२९ बैशाख २०८१, शनिबार

विपदबाट वर्षेनी ठूलो क्षति बेहोर्दै सुदूरपश्चिम



फाइल फाेटाे

धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी विपदबाट करौडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुवान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागी लगायतका विपद र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नवालीको नोक्सानी हुँदै आएको छ ।

राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा छ करोड ३४ लाख ५५ हजार तीन सय आठ रुपैयाँ बराबरको धनमालको क्षति पुगेको छ । आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा सो वर्ष दुई सय छ वटा विपदका घटनामा ३२ जनाको मृत्यु हुनुका साथै दुई सय ६५ जना घाइते भएका थिए । विपदबाट नौ हजार आठ सय ७० घरपरिवार प्रभावित भएका थिए भने ७२ घर पूर्ण रुपमा र एक सय ३२ आशिंक रुपमा घरमा क्षतिग्रस्त भएका थिए ।

चालू आर्थिक वर्ष २०७६/०७७ को असार ४ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा चट्याङ, आगलागी, बाढी, पहिरो, हावाहुरीबाट तीन करोड ८२ लाख आठ हजार एक सय रुपैयाँ बराबरको क्षति पुगेको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले उल्लेख गरेको छ । केन्द्रका अनुसार प्रदेशमा यो अवधिमा एक सय ७० विपदका घटनामा १८ जनाको मृत्यु भइसकेको छ । एक वेपत्ता अवस्थामा छन् भने ७३ जना घाइते भएका छन् । त्यस्तै, विपदबाट चार सय ११ घरपरिवार प्रभावित भएका छन् । यो अवधिमा प्रदेशमा एक सय सात घरमा आशिंक र २७ घरमा पूर्ण क्षति पुगेको उल्लेख छ ।

चालु आर्थिक वर्षमा प्रदेशमा हावाहुरीका चार, आगलागीका ९५, पहिरोका १९, चट्याङका ४४ र बाढीका आठ घटना भएका छन । बाढीमा एक जनाको मृत्यु, दुई घाइते र एक जना वेपत्ता भएका छन भने ४५ घरपरिवार प्रभावित भएका छन ।
त्यस्तै, चट्याङबाट नौ जनाको मृत्यु र ४७ जना घाइते भएका छन भने एक सय ३७ घरपरिवार प्रभावित भएका छन । चट्याङबाट दुई घर पूर्ण रुपमा र ८१ घर आंशिक रुपमा क्षति पुगेको छ ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा पहिरोबाट दुई करोड पाँच लाख २४ हजार रुपैया बराबरको क्षति भएको छ भने तीनको मृत्यु र नौ जना घाइते भएको केन्द्रमा उल्लेख छ । पहिरोबाट पाँच घर पूर्ण रुपमा र दुई घर आंशिक क्षति भएको र एक सय २३ घरपरिवार प्रभावित भएको उल्लेख छ ।

आगलागीबाट प्रदेशका नौ वटै जिल्लामा झण्डै एक करोड ७५ लाख नौ हजार एक सय बराबरको क्षति पुगेको केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका अनुसार आगलागीबाट प्रदेशमा पाँच जनाको मृत्यु र १४ जना घाइते भएका छन ।

आगलागीबाट २० घर पूर्ण रुपमा र २२ घरमा आंशिक क्षति पुगेको छ भने एक सय दुई घरपरिवार प्रभावित भएका छन ।
हावाहुरीबाट एक लाख ७५ हजार बराबरको क्षति पुगेको छ भने चार घरपरिवार प्रभावित र एक घरमा आंशिक क्षति पुगेको तथ्यांक छ । हावाहुरीकै कारण एक जना घाइते भएका छन ।

विपदबाट कुन जिल्लामा कति क्षति ?

चालु आर्थिक वर्षको असार ४ सम्म सबैभन्दा बढी विपदका घटना कञ्चनपुरमा भएका छन । कञ्चनपुरमा विभिन्न विपदका ५० वटा घटना भएका छन । विपदबाट एक जनाको मृत्यु, नौ जना घाइते भएका छन भने ४९ लाख ८९ हजार आठ सय बराबरको क्षति पुगेको छ । विपदबाट एक सय ३१ घरपरिवार प्रभावित भएका छन भने छ घर पूर्ण र ९१ घरमा आंशिक क्षति पुगेको छ ।

फाइल फाेटाे

विपदबाट सबैभन्दा मानवीय क्षति भने बाजुरामा भएका छन । बाजुरामा १७ वटा घटनामा एक पुरुष र चार महिला गरी पाँच जनाको मृत्यु भइसकेको छ भने चार पुरुष र छ महिला गरी १० जना वेपत्ता भएका छन । बाजुरामा एक सय ३१ घरपरिवार प्रभावित भएका छन । तीन आंशिक र तीन पूर्ण रुपमा घरमा क्षति पुगेको छ । बाजुरामा विपदबाट दुई करोड २१ लाख ४५ हजार बराबरको क्षति पुगेको आपत्तकालिन कार्य सञ्चालन केन्द्रमा उल्लेख छ ।

आपत्तकालिन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा ३१ वटा घटनामा तीन जनाको मृत्यु भइसकेको छ भने आठ जना घाइते र एक वेपत्ता भएका छन । कैलालीमा विपद्बाट ८५ लाख १० हजार बराबरको क्षति पुगेको छ भने ४० घर परिवार प्रभावित भएको जनाइएको छ । केन्द्रका अनुसार कैलालीमा छ घर पूर्ण रुपमा र चार घरमा आशिंक क्षति पुगेको छ ।

प्रदेशको अछाममा विभिन्न विपदका १९ वटा घटनामा तीन पुरुष र एक महिला गरी चार जनाको मृत्यु र सात पुरुष तथा ११ महिला गरी १८ जना वेपत्ता भएका छन । अछाममा विपदबाट १४ लाख ५४ हजार बराबरको क्षति पुगेको उल्लेख छ । विपदबाट एक घर पूर्ण र चार घर आंशिक क्षति पुगेको छ भने ४२ घरपरिवार प्रभावित भएको जनाइएको छ ।

डोटीमा विभिन्न विपदका १२ घटनामा पाँच लाख नौ हजार तीन सय बराबरको क्षति पुगेको छ । विपदका कारण दुई महिलाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन । तीन घर पूर्ण र दुई घर आंशिक क्षति पुगेको छ भने ११ घरपरिवारहरू प्रभावित भएका छन ।

केन्द्रका अनुसार बझाङमा विभिन्न विपदका १० वटा घटनामा एक जनाको मृत्यु र पाँच जना वेपत्ता भएका छन । एक घर पूर्ण र दुई घरमा आंशिक क्षति पुगेको छ भने १८ घरपरिवार प्रभावित भएका छन । बझाङमा विभिन्न विपदका घटनाबाट पाँच लाख बराबरको क्षति पुगेको उल्लेख छ ।

डडेल्धुरामा विभिन्न विपदका पाँच घटनामा एक लाख बराबरको क्षति पुगेको जनाइएको छ । डडेल्धुरामा दुई पुरुष र पाँच महिला गरी सात जना वेपत्ता भएका छन भने दुई घर पूर्ण रुपमा क्षति भएको छ । विपदबाट छ घरपरिवार प्रभावित भएको जनाइएको छ ।

दार्चुलामा विभिन्न विपदका २१ घटनामा एक महिलाको मृत्यु र दुई पुरुष छ महिला गरी आठ जना वेपत्ता भएका छन । पाँच घर पूर्ण र एक आंशिक क्षति पुगेको छ भने २७ घर परिवार प्रभावित भएका छन ।

बैतडीमा विभिन्न विपदका पाँच वटा घटनामा एक जनाको मृत्यु र पाँच जना वेपत्ता भएका छन भने पाँच घरपरिवार प्रभावित भएको जनाइएको छ ।

प्रदेशमा विपदका घटनाबाट मानवीय तथा भौतिक क्षति बढ्दै गएपनि यसको न्यूनिकरणमा प्रदेश सरकार गम्भिर हुन नसकेको सरोकारवालाहरूको गुनासो रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले विपदबाट मानवीय क्षति हुन नदिन पूर्व तयारी तथा कार्ययोजना लगायतका निर्माण गर्नुपर्ने, विपदबाट हुन सक्ने क्षतिको न्यूनिकरणका लागि पनि तयारी गर्नुपर्ने र विपदको समयमा राहत तथा उद्दार तथा पुर्नःस्थापनका लागि पनि प्रदेश सरकार तयारी अवस्थामा रहनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार