आदेशका लागि संघिय वन मन्त्रालयले आदेश दिनुपर्ने भए पनि आवश्यक प्रक्रिया सुरु गरिएको छैन’ उनले भने ।

सो क्षेत्रमा वन्यजन्तु ओहोरदोहोरका लागि ‘ओभर ब्रीज’ र ‘अन्डर ब्रीज’ बनाइए मात्रै राजमार्ग निर्माणको कार्यलाई अगाडि बढाउन दिने डिभिजन वन कार्यालय कैलालीले अडान लिएको थियो ।

हुलाकी सडक आयोजनाका एक कर्मचारीले अनुमोदनसंग भने– वैज्ञानिक वनका नाममा धमाधम डिभिजन वन कार्यालयले रुख कटान आदेश दिइरहेको छ । तर, राष्ट्रिय गौरवको आयोजनाको निर्माणमा वननै बाधक बनेको छ ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले ‘नम्बरिङ लगायतका सम्पूर्ण काम भइसकेको र विभागमा टीप्पणी आदेश पठाउने प्रक्रियामा रहेको’ बताए । उनले विभागमार्फत मन्त्रालयमा सो टीप्पणी आदेश जाने बताए । उनले भने– लकडाउनका कारण टिप्पणी आदेश पठाउन सकिएको थिएन ।

विगतमा वन कार्यालयले बसन्ता जैविक मार्ग वन्यजन्तुका लागि संवेदनशील क्षेत्र भएकाले वन्यजन्तुमैत्री संरचना निर्माण गर्ने अडान कायम राख्दा काम ठप्प रहेको थियो । बसन्ता जैविक मार्ग भारतको दुधवा नेसनल पार्कसँग जोडिएको छ । दुधवा नेसनल पार्क हुँदै नेपालको बसन्ता वन, चुरेसम्म वर्षको दुई मौसममा हात्ती, बाघ तथा अन्य प्रजातिका वन्यजन्तु ओहोरदोहोर गर्दै आएको छन् ।

हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी मडैका अनुसार वन्यजन्तुमैत्री संरचनाका लागि डिपिआर गरेर प्रतिवेदन पठाइसकिएको छ । सो प्रतिवेदनमा बन्यजन्तुमैत्री संरचना बन्ने स्थान पनि तोकिएको छ । तर, सो प्रतिवेदन पनि अहिलेसम्म भएको छैन ।

हुलाकी सडक निर्माण सुरु भएको १० वर्ष हुँदा पनि बसन्ता करिडोरमा देखिएको अन्यौलकै कारण काम अगाडी बढ्न सकेको थिएन । अहिले सो अन्यौल्य हटिसकेकाले अन्य प्रक्रिया थाल्दै निर्माणलाई तिव्रता दिनुपर्ने सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार