७ बैशाख २०८१, शुक्रबार

वर्षेनी नदी कटानको त्रास



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का बासिन्दा हरेक वर्ष मोहना नदीको कटानबाट हैरान भइसकेका छन् । नदीले हरेक वर्ष धार परिवर्तन गर्दा स्थानीयले थप सास्ती र सन्त्रास भोगिरहेका छन् ।

स्थानीयहरु भन्छन्– नदी नजिक खुला चौर तथा निर्माणाधीन पुलका कारण मोहना नदीले हरेक वर्ष धार परिवर्तन गरिरहेको छ । कतिवेला नदीको धार वस्तीतिर फर्किन्छ भन्ने डर भइरहन्छ ।

चार÷पाँच वर्षअघि कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने पुलको पश्चिममा रहेको पहिलो र दोस्रो पिल्लरको बीचबाट बग्दै आएको मोहना नदीको भँगालो अहिले धार परिवर्तन गर्दै तेस्रो पिल्लरसम्म पुगेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीय दुर्गाप्रसाद ओझाले भने– मोहना नदीले हरेक वर्ष सात÷आठ मिटर कटान गरिरहेको छ । उनले तीन वर्षको अवधिमा मोहना नदीले आठ दश विघा जग्गा कटान गरिसकेको बताए । उनले भने– यो क्रम रोकिएन भने शान्ति सामुदायिक वन र भर्खरै निर्माण गरिएको गौशाला नै सखाप हुने छ ।

स्थानीयका अनुसार ‘बिगतमा पश्चिमतिरबाट बग्ने मोहना नदी अहिले पूर्वतिरबाट बगिरहेको’ छ । स्थानीय चन्द्र चौधरीले भने– हरेक वर्ष मोहना नदी कटानका कारण वस्तीमा बाढी पस्ने सन्त्रास कायमै छ । नदी कटानका कारण शान्ति सामुदायिक वनको केही भाग मोहना नदीमै समाहित भइसकेको छ ।

मोहना नदीले कहिले कञ्चनपुरतिरको जग्गा कटान गरिरहेको छ भने कहिले कैलालीतिरको जग्गा कटान गरिरहेको छ । स्थानीयका अनुसार ‘धेरै वर्षा भएमा नदीले कतातिर बढी क्षति पु¥याउँछ भन्ने टुंगो नै हुदैन । पछिल्ला तीनचार वर्षदेखि मोहना नदीको धार कैलालीतिर फर्किएको छ ।

पछिल्ला केही दिनदेखि कैलालीसहित सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण मोहना नदीको बहावमा पनि घटबढ हुने क्रम जारी छ । बिहीबार स्थलगत रिपोर्टिङका लागि मोहना नदी किनारमा पुग्दा पानीको वहाव बढेको देखिन्थ्यो । खोलामा महिलाहरु माछा मारिरहेका थिए । पुल नहुँदा मानिसहरु डुंगाको सहारामा नदी पार गरिरहेका थिए ।

मोहना नदी अहिले गौशाला र खुल्ला चौरको भागतिरै बगिरहेको छ । स्थानीयहरुले भने– अहिले भारी वर्षा भएको छैन । लगातार तीनचार दिन वर्षा हुने हो भने मोहना नदीको बहावले गौशाला र शान्ति सामुदायिक वनमा बढी असर गर्ने खतरा छ ।

स्थानीयले मोहना नदीको कटान नियन्त्रण गर्न गत वर्ष बासका काठ राखेर तटबन्धको प्रयास गरेका थिए । स्थानीयले भने– मोहना नदीले जग्गा कटान नहोस् भनेर हामीले नदी किनारमा बाँसका काठहरु राखेर तटबन्ध बनायौं, तर गत वर्ष नै तीनचार मिटर कटान गर्यो ।

मोहना नदीको कटान तथा खोलानाला अतिक्रमणका कारण धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीयले हरेक वर्ष डुबानको समस्या झेल्दै आएका छन् । स्थानीय चन्द्र चौधरीले मोहना नदीबाट हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न तटबन्धनका कार्यक्रम लागु गर्नुपर्ने बताए । उनले भने– फाप्ला क्रिकेट खेल मैदानसम्म अहिले तटबन्धन गरेका कारण नदीबाट हुन सक्ने जोखिम केही कम भएको छ, तर यतातिर अहिलेसम्म काम अघि बढन सकेको छैन ।

२०७० सालदेखि भएका संघीय संसदको निर्वाचन होस् वा पछिल्लो स्थानीय तहको निर्वाचन अथवा प्रदेश सभा सदस्यको निर्वाचनताका प्रत्येक राजनीतिक दल तथा उम्मेदवारहरुले मोहना नदीमा तटबन्धनका कार्यक्रम अघि बढाउने आश्वासन दिएका थिए । तर, स्थानीय निर्वाचन भएको तीन वर्ष भइसकेको छ । त्यस्तै, पछिल्लो संघीय तथा प्रदेश संसदका लागि निर्वाचन भएको अढाई वर्ष बढी भइसकेको छ, तर मोहना नदीमा तटबन्धन कार्यक्रमको सुरसार नै भएको छैन ।

स्थानीय दुर्गाप्रसाद ओझाले भने– वर्षेनी मोहना नदीले जमिन काट्दै जाने, तर नेताहरु निर्वाचन जितेपछि फर्केर नआउने हुँदा अब तटबन्धन बन्ने आश पनि मरिसकेको छ ।

धनगढी उपमहानगरपालिकाले पनि मोहना नदीमा तटबन्धन निर्माणको जिम्मेवारी संघीय र प्रदेश सरकारको भएको भन्दै पन्छिदै आएको स्थानीयको आरोप छ ।

यसबारे धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भने– हामीसंग ठूला तटबन्धनका कार्यक्रम छैनन् । हामी प्रदेश तथा संघीय सरकारसंग मोहना नदी कटान रोक्न समन्वय गरिरहेका छौं ।

नगर प्रमुख वडले चालू आर्थिक वर्ष २०७७÷७८ मा जसरी पनि मोहना नदीमा तटबन्धन निर्माण कार्यक्रम अघि बढाउन पहल गरिने प्रतिवद्धता व्यक्त, गरे ।

धनगढी उपमहानगरपालिकाले हरेक वर्ष डुबान रोक्न नाली सरसफाइ अभियान सञ्चालन गरिरहेको जनाएको छ । नगर प्रमुख वडले भने– खोला तथा नाली अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्दा उपमहानगरपालिकामा डुवानको जोखिम बढेको छ । त्यसैले हामीले खोलानाली अतिक्रमण हटाउने प्रयास गरिरहेका छौं ।

#epaper,

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार