१० श्रावण २०८१, बिहीबार

धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधीको तीन वर्ष



हामीले घोषणापत्र अनुसार तीब्र गतिमा काम गरिरहेका छौ

नृपबहादुर वड
प्रमुख

धनगढी उपमहानगरपालिकामा हामी नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भइसकेपछि हाम्रो चुनावी घोषणापत्र अनुसार तीब्र गतिमा काम अघि बढाएका छौं । हामीले निर्वाचित भएलगत्तै प्रत्येक वडामा खानेपानीको व्यवस्था, खेलमैदान व्यवस्थापन, प्रत्येक वडामा स्वास्थ्य केन्द्रको व्यवस्थापन, वडा कार्यालय स्थापना गर्ने भनेका थियौं । यो तीन वर्षको अवधिमा अहिलेसम्म दुई वटा वडाबाहेक सबै वडामा स्वास्थ्य चौकी सञ्चालन भइसकेको छ । ११ वटा वडामा खानेपानी सेवा पुगेको छ । चार वटा वडामा पहिलेदेखि नै खानेपानी आपूर्ति हुदै आएको थियो । वडा नम्बर ११, १३ र १७ मा आगामी आर्थिक वर्षमा बोरिङ हुँदै छ । वडा नम्बर ३ र ६ मटयारीमा ट्यांकी निर्माण भइसकेको छ । एक दिनअघि मात्र वडा नम्बर १ र १२ नम्बरमा खानेपानी ट्यांकी निर्माणका लागि टेण्डर निस्केको छ । आउदो वर्ष बाकी तीन वटा वडामा खानेपानी व्यवस्थापन गरिने छ ।

खोलानाला तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउनेबारे प्राविधिकहरुले प्रतिवेदन दिइसकेका छन् । अब साउनको पहिलो हप्ता ३५ दिने सूचना जारी हुने छ ।

उपमहानगरपालिकाका तीन वटा वडामा पहिलेदेखि नै स्वास्थ्य चौकी थिए । ११ वटा वडामा अहिले स्वास्थ्य चौकी भवन निर्माण भइरहेका छन् । त्यस्तै, सात/आठ वटा वडामा कार्यालय भवन निर्माण गर्दै छौं ।

त्यस्तै, सिटी हल निर्माण कार्य ८० प्रतिशत पुरा भइसकेको छ । वडा नम्बर १८ मा निर्माणाधीन कोल्डस्टोर यही असार मसान्तभित्र हामीलाई हस्तान्तरण गर्छु भनेको थियो । कोल्डस्टोर निर्माण कार्य ५० प्रतिशत पुरा भइसकेको छ । लकडाउनका कारण निर्माण कार्यमा केही ढिलाई भयो ।

धेरै वडामा खेलकुद मैदान तयार भएका छन् । वडा नम्बर १८ मा पशु हाटबजार तयार भइसकेको छ । भने धनगढीमा रहेको हाटबजार स्तरोन्नतीको काम भइरहेको छ ।

हामीले पर्यटन विकासमा जाखोर ताललाई पहिलो प्राथमिकतामा राखेका छौं । जाखोरतालमा निरन्तर संरचना निर्माण कार्य भइरहेको छ । त्यस्तै, शिवपुरी धाम, भादा होमस्टे, बेहडाबावालाई नगर गौरव योजनाका रुपमा अघि बढाइरहेका छौं ।

त्यस्तै, धनगढी वडा नम्बर ९ त्रिवेणी घाटमा मसानघाट निर्माण कार्य अघि बढाएका छौं । त्यसमा पाँच वटा लास जलाउने र दुई वटा विद्युतीय शव गृह रहने छन् ।

धनगढी उपमहानगरपालिकामा सघन सहरी विकासका कामहरु लगभग सकिनै लागेको छ । एडिविका योजनाको सम्झौता हुने प्रक्रियामा छ । हामीले फोहोरमैला व्यवस्थापनको पनि टुङ्गो लगाइसकेका छौं ।

हामीले शिक्षालाई पनि पहिलो प्राथमिकतामा राखेका थियौं । हामीले नगरभित्र २७ वटा विद्यालय भवन निर्माण गरेका छौं । प्रत्येक विद्यालयमा पर्खालको व्यवस्था गरिएको छ । हरेक विद्यालयमा शौचालय, पुस्तकालय, सूचना तथा प्रविधि लगायतलाई पनि व्यवस्थित गरेका छौं । स्मार्टसिटीका लागि सबै वडामा अप्टीकल फाइवर विस्तार गरेका छौ ।

उपमहानगरमा घर नम्बरिङ गर्ने कार्यक्रम आरयुडिपीले तयार गरिरहेको छ । तीन वर्षीय, पञ्चवर्षिय, दशवर्षिय योजनाको मस्यौदा तयार पारिएको छ ।

प्रत्येक घरमा फलफूलका वोटहरु पुर्याउने काम पनि अघि बढेको छ । पाँच वटा सार्वजनिक शौचालयको टेण्डर भइसकेको छ । क्याम्पस चौकमा सार्वजनिक शौचालय तयार भइसकेको छ । त्यही क्षेत्रमा फिटनेस सेन्टर बनाएका छौं । हामीले यस वर्ष दुई वटा थप फिटनेस सेन्टर बनाएका छौ भने आउदो साल तीन वटा फिटनेस सेन्टर बनाउने योजना लिएका छौं ।
काम गर्दै जाँदा थुप्रै चुनौतिहरु छन् । अघिल्लो वर्ष हावाहुरीको समस्या झेल्यौं । अहिले कोरोनाको महामारी झेल्दै छौं ।

हामीले सबैका आवश्यकतालाई ध्यानमा राखेर काम गरिरहेका छौं

सुशीला मिश्र भट्ट
उपप्रमुख

हाम्रो कार्यकालको तीन वर्ष पुगिसकेको छ । यो अवधिमा हामीले थुप्रै कुरा जान्न बुझ्न पाएका छौं । स्थानीयबासीका थुप्रै आकांक्षा र माग छन । उपमहानगरपालिकामा मुलुकका थुप्रै जिल्लाका मानिसको बसोबास छ । ठुलो जनसंख्या उपमहानगरपालिकाका लागि चुनौति र अवसर दुवै हो ।

मानिसका सबै आवश्यकता कहिल्यै पुरा हुन सक्दैन । गत वर्ष एउटा आवश्यकता थियो त्यसका लागि बजेटको व्यवस्था ग¥यौं, त्यो कार्यक्रम पुरा भयो । तर, फेरी पनि त्यही आवश्यकतालाई निरन्तरता दिनुपर्ने हुन्छ । त्यसैले पनि हरेक वर्ष कतिपय योजनालाई निरन्तरता दिने गरेका छौं । यो निरन्तरता चलिरहन्छ । कतिपय कुरा कस्तो हुन्छ भने केही कामहरु एकै पटक गरिने हुन्छन् । जस्तो बाटोघाटो, भवन, खानेपानी यस्ता भौतिक संरचना एक पटक बनायो भने धेरै समय रहन्छ ।

नगरबासी हरेकका आ–आफनै आवश्यकता छन । अपाङगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, डेरामा बस्ने व्यक्ति आदिका आआफनै समस्या छन । एकल महिला, विपन्न महिला, अपाङ्गता भएका महिला छन । त्यसैले सबैका आवश्यकता फरकफरक हुने गर्दछन् । नगरपालिकाले आफ्नो स्रोतसाधन र क्षमता भ्याएसम्म सबैका लागि बजेट विनियोजन गर्दै आएको छ ।

न्यायिक क्षेत्रको कुरा गरौं । हामी के चाहन्छौं भने यहाँ (न्यायिक समिति) मा आउने व्यक्ति कसरी लाभान्वित हुन्छन् । पहिले हामीले राजश्वका लागि १० रुपैयाँ राखेका थियौ । दश रुपैयामा उसले आफनो निवेदन दर्ता गराउन सक्थ्यो । अहिले एक सय रुपैयाँ राखेका छौं । एक सय रुपैयामा एक जना व्यक्तिले चाहेको न्याय पाउन सक्छ । हामीले मेलमिलापका माध्यमबाट न्याय दिन्छौ । ता कि कसैको जीत वा कसैको हार नहोस् । यसले झन्झट कम हुन्छ । समयको वचत हुन्छ । निवेदन दर्ता भएको तीन महिनाभित्रै हामीले उहाँहरुलाई न्याय दिन्छौं र आर्थिक रुपले पनि एकदमै कम खर्चमा उहाँहरुले न्याय पाउँछन ।

हामीले के सोचेका छौं भने न्याय ढिलो दिनु भनेको पनि न्याय नपाउनु सरह नै हो । कोही महिलामाथि हिंसा भयो, घरबाट निकालियो वा खानलाउन पाइनन् भने यस्ता उजुरीमा सात दिनभित्र फैसला हुन्छ ।

मेलमिलापका कारण सामाजिक सद्भाव कायम भएको छ । आर्थिक र समयको पनि बचत भएको छ । अदालत जान डराउथे, वकिल राख्न डराउँथे, आर्थिक हिसावले कमजोर भएका नागरिकहरुले यहाँ सहजै सेवा पाइरहेका छन ।

धनगढी उपमहानगरपालिकाले पारदर्शीता, सुशासन तथा जवाफदेहितालाई ध्यानमा राखेर सेवा प्रवाह गरिरहेको छ । हामीले दिएका सेवा सुविधामा सन्तुष्टी छ । सबैका आवश्यकता परिपूर्ति गर्न सकिन्छ भन्ने होइन । व्यक्तिगत आवश्यकता परिपूर्ति सबैका पुरा गर्न सक्ने अवस्था पनि हुँदैन, त्यसैले सामुहिक आवश्यकतामा बढि जोड दिएका छौं ।

हामी पाँच वर्षमा उपमहानगरपालिकाको बजेट, साधन स्रोत अनुसार काम गर्दै जाने छौं । ता कि भोली आउने अर्को टिमलाई यिनै योजनामा टेकेर अघि बढ्न सजिलो होस । यसका लागि उपमहानगरपालिकाले एउटा रणनैतिक योजना तयार गरिरहेको छ ।

मैले पदभार ग्रहण गर्दैगर्दा एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी, विपन्न वर्गका लागि विशेष विकास कार्यक्रम ल्याउने घोषणा गरेको थिए । उपमहानगरपालिकाले गत वर्ष एकल महिलालाई साधन सहितको सिपमुलक तालिम उपलब्ध गराएको छ । सिलाइकटाइ गर्नेहरुलाई मेसिन उपलब्ध गरायौं भने जुत्ताचप्पल सिलाउने, ढाकाटोपी बुनाई, फाइवर बनाउने लगायतका थुप्रै व्यवहारिक तालिमहरु उपलब्ध गराएका छौं । व्यवसाय सञ्चालन गरेर आयआर्जनमा सजिलो होस भनेर तालिम दिएका छौं । आगामी वर्षमा पनि उहाँहरुलाई कृषि सम्बन्धमा धेरै तालिम राखेका छौं ।

एकल महिलाको आर्थिक अवस्था र सामाजिक विकास गर्न थुपै्र कार्यक्रम ल्याएको छ । ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापनासंगै स्वास्थ्यमा पनि ध्यान दिएका छौं । अपाङ्गता भएका व्यक्तिहरुको स्याहारका लागि स्याहार केन्द्र र काम गर्न सक्ने अपाङ्गता भएका व्यक्तिहरुका लागि सिपमुलक आयआर्जनका कार्यक्रम अघि सारेका छौं ।

कृषकहरुको आयमुलकदेखि अनुदान लगायतका थुपै्र कार्यक्रम अघि बढाएको छ । एकल महिलालाई कृर्षिसंग जोडन पर्छ भनेर एकल महिलाका लागि कृषि कार्यक्रम ल्याएका छौं ।

उपप्रमुख न्यायिक समितिमात्र नभइ अन्य थुप्रै समितिको पनि संयोजक हुन्छ । यहि अनुसार उपमहानगरपालिकामा अनुगमन समितिको संयोजकका हैसियतमा योजनाको शुरुवातदेखि अन्तिम भुक्तानीसम्म हामीले अनुगमन गर्नुपर्छ । काम पुरा भएपछि प्राविधिक, वडा र हामीले अनुगमन गरेपछि मात्र उपभोक्ता वा ठेकेदारले त्यसको भुक्तानी पाउने प्रावधान छ । मैले निर्वाह गर्ने जिम्मेवारीमध्ये अनुगमन बढि चुनौतिपूर्ण लागेको छ । जनताले पाउने विकास गुणस्तरिय हुनुपर्छ र गुणस्तरिय विकास नै हस्तान्तरण गर्छु भनेर म लागिरहेकी छु ।

‘चुनौतिका बिच हामीले धेरै गर्न खोजेका छौ’

सन्तोष मुडभरी
प्रवक्ता

स्थानीय सरकारहरु नयाँ ढाँचामा आएपछि हामीसंग थुप्रै चुनौति थिए । हामीले शुरुमा आवश्यक ऐन, कानुन, नियम, निर्देशिका, कार्यविधी, मापदण्ड बनाउन ध्यान दियौं । अहिलेसम्म ३५ वटा ऐनकानून, निर्देशिका, कार्यविधि र मापदण्ड बनाइसकेका छौं ।

हामीले यो तीन वर्षको अवधिमा २०२ किलोमिटर सडक कालोपत्रे गरेका छौं । पाँच सय ३४ किलोमिटर कालोपत्रे सडक मर्मत गरिएको छ भने चार सय ८३ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

त्यस्तै, हामीले आर्थिक विकास तर्फ कृषिलाई प्राथमिकतामा राखेका छौं । हामी अहिले लगभग माछापालनमा आत्मनिर्भर बनेका छौं । पशु विकासतर्फ एक महिला, दलित, जनजाती अतिविपन्न वर्गलाई जीवनयापनमा सुधार गर्न बाख्रा वितरण, गोठ सुधार लगायतका कार्यक्रम अघि बढाइरहेका छौं ।

त्यस्तै, पर्यटनतर्फ उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला र मोहना नालामा साइकल ट्रयाक खोल्ने नीति बनाएको छ । साइकल ट्रयाक खोल्ने नीति पहिलो वर्षदेखि नै प्राथमिकतामा राखेका थियौं, तर केही प्राविधिक कठिनाईका कारण अघि बढाउन सकेका थिएनौं । यसपाली एउटा नालामा सबै तयारी पुरा गरिसकेका छौं । छिट्टै साइकल ट्रयाक खोल्छौं ।

हामीले वडा नम्बर १३, ६, ५ र ४ मा रहेका सामुदायिक वनभित्रका खोलासहितको क्षेत्रलाई संरक्षण गरि सामुदायिक वनको उद्यानका रुपमा विकास गर्ने र साइकल ट्रयाक खोल्ने योजना बनाएका छौं । त्यस्तै, जाखोर ताल, वेला ताल, नेतुवा ताल, तिल्केताल लगायतका सबै ताललाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने काम अघि बढाएका छौं ।

धनगढीमा एउटा कोल्ड स्टोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनगढीको फूलबारीमा वसपार्क निर्माण भइसकेको छ भने धनगढी सिटी हलको निर्माण अन्तिम चरणमा पुगेका छ । वडा नम्बर ७ मा थारु संग्रहालय स्थापना गरेका छौं ।

हामीले पिपिपि मोडलमा धनगढीको वडा नम्बर १५ मा जडिवुटी प्रशोधन केन्द्र निर्माण गरेका छौं । सोही वडाको एउटा सामुदायिक वनलाई पार्कका रुपमा विकसित गर्ने योजना छ । त्यहाँ केही संरचनाहरु निर्माण भइसकेका छन् ।

त्यस्तै, जडिबुटी प्रशोधन केन्द्रलाई विशेष ध्यान दिएका छौं । उद्योगतिर त्यति धेरै ध्यान दिन सकेका छैनौं । विभिन्न नियम, कानुन बाँझिने र सुरुवाती चरण पनि भएकाले समस्या भएको छ । विस्तारै धेरै नभए पनि लघु उद्यमी तयार गर्ने र लघु उद्यमीलाई केन्द्रीत गरेर विशेष आर्थिक सुधार गर्ने सोच बनाएका छौं ।

उपमहानगरपालिकामा सहकारी, सामाजिक विकास, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा निकै काम भएको छ । शिक्षातर्फ धेरै विद्यालयका भवन निर्माण, पर्खाल निर्माण, शिक्षाको गुणस्तर सुधार गर्न नमुना विद्यालयको अवधारणा अघि बढाएका छौ ।

त्यस्तै, स्वास्थ्यतर्फ बजारका वडाबाहेक सबै वडाहरुमा शहरी स्वास्थ्य केन्द्र केन्द्र स्थापना भइसकेका छन । कतिपय वडामा वर्थिङ सेन्टर छन् । वडा नम्बर ७ बेलीमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ ।

संस्कृतितर्फ पनि थुप्रै काम भएका छन् । जनतालाई हामीले दिने सेवालाई पारदर्शी गराउन इएमआइएस प्रविधिको सेवा सुचारु गरेका छौं । यो सायद कुनै पनि पालिकाले गरेको छैन ।

हामीले धेरै गर्न खोजेका छौं, तर पहिलो पटक भएकाले शुरुमा हामीले कर्मचारी अभावको समस्या झेल्यौं । धेरै क्षेत्र नगरमा आएपछि नगरपालिकाले राम्रोसंग योजना बनाउन सकेको छैन । हाम्रोमा अहिले पनि धेरै क्षेत्रको शाखालाई महाशाखाका रुपमा स्थापना गर्न सकेका छैनौं । कर्मचारी समायोजन सकियो भने स्वास्थ्य, कृषि, सहकारी लगायतका सबै क्षेत्रका विज्ञहरु आउने छन ।

प्रस्तुतिः शेरबहादुर एेर/धनगढी
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार