५ जेष्ठ २०८१, शनिबार

दूरशिक्षा कार्यक्रममार्फत एसइई कक्षा तयारी



धनगढी/सुखड । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीकी अन्सु बोहरा दिउँसो ३ बजेपछि कापीकलम लिएर टेलिभिजनको अगाडी बस्छिन् । उनी एसईईको तयारी गरिरहेकी छिन् । धनगढीको एक स्थानीय टेलिभिजनबाट प्रसारण भइरहेको एसईई तयारी कक्षामा पढाईका लागि अन्सु हरेक दिन दिउँसो ३ बजे टेलिभिजन सामु आइपुग्छिन्. ।

उनी धनगढीस्थित सरस्वति माध्यामिक विद्यालयमा अध्ययन गर्छिन् । उनी यो साल एसईई परीक्षा दिने तयारीमा थिइन । तर, कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले एसईई परीक्षा स्थगित गरेको थियो ।

अन्सुले भनिन्– परीक्षाको राम्रोसंग तयारी गरेकी थिए, तर परीक्षा शुरु हुने एक दिनअघि सरकारले स्थगित गरेपछि रनभुलमा परे । उनले परीक्षा स्थगित भएपछि कहिले शुरु हुने भन्ने टुंगो नभएकाले निकै चिन्ता लाग्छ । उनले भनिन्– परीक्षा नहुने भएपछि पढेको कुरा नै बिर्सिने हो कि भन्ने डर लाग्न थालेको थियो । अहिले स्थानीय टेलिभिजनबाट एसईई तयारी कक्षा प्रसारण भइरहेको थाहा पाएपछि एसईई तयारी गर्दैछु ।

त्यस्तै, घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडका सुवर्णा सज्याल अहिले सामाजिक सञ्जालबाट नियमित अनलाइनबाट अध्ययन गर्न थालेकी छिन् ।

घोडाघोडीस्थित सरस्वती शिक्षा सदनमा कक्षा ४ उत्तीर्ण भएर कक्षा ५ मा पुगेका सुवर्णाले आजभोली दिनहुे अनलाईनबाट अध्ययन गरिरहेको बताइन् ।

‘विद्यालयले केहि दिनअघि अनलाइन मार्फत परीक्षा प्रकाशित गरेको थियो । परीक्षा पास भए । तर विद्यालय नखुलेकोले त्यसै घरमा बसेकी थिए’ उनले भनिन्– अभिभावकबाट मेरो विद्यालयले अनलाईन माध्यमबाट विद्यार्थीहरूलाई पठनपाठन गराइरहेको थाहा पाएपछि अहिले अनलाईन माध्यमबाट घरमै बसेर अध्ययन गरिरहेकी छु ।

उनी हरेक साँझ ६ बज्ने बितिक्कै उनी किताबकापी लिएर पढ्ने गर्छिन । उनले भनिन्–कार्यक्रम राम्रो छ । नियमित हेर्ने गर्छु । विद्यालय नगएपछि अनलाईन मार्फत पढ्न पाउदा खुसी छु ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि विद्यालयहरु पनि बन्द छन् । विद्यालय बन्द भएपछि अहिले धेरैं विद्यार्थीले टेलिभिजन, रेडियो र अनलाइनमार्फत पढाई गरिरहेका छन् ।

शिक्षक प्रकाश छेडालले एसईई तयारी कक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनी धनगढीस्थित त्रिनगर माध्यामिक बिद्यालयमा गणित र विज्ञान शिक्षक हुन् ।

टेलिभिजनको पहुँचमा रहेका विद्यार्थीहरूले टेलिभिजनका एसईई तयारी कक्षामार्फत पढाई गरिरहेका छन् । टेलिभिजनको पहुच नभएका विद्यार्थीहरूले टेलिभिजनको फेसबुक पेज मार्फत ज्ञान हासिल गरिरहेका छन् ।

लकडाउनका कारण पढाईमा बाधा पुगेपछि धनगढीको एसटीएस टेलिभिजनले एसईई तयारी कक्षा सुरु गरेको जनाएको छ ।

लकडाउनका कारण विद्यालय बन्द भएपछि अनलाईन कक्षा र रेडियो तथा टेलिभिजन कक्षा विकल्प भएको छ । राष्ट्रिय माध्यामिक विद्यालय सुखडका शिक्षक टंक सञ्ज्यालले रेडियो तथा टेलिभिजन कक्षा सञ्चालन गर्नु खासै प्रभाबकारी नभएको बताए । विद्यार्थीहरूले विद्यालयमा गएर जसरी बुझ्छन्, त्यसरी रेडियो तथा टेलिभिजनमा हेरेर वा सुनेर पढ्न गाह्रो हुने उनी बताउछन् ।

घोडाघोडी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले दूरशिक्षा कार्यक्रमबाट सबै विद्यार्थीलाई पठनपाठन गराउनसम्भव नरहेको बताए । उनले अधिकांश परिवारमा इन्टरनेट, मोबाइल, टेलिभिजन र रेडियोको पहुच नभएकाले सबैतिर अनलाइन कक्षा सम्भव नरहेको बताए । उनले भने– इन्टरनेट, मोबाइल, टेलिभिजन र रेडियोको पहुच भएको ठाउँमा केही प्रभावकारी होला, तर दुर्गम गाउवस्तीका विद्यार्थीहरूलाई सम्भव छैन । घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मी अनलाइन शिक्षा कार्यक्रमले कक्षा कोठाको जस्तो प्रभावकारी नल्याउने भए पनि विद्यार्थीहरूमा पढाई प्रतिको भावना रुची बढ्ने बताए ।

दूरशिक्षा अनलाइन, टेलिभिजन र रेडियो मार्फत विद्यार्थीहरूलाई सहयोगी भए पनि यो मात्र सबै कुरा नभएको उनको भनाई छ ।

गत चैत्र ६ गते हुने भनिएको एसईई परीक्षामा कैलालीबाट १६ हजार पाँच सय ६२ परीक्षार्थी रहेका थिए ।

सरकारले जारी गरेको लकडाउनका कारण लामो समयदेखी विद्यार्थीहरू चिन्तित हुदै आएका छन । अब यस बर्ष एसईई परीक्षा हुन्छ या हुदैन अहिलेसम्म निश्चित नहुदा आफूहरूलाई अनलाईन मार्फत पढन् मन नलागेको केही विद्यार्थीहरूको भनाई छ ।

कैलालीमा थुपै्र एफएम रेडियो र टेलिभिजन भए पनि एउटा टेलिभिजनले मात्रै एसईई परीक्षा कक्षा सञ्चालन गरेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि अनलाइन शिक्षा शुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार