१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा विपदः एक महिनामा १६ को मृत्यु्, एक वेपत्ता, १८ घाइते, ४१ घटना



धनगढी । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । विपदका घटनामा १८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंश लगायतका ४१ घटना भएका छन् ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सोमबार (साउन ५ गते) सम्म सुदूरपश्चिम प्रदेशका नौ मध्ये सात जिल्लामा भएका विपदका ४० घटनामा १४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन । प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार मंगलबार दार्चुला जिल्लामा विपदका घटनामा थप दुई जनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् ।

केन्द्रले आफ्नो वेवसाइटमार्फत मंगलबार (साउन ६ गते) सार्वजनिक गरेको “विपदका घटनाबाट भएको क्षतिको अद्यावधिक विवरण” मा सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनाको अवधिमा पहिरोबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

यो अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका पहिरोका २५ घटनामा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण एक जना अझैं वेपत्ता अवस्थामा रहेका छन् भने आठ जना घाइते भएका छन् ।

त्यस्तै, प्रदेशमा बाढीका छ घटनामा धनमालको निकै क्षति हुनुका साथै ६७ परिवार विस्थापित भएका छन् । बाढीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

प्रदेशमा सोमबारसम्म विपदका घटनमामा सबैभन्दा बढी मानवीय क्षति बझाङमा भएका छन् । पछिल्लो एक महिनाको अवधिमा बझाङ जिल्लामा पहिरो र बाढीका कारण सात जनाको मृत्यु भइसकेको छ ।

केन्द्रका अनुसार यो अवधिमो बझाङमा विपदका सात घटना भएका छन । विपदबाट बझाङमा तीन पुरुष र चार महिला सहित सात जनाको मृत्यु भएको छ । पहिरोका कारण एक जना अझैं वेपत्ता छन् । पहिरोबाट एक जना घाइते भएका छन् । केन्द्रका अनुसार बाढी तथा पहिरोबाट ३४ परिवार विस्थापित भएका छन । भने १७ घरमा पूर्ण क्षति पुगेको छ ।

केन्द्रका अनुसार बाढी, पहिरो, चट्याङ, सर्पदंश लगायतका विपदका सबैभन्दा बढी घटना दार्चुलामा भएका छन् । पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा विपदका विभिन्न १० घटना भएका छन । ती घटनामा दुई जना पुरुष र एक महिलाको मृत्यु भएको छ । भने दुई पुरुष र तीन महिला गरी पाँच जना घाइते भएका छन । बाढी र पहिरोका घटनामा दार्चुलामा छ घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने दुई घरमा आंशिक क्षति पुगेको छ । बाढी तथा पहिरोबाट दार्चुलामा नौ परिवार विस्थापित भएका छन् ।

त्यस्तै, प्रदेशको बाजुरा जिल्लामा विपदका आठ घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको मृत्यु भएको छ । पहिरोका कारण एक जना घाइते भएका छन । बाढी तथा पहिरोबाट बाजुरामा २० परिवार प्रभावित भएको केन्द्रले जनाएको छ । तीन घरमा पूर्ण रुपमा क्षति पुगेको छ । एक घरमा आंशिक क्षति पुगेको छ । स्थानीय प्रशासनका अनुसार विपदका विभिन्न घटनामा बाजुरामा करिब २० लाख रुपैया मुल्य बराबरको धनमालको क्षति पुगेको छ ।

त्यस्तै, पछिल्लो एक महिनामा डोटीमा आठ वटा विपदका घटना भएका छन । घटनामा एक पुरुषको मृत्यु भएको छ । भने तीन पुरुष र दुई महिला गरी पाँच जना घाइते भएका छन । बाढी तथा पहिरोबाट डोटीमा ३३ घरपरिवार प्रभावित भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका अनुसार बाढी तथा पहिरोबाट एक घर पूर्ण र एक आंशिक क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेशको बैतडीमा तीन, कञ्चनपुरमा दुई र कैलालीमा दुई वटा विपदका घटना भए पनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

कैलालीमा बाढीबाट १४ घरपरिवार प्रभावित भएका छन भने कञ्चनपुरमा दुई घर प्रभावित भएका छन् ।

सर्पदंश र चट्याङको जोखिम

सुदूरपश्चिम प्रदेशमा सर्पदंश र चट्याङको पनि जोखिम बढेको छ । राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार प्रदेशमा एक महिनामा सर्पदंशका छ वटा घटनामा परि दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन ।

सुदूरपश्चिम प्रदेशको डोटीमा तीन, दार्चुला एक र कञ्चनपुरमा दुई सर्पदंशका घटना भएका छन । सर्पदंशका कारण कञ्चनपुरमा एक र दार्चुलामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

त्यस्तै, डोटीमा दुई पुरुष र एक महिला गरी तीन जना घाइते भएका छन ।

कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १ को पशुपति टोलमा विषालु सर्पले डस्दा ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको बताइएको छ ।

उनलाई उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । महिलालाई भूसा निकाल्ने क्रममा सर्पले डसेको उनले बताए ।

असारदेखि सोमबारसम्म (साउन ५) गतेसम्म प्रदेशमा चट्याङको एक घटना भएको छ । बाजुरामा चट्याङमा परि एक महिलाको मृत्यु भएको जनाइएको छ ।

थप दुईको मृत्यु

दार्चुलामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुरपस्तीमा घर पुरिएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका वडा नम्बर ५ घर भएका २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए । उनीहरूको घरभित्रबाट शव निकालिएको छ ।

त्यस्तै सो घटनामा ३५ वर्षीया लक्ष्मी ढोली र उनका नौ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन् । तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्दार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए ।

घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए । बिहान ३ बजेतिर घरमाथिबाट पहिरो आएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजु भाइ हुन् ।

उनीहरू गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुरपस्ती आएको बताइएको छ ।

बाजुराका ३२ परिवार जोखिममा

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ का ३२ परिवार विस्थापितको उच्च जोखिममा परेका छन् ।

आइतबार रातिबाट परेको अविरल वर्षाका कारण घरको चारैतिरबाट पहिरो बग्न थालेपछि वडाका नाइना, मैतोला, लम्मेलासहितका टोल उच्च जोखिममा परेको वडाध्यक्ष कुम्भनाथ योगीले जानकारी दिए ।

मैतोलाका बुदे गुयाल, कर्ण गुयाल, चन्द्र गुयाल, सुरेन्द्र गुयाल, अंग गुयाल, दीपक गुयाल, नन्दे गुयाल, केशव गुयाल, विर्कजंगी धामी, वीरजित धामी, मंगल धामी, माने गुयालसहितका परिवारको घर जोखिममा छन् । यस्तै नाइनाका माडीखोलाका नन्द विष्ट, धिरु विष्ट, पाउनु विष्ट, हर्क विष्ट, कृष्ण नेपाली, बिर्ज पाध्याय, माने सार्की, चन्द्र सार्की र सिद्ध गन्दर्भको घर पहिरोको जोखिममा परेका छन् ।

वडाध्यक्ष योगीका अनुसार मैतोलावासीले उपयोग गर्दै आएको चाम्डेबगर लघु जलविद्युत् आयोजनाको नहर भत्किएर क्षति पुगेको छ । नहर भत्किँदा विद्युत् बन्द भएको छ भने सिंगो गाउँ अँध्यारोमा बस्न बाध्य छ । यस्तै पारी बगर भन्ने स्थानमा धानखेत पनि बाढीले बगाएर क्षति पु¥याएको छ ।

वडाभित्रकै जाल्पादेवी माविको भवनसमेत जोखिममा छ । अध्यक्ष योगीसहितको टोलीले क्षतिको विवरण संकलन तथा अवस्थाबारे अध्ययन गर्ने काम पनि गरिरहेको छ । खप्तड छेडेदह गाउँपालिका–७ मा पनि बाढी पहिरोले क्षति पु¥याएको छ भने दशरथ बढालेक आधारभूत विद्यालयको भवनसमेत भत्किने खतरा बढेको वडाध्यक्ष खगेन्द्र रावतले बताए ।

कुँडीको सिंगो गाउँ नै पहिरोको जोखिममा

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ मल्लो कुँडीको सिंगो गाउँ पहिरोको उच्च जोखिममा परेको छ । चारैतिरबाट पहिरो बग्न थालेपछि कु“डीमा बसोबास गर्ने एक सय १६ बढी परिवार उच्च जोखिममा परेका हुन् ।

सोही स्थानमा दुई वर्ष पहिले २०७५ साल भदौमा पनि पहिरो गएको थियो । पहिरोबाट एक जनाको मृत्यु र एक दर्जन परिवार विस्थापित बनेका थिए । यो वर्ष पनि सिंगो गाउँको चारैतिरबाट पहिरो बग्न थालेको छ । जोखिममा रहेका ११६ बढी परिवारको तत्काल उठीबासको चिन्ता बढेको स्थानीय मनबहादुर विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार