१० श्रावण २०८१, बिहीबार

‘थोरै राहत कति दिनसम्म चल्छ’



सुखड । एक कठ्ठा जग्गामा काठले बनाएको झोपडी । त्यो घरमा घोडाघोडी नगरपालिका वडा नम्बर २ टनकपुर गाउकी शैलजा विक । उनी शारीरिक रुपमा अपाङ छिन् । उनका एक छोरा र एक छोरी छन् ।

सरकारले जारी गरेको लकडाउनका कारण उनले खाद्यान्न अभाव रहेको गुनासो गरिन् । सरकारले लकडाउन जारी गरेपछि आर्थिक रुपमा विपन्न, गरिव, अशक्त, अनाथ बालबालिका, मजदुर लगायतलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराइरहेको छ ।

घोडाघोडी नगरपालिकाले वडा कार्यालयमार्फत पहिलो चरणको राहत वितरण गरि अहिले दोस्रो चरणको राहत वितरण गर्ने तयारीमा छ । पहिलो चरणमा शैलजाले १५ केजी चामल, एक लिटर तेल, एक पोका नुन र एक प्याटेक सोयाबिन पाएकी थिइन् ।

उनको सानो परिवार छ, तर उनको घरमा दुई जना पाहुना पनि आएका छन् । उनले प्रश्न गरिन्– ‘घरमा पाहुना छन् । उनिहरूलाई पनि खुवाउनु प¥यो । जाउँ भनेर कसरी भन्ने ? जसोतसो गरेर खुवाउनु प¥यो । एक पटक दिएको थोरै राहत कति दिनसम्म चल्छ र सर ?’

सशस्त्र द्वन्द्वकालमा उनको पिठ्यूमा गोलीको छर्रा लागेपछि उपचार अभावमा अपाङ्ग भइन् । उनको कम्मर मुनि तलको भाग नचल्दा छोराको सहारामा हिडडुल गर्छिन । उनको श्रीमान अर्को बिहे गरेर छुट्टै बसेका छन् ।

शैलजाको हातमा रातो अपाङ्ग परिचयपत्र रहेको छ । उनले भनिन– ‘लकडाउन हुदा सरकारले दिईरहेको भत्ता पनि निकाल्न पाएकी छैन ।

लकडाउनका कारण शैलजा जस्ता थुपै्र अपाङ्गता भएका व्यक्ति, विपन्न वर्ग, असहाय समस्यामा परेका छन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर २ को वडा कार्यालयले अहिलेसम्म विभिन्न चरणमा दुई सय ६० घर परिवारलाई राहत बितरण गरेको जनाएको छ । वडाध्यक्ष हरिराज बिष्टले भने– कसैलाई पक्षपात नगरी राहत वितरण गरिएको छ ।

घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले पहिलो र दोस्रो चरण गरेर १५ सय ९० घरपरिवारमा राहत वितरण भइसकेको जानकारी दिए ।

उनले नगरपालिकाले बनाएको आफ्नै कार्यविधि अनुसार अतिविपन्न परिवारहरूलाई चामल, दाल, नुन, लिटर तेल र साबुन वितरण गरिएको बताए ।

श्रमिक वर्ग तथा असहायहरूलाई ३० किलो चामल, तीन किलो दाल, दुई प्याकेट नुन, दुई लिटर तेल, चार वटा साबुन र दुई किलो चिनि वितरण गर्ने तयारीमा रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार