१० श्रावण २०८१, बिहीबार

तराइमा नदीको सतह घट्दै, पहाडमा कतै स्थिर कतै बढ्दै



वाढी तथा पहिरोको जोखिम कायमै

धनगढी । सुदूरपश्चिममा भारी वर्षासंगै वाढी तथा पहिरोको जोखिम बढेको छ । शनिबार बिहानैदेखि कैलालीको कर्णाली, मोहना र कञ्चनपुरको महाकाली नदीको पानीको सतह बढ्दै गएपनि साझ भने घट्दै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाखा काठमाण्डौंका अनुसार बंगालको खाडीबाट आएको वास्फयुक्त मनसुनी न्यून चापिय रेखा नेपाल तर्फ बढेका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा भारी बर्षाको संभावना रहेको छ । बर्षाका कारण नदीमा पानीको वहाव बढ्ने हुँदा जोखिम युक्त स्थानका नागरिकले सचेत हुनुपर्ने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको तीन दिने वर्षा बुलेटिनमा धेरै स्थानमा थोरै देखि भारी वर्षा हुने सम्भावना रहेको उल्लेख छ । आइतबार बिहान कैलालीको धनगढीबाहेक अन्य स्थानमा भारी वर्षा हुँदा ठुला तथा स–साना नदीको सतह बढ्दै गएको थियो ।

मौसम पूर्वानुमान महाशाखाले अझै भारी वर्षाको सम्भावना रहेकाले नदीय तटिय क्षेत्रमा रहेका स्थानीयहरुलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

मौसम विद विभुती पोख्रेलले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेकाले नेपालमा मनसुन सक्रिय बनेको बताए ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि लगातार पानी पर्ने भएकाले शतर्कता अपनाउन आग्रह गर्दै सुचना जारी गरेको छ । लगातारको झरीले देशैभरीका नदीमा बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ मालाखेतीस्थित मोहना नदीको बहाव एक दशमलब ५३ मिलिलिटर रहेको छ । मोहनामा तीन मिलिलिटर पुगे सर्तकता र तीन दशमलब छ मिलिलिटर पानी सतहलाइ खतरा मानिने गरेको छ ।

कैलालीको कर्णालीको नदीको सतह सात दशमलब ७५ मिलिलिटर पुगेको छ । कर्णालीको १० मिलिलिटर सर्तकता र दश दशमलब आठ मिलिलिटरलाइ खतरा मानिने गरेको छ ।

कर्णाली र मोहना नदीको सतह घटेपनि प्रदेशको डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरामा नदीको सतह बढ्दै गएको उल्लेख छ । बैतडीको गजुर गाउँस्थित सुर्नया गाडको सतह स्थिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुर्नया गाडको एक दशमलब ९६ मिलिलिटर रहेको छ । सुर्नयाको चार मिलिलिटरलाई सर्तकता र पाँच मिलिलिटरलाई खतरा मानिने गरेको छ । यस्तै डडेल्धुराको पारिगाउँस्थित महाकाली नदीको सतह बढ्दै गएको छ । समाचार तयार पारुन्जेल महाकालीको चार दशमलब ३६ मिलिलिटर पुगेको छ । महाकालीमा पाँच दशमलब ८० मिलिलिटरलाई सर्तकता र सात मिलिलिटरलाई खतरा मानिएको छ ।

अछामको असारघाँटस्थित कर्णाली नदीको बहाव स्थिर रहेको छ । असारघाटमा पाँच दशमलब ३६ मिलिलिटर नदीको सतह पुगेको छ । सो नदीमा सात दशमलब ९० मिलिलिटरलाई सर्तकता र आठ दशमलब ९० मिलिलिटरलाई खतरा मानिएको छ ।

डोटी गोपघाटस्थित पश्चिम सेतीको पनि सतह बढ्दै गएको उल्लेख छ । सो नदीको सतह तीन मिलिलिटर पुगेको छ । सो नदीमा पाँच दशमलब ५० मिलिलिटरलाई सर्तकता र छ दशमलब ३० मिलिलिटरलाई खतरा मानिने गरेको छ ।

दिनभर कहाँ कति वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको सुन्दरपुरमा २४ घण्टामा पाँच दशमलब दुई मिलिलिटर, टीकापुरमा एक सय १४ दशमलब आठ मिलिलिटर, डडेल्धुराको गाइबाडे पुनटुरामा एक सय १३ दशमलब चार मिलिलिटर, बैतडीको सतबाँझमा २६ दशमलब ६ मिलिलिटर, डडेल्धुराको जोगबुढामा चार दशमलब दुई मिलिलिटर, दार्चुलामा ४५ दशमलब आठ मिलिलिटर, बाजुरामा ४९ मिलिलिटर, डडेल्धुराको साहुखर्कमा १५ दशमलब दुई मिलिलिटर, डोटीको दिपायलमा सात मिलिलिटर, अछामको साफेबगरमा २४ दशमलब आठ मिलिलिटर, डोटीको चिउरीमा ४९ दशमलब दुई मिलिलिटर, अछामको कमलबजारमा पाँच दशमलब आठ मिलिलिटर वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार एक घण्टामा ६० मिलिलिटर, तीन घण्टामा ८० मिलिलिटर, छ घण्टामा एक सय मिलिलिटर, १२ घण्टामा एक सय २० मिलिलिटर र २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षा भए सर्तकता अपनाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार