७ कार्तिक २०८१, बुधबार

भजनीका सुत्केरीलाई राहत



– मुक्त कमैया, अति विपन्न र दीर्घरोगी गरेर कैलालीको भजनी, गौरीगंगा र कैलारीका ४२५ ले राहत पाए


भजनी । सुत्केरी भएपछि पोषण भएका चीजहरु खानु पर्छ तर यहाँका सुत्केरीले पोषण भएका कुरा त के साँझ विहानको छाक टार्ने अवस्था पनि नभएका बेला राहत पाएपछि खुसी भएका छन् ।

श्रीमान मजदूरी गर्नुहुन्थ्यो जसोतसो छाक टार्ने गरेका थियौ भजनी नगरपालिका‐३ जनकपुरकी ३७ वर्षीया वविता चौधरीले भनिन वच्चा पाएको तीन महिना भयो तर राम्रोसंग खान पनि पाएका थिएनौ । आज ३० किलो चामल सहित ४० किलो बराबरको राहत पाउदा खुसी लागेको छ ।

उनले लकडाउन बढेपछि कि फेरि राहत दिनुपर्छ कि मेरो श्रीमानलाई काम दिनु पर्छ भन्ने भनाइ पनि राखेकी थिइन ।

फाया नेपाल कैलालीले बुधबार डिसिएको सहयोगमा भजनी नगरपालिकाका १०५ जना सुत्केरी महिलालाई राहत सामाग्री वितरण गरेको छ ।

राहत पाउनेमा विपन्न परिवारका सुत्केरी महिला थिए । भने केहीका श्रीमान भारत भएकोले खाद्यान्न र हेरचाहमा समस्या भएको दुःखेसो सुत्केरी महिलाहरुले गरेका थिए ।

राहत वितरणको अनुगमनमा पुगेका भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले विपन्न परिवारका सुत्केरी महिलालाई राहत दिने कार्यक्रम राम्रो भएको बताउदै लकडाउन कायम रहे फेरि पनि संघसंस्थाको सहयोग आवश्यक हुने बताएका थिए ।

मुक्त कमैया र विपन्नलाई सहयोग
कैलारी गाउँपालिका वडा नम्बर‐३ की सुस्मिता चौधरी कैलाली बहुमुखी क्याम्सपमा स्नातक तहमा अध्ययन गर्छिन । उनका बुवाआमा उनी र उनका भाईको पढाइ लेखाइ राम्रो बनाउन काम गर्न भारत गएका छन् ।

सुस्मिताले भनिन तर लकडाउनपछि हामीले बुवाआमाबाट खर्च पाउन सकेका थिएनौ, छाक टार्न कठिनाई थियो तर यही बेला फाया नेपालले चामल सहित ४० किलो राहत दिएपछि दुई महिनासम्म सजिलो हुने बताइन ।

कसरी छाक टार्ने दिनहुँ तनाव हुन्थ्यो तर यो सहयोगले ठूलो राहत भएको छ उनले खुसी हँदै भनिन ।

फायाले मंगलबार कैलारी गाउँपालिका वडा ‐३ मा १६० परिवारलाई राहत दिएको थियो । राहत पाउनेमा अधिकांश मुक्त कमैया रहेका थिए । कैलारीमा पनि अधिकांशको माग लकडाउन बढे फेरि राहत दिनु पर्छ भन्ने रहेको थियो ।

राहत वितरण कार्यक्रममा आएका कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले दाता र संघ, संस्थाले अव राहत भन्दा पनि रोजगारमुलक काम दिएर खाद्यान्न सहयोग गर्नु पर्ने धारणा राखे ।

विभिन्न खालका दीर्घरोगीले पाए राहत
गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरकी राधिका भट्टराई उच्च रक्तचापको समस्या छ । त्यसैमा लकडाउन भएपछि खाद्यान्न समस्या हुँदै आएको छ ।

तर सोमबार फाया नेपालले गौरीगंगा नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा राहत वितरण गरेपछि उनलाई दुई महिना खाद्यान्न पुग्छ कि भन्ने आश लागेको छ ।

श्रीमान भारत हुनुहुन्छ, उहाँले पनि पैसा उठाउन सक्नु भएको छैन । मैले पनि यता साइकलमा सामान वेच्न सकेको छैन । उनले भनिन लकडाउन नहुँदा साइकलमा विभिन्न सामान वेचर गुजारा गर्न सहज थियो अहिले कठिनाई बढदै गएको छ प्रेसरको औषधि किन्ने पैसा हुँदैन ।

गौरीगंगाका साझाबजारमा राहत लिन आएका अधिकांश महिलाहरु दीर्घ रोगी थिए । केहीले त महिनामा एक हजार पाँच सयको औषधि खानु परेको बताए । तर अहिले त्यो औषधि किन्ने पैसा छैन धेरै महिलाले चिन्तित हुँदै भने ।
गौरीगंगामा पनि राहत पाउन आवश्यक ठानिएका क वर्गका १६० परिवारलाई राहत दिइएको फाया नेपालका पूर्व अध्यक्ष शेरबहादुर वस्तेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार